News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको मेरील्याण्डमा नेपाली मूलका डा. विशाल भण्डारीको नेतृत्वमा १० अक्टोबरमा पहिलो ‘साउथ एसियन अमेरिकन हेल्थ समिट’ भएको छ।
- सम्मेलनमा दक्षिण एसियाली मूलका तीन चिकित्सक संस्था सहभागी भएका थिए र प्रीत तखरले उनीहरूको विशिष्ट स्वास्थ्य जोखिम ओझेलमा परेको बताए।
- मेरील्याण्डकी लेफ्टिनेन्ट गभर्नर अरुणा मिलर र स्वास्थ्यमन्त्री डा. मीना सेषामणीले डा. विशाल भण्डारीसहित तीन जनालाई ‘मेरील्याण्ड गभर्नर्स साइटेसन’ प्रदान गरे।
३० असोज, काठमाडौं । अमेरिकाको मेरील्याण्डमा पहिलोपटक ‘साउथ एसियन अमेरिकन हेल्थ समिट’ (दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन) भएको छ ।
नेपाली मूलका चिकित्सक डा. विशाल भण्डारीको नेतृत्वमा १० अक्टोबरमा मेरील्याण्डस्थित ‘युनिभर्सिटिज एट शेडी ग्रोभ’ मा सम्मेलन आयोजना भएको हो । सम्मेलन मेरील्याण्ड गभर्नर्स कमिसन अन कम्युनिटी इनिसिएटिभ्स र गभर्नर्स कमिसन अन साउथ एसियन अमेरिकन अफेयर्सको संयुक्त आयोजनामा भएको हो ।
सम्मेलनमा दक्षिण एसियाली मूलका तीन प्रमुख चिकित्सक संस्थाहरू- ‘ग्रेटर वासिङ्टन एसोसिएसन अफ फिजिसियन्स अफ इन्डियन ओरिजिन’, ‘एसोसिएसन अफ फिजिसियन्स अफ पाकिस्तानी डिसेन्ट अफ नर्थ अमेरिका’ र ‘नेपलिज हेल्थ एसोसिएसन अफ मेरील्याण्ड’ सहभागी थिए ।
अमेरिकी स्वास्थ्य क्षेत्रको तथ्याङ्कमा दक्षिण एसियालीहरूलाई छुट्टै समूहका रूपमा नसमेटेर सामान्यतया फराकिलो ‘एसियाली’ वर्गभित्र सीमित गर्दा उनीहरूको विशिष्ट स्वास्थ्य जोखिमहरू ओझेलमा पर्दै आएको कमिसनका अध्यक्ष प्रीत तखरले बताएका थिए । दक्षिण एसियाली समुदायमा मुटुसम्बन्धी रोग र मधुमेहको जोखिम अत्यधिक भए पनि क्लिनिकल अनुसन्धानमा उनीहरूको प्रतिनिधित्व निकै कम रहेको तथा भाषाको कठिनाइ र मानसिक स्वास्थ्यप्रतिको सामाजिक सङ्कोचका कारण धेरै परिवारहरू स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुपरेको तखरको भनाइ थियो।
अमेरिकामा दक्षिण एसियाली मूलकी पहिलो लेफ्टिनेन्ट गभर्नर अरुणा मिलर सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । त्यसैगरी, मेरील्याण्डकी स्वास्थ्यमन्त्री डा. मीना सेषामणीले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै हृदयरोग, मधुमेह, मानसिक स्वास्थ्य र सामाजिक सङ्कोचका विषयमा जोड दिएकी थिइन् ।
कार्यक्रममा मेरील्याण्डका गभर्नर वेस मूरका तर्फबाट लेफ्टिनेन्ट गभर्नर मिलर र स्वास्थ्य मन्त्री सेषामणीले सम्मेलनका निर्देशक तथा गभर्नर्स कमिसनका स्वास्थ्य समिति सभापति डा. विशाल भण्डारीलाई ‘मेरील्याण्ड गभर्नर्स साइटेसन’ प्रदान गरी सम्मान गरेका थिए । डा. भण्डारीसँगै कमिसनका उपाध्यक्ष डा. अहमद नवाज र मेरील्याण्ड नेपाली मेडिकल सोसाइटीकी अध्यक्ष, नर्स तथा गीतकार सुनिता बस्नेतलाई पनि गभर्नर्स साइटेसनबाट सम्मानित गरिएको थियो।
प्रतिक्रिया 4