+

एनएसएल अनिश्चित भएपछि कसरी जन्मियो एनएफएल?

२०८३ असोज  ३० गते २०:१२ २०८३ असोज ३० गते २०:१२

नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री नै उपस्थित भएर एनएसएल सिजन ४ को घोषणा गरेपनि आयोजक र क्लबहरुको बीचमा सहमति हुन सकेन र नेपाल फुटबल लिग (एनएफएल) को जन्म भयो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुपर लिगको चौथो संस्करण अन्योलमा रहेका बेला नेपाल फुटबल लिग प्राइभेट लिमिटेडले १ फागुनबाट पहिलो संस्करणको नेपाल फुटबल लिग आयोजना गर्ने घोषणा गरेको छ।
  • एनएसएल र एनएफएल दुवैमा संलग्न सात टिमका प्रतिनिधि नयाँ लिगको घोषणामा सहभागी भएपछि पुरानो लिगको भविष्यबारे प्रश्न उठेको छ।
  • आयोजकका अनुसार एन्फा निलम्बन भए पनि नभए पनि घरेलु फुटबलका लागि एनएफएल अघि बढाइनेछ र प्रतियोगिताका लागि इन्डेपेन्डेन्ट कमिटी बनाइनेछ।

३० असोज, काठमाडौं । गत ३ जेठमा तामझामका साथ चौथो संस्करणको नेपाल सुपर लिग -एनएसएल) को घोषणा भयो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले २० भदौबाट नयाँ मोडालिटीका साथ प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको थियो । तर, घोषित मितिमा लिग हुन सकेन । त्यसपछि पनि लिग कहिले हुने भन्ने स्पष्ट छैन ।

एनएसएलको भविष्य अन्योलमा रहेका बेला शुक्रबार भने नेपालमा अर्को फुटबल लिगको घोषणा भएको छ । नेपाल फुटबल लिग प्राइभेट लिमिटेडले आगामी १ फागुनबाट पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको नयाँ लिगमा सहभागी हुने टिम र त्यसको व्यवस्थापनमा देखिएका अनुहार भने नेपाली फुटबलका लागि नयाँ होइनन् । एनएसएलमा सहभागी हुने तयारीमा रहेका सात टिमका प्रतिनिधि एनएफएल घोषणाको कार्यक्रममा उपस्थित भएका थिए । यसले नेपाली फुटबलमा नयाँ लिग सुरु गर्ने तयारीसँगै पुरानो लिगको भविष्यबारे पनि प्रश्न उठाएको छ ।

एनएसएलको अन्योलबीच नयाँ लिग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फा निलम्बन फुकुवा भएको दुई दिनमै एनएसइएमले चौथो संस्करणको एनएसएल घोषणा गरेको थियो । घोषणाका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमेत उपस्थित थिए । उनले प्रतियोगिता सञ्चालनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कतिसम्म भने एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने जिकीरसमेत गरेका थिए ।

अर्कोतर्फ नयाँ मोडालिटीमा होम एन्ड अवे डबल राउन्ड रोबिन प्रणालीमा लिग सञ्चालन गर्ने महत्वकांक्षी योजनासहित एनएसएलको मिति सार्वजनिक गरिएको थियो । तर, एनएसएलको तयारीले गति लिन नपाउँदै ११ असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनमा परेपछि नेपाली फुटबलका गतिविधि प्रभावित बन्यो । जसले एनएसएलसहित धेरै घरेलु प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सहभागिता अन्योल बन्दै आएको छ ।

बाहिर एन्फा निलम्बन हुँदा एनएसएल प्रभावित बनेको जस्तो देखिएपनि भित्री कथा भने अर्कै छ । एनएसएल आयोजकसँग फ्रेन्चाइज टिमहरुको कुरा नमिल्नु हो ।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेज्मेन्ट (एनएसइएम) चौधरी ग्रुप अन्तर्गतको संस्था हो । यसको अध्यक्ष निर्वाण चौधरीकी श्रीमती आश्रयता कार्की चौधरी हुन् ।

चौथो सिजनको एनएसएल घोषणा कार्यक्रममा आयोजक र क्लबहरुबीच रिभेन्यु सेयर गर्ने नयाँ मोडलमा जाने बताइएको थियो । तर आयोजक र क्लबहरुबीच रेभेन्युको प्रतिशतमा कुरा नमिलेपछि एनएसइएमसँग फ्रेन्चाइज क्लबहरुको असन्तुष्टी देखिएको थियो ।

नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री नै उपस्थित भएर एनएसएल सिजन ४ को घोषणा गरेपनि आयोजक र क्लबहरुको बीचमा सहमति हुन सकेन र नेपाल फुटबल लिग (एनएफएल) को जन्म भयो ।

र त्यही एनएसएलको पछिल्लो दुई संस्करणको च्याम्पियन टोली ललितपुर सिटी एफसीको स्वामित्व रहेको भाटभटेनी ग्रुपमा कल्याण गुरुङ र नेपाल फुटबल लिगका अध्यक्ष बनेका छन् ।

एनएफएल आफैँ आयोजक, आफैँ खेल्ने

यसअघि एनएसएलसँग जोडिएका व्यक्तिहरू नै नयाँ लिगको तयारीमा जुटेका छन् । सहभागीको तयारीमा रहेका सातवटा टिमका प्रतिनिधि एनएफएलको घोषणामा सहभागी हुनुले पनि एनएसएलको भविष्य अझै अन्योलतातर्फ धकेलियो । सात टोलीमध्ये ललितपुर सिटी एफसीका प्रमुख कल्याण गुरुङ एनएफएलको प्रतियोगिता प्रमुख छन् । एनएसएलमा म्यानेजिङ डाइरेक्टरको भूमिकामा रहेका राजु घिसिङ एनएफएलमा कमिसनर बनेका छन् । अन्य टिमका प्रतिनिधिहरूले पनि एनएफएलमा आफूहरू ओनरका रूपमा रहेको बताएका छन् ।

एनएसएल सञ्चालन हुन नसकेको विषयमा उनीहरुले स्पष्ट जवाफ दिन सकेनन् । एनएफएलका कमिसनर घिसिङ पुरानो विषयमा अल्झिन चाहँदैनन् । उनी नयाँ सोच, नयाँ तरिका र नयाँ संरचनाबाट अगाडि बढ्न एनएफएल ल्याइएको बताउँछन् । ‘पुराना कुराहरू हामी कोट्याउन चाहँदैनौं । नयाँ तरिका, नयाँ ढंग र नयाँ संरचनाबाट अगाडि बढ्नका लागि एनएफएल लिएर आएको हो’ उनले भने ।

एनएसएल र एनएफएलमा संलग्न व्यक्तिहरूबीच समानता देखिए पनि आयोजकले नयाँ लिगलाई फरक संरचनामा अघि बढाउन खोजेको तर्क गरेको छ । तर, नयाँ संरचना र सोचको दाबी गरिरहँदा यसअघि घोषणा गरिएको एनएसएल किन सञ्चालन हुन सकेन भन्ने प्रश्न स्पष्ट जवाफ आउन सकेन । एन्फा अहिले फिफाबाट निलम्बनमा छ । एन्फामाथिको निलम्बन हटे पनि नहटे पनि लिग सञ्चालन गर्ने योजना रहेको घिसिङले बताए । उनले भने, ‘यो अन्तर्राष्ट्रिय फुटबलका लागि भन्दा पनि घरेलु फुटबलका लागि हो । एन्फाको निलम्बन फुकुवा भए पनि नभए पनि लिग अगाडि बढ्छ ।’

फिफाको निलम्बनका कारण नेपाली फुटबलको नियमित गतिविधि प्रभावित भइरहेका बेला घरेलु प्रतियोगिता सञ्चालन गर्नु आयोजकको मुख्य उद्देश्य रहेको प्रतियोगिता प्रमुख गुरुङ बताउँछन् । फिफाको निलम्बनका कारण फुटबल गतिविधि ठप्पजस्तै भएको अवस्थामा घरेलु प्रतियोगिता सञ्चालन गरेर खेलाडी र क्लबलाई सक्रिय राख्नुपर्ने उनको तर्क छ ।

प्रतियोगिता प्रमुख गुरुङका अनुसार यो निजी क्षेत्रबाट सञ्चालन हुने लिग हो । प्रतियोगितामा सहभागी टिमहरू नै यसको सेयर होल्डरका रूपमा रहनेछन् । ४ महिलासम्म चल्ने लिग होम एन्ड अवेका आधारमा सञ्चालन गर्ने आयोजकको तयारी छ । तर, प्रतियोगिताको ढाँचा, व्यवस्थापन र सञ्चालनको विषयमा भने खुलाइएको छैन ।

झापा एफसीका प्रमुख अर्पण खड्का एनएसएलसँग प्रयास गर्दा नभएपछि बाटो परिवर्तन गरेको बताउँछन् । ‘कसैलाई बाइकट गरेर अगाडि बढ्न खोजेको होइन । हरदम प्रयास गर्दा नभएपछि हामी अगाडि बढेको हो,’ उनी भन्छन् ।

उनीहरु अब एनएसएल खेल्ने पक्षमा छैनन् । अब एनएसएल खेल्नुहुन्छ ? भन्ने प्रश्नमा अर्पणले भने, ‘दुईटा डुंगामा एकजनाले खुट्टा राख्न सक्दैनौं । हामी आफै एनएफएलको ओनर भएको नाताले हाम्रो प्राथमिकता एनएफएल ।’

एनएफएल एनएसएल खेलेकै टिमहरु मिलेर बनेको लिग हो । यसमा सिधा हेर्दा आफैँ आयोजना गर्ने आफैँ खेल्ने जस्तो देखिन्छ । तर एनएफएलका अध्यक्ष कल्याण गुरुङले एनएफएलका लागि इन्डेपेन्डेन्ट कमिटी निर्माण गरेर लिग सञ्चालन गर्ने जानकारी दिए ।

‘क्लबहरूकै अग्रसरतामा घरेलु फुटबललाई नयाँ उचाई दिने योजनासहित एनएफएलमा एकजुट भएका हौं । क्लबहरूको साझा संस्था हो, नेपाल फुटबल लिग । त्यसैले एनएफएलले नै प्रतियोगिता आयोजना गर्नेछ । र, क्लबहरू लिगको सदस्यका रुपमा रहँदै एनएफएल खेल्नेछन् । प्रतियोगिता निश्पक्ष ढंगले सञ्चालन गर्नको लागि बेग्लै इन्डेपेन्टेन्ट कमिटी बनाइनेछ ।’ एनएफएल घोषणा कार्यक्रममा गुरुङले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एनएसएल नेपाल फुटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय