+

स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास

२०८३ असोज  ३० गते २०:३१ २०८३ असोज ३० गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्यान्डका पेस बलर ब्राड ह्‍वीलले लगातारको चोटका कारण ३० वर्षको उमेरमा व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
  • ह्‍वीलले सन् २०१६ मा हङकङविरुद्ध स्कटल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्दै ४४ खेलमा ५१ विकेट लिएका थिए।
  • उनले स्कटल्यान्डबाट चार टी–२० विश्वकप खेलेका थिए र ह्याम्पसायरबाट १३१ खेलमा २०१८ को रोयल लन्डन एकदिवसीय कप तथा २०२२ को भाइटालिटी ब्लास्ट जितेका थिए।

३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्‍वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्‍वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्।

दायाँहाते तीव्र गतिका बलर ह्‍वीलले सन् २०१६ मा हङकङविरुद्ध खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसयता एक दशकको अवधिमा उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डका लागि ४४ खेल खेल्दै ५१ विकेट लिएका छन्।

उनले स्कटल्यान्डबाट चार पटक आईसीसी पुरुष टी–२० विश्वकप खेले। सन् २०२१ मा बंगलादेश र सन् २०२२ मा वेस्ट इन्डिजविरुद्ध स्कटल्यान्डले हासिल गरेका महत्वपूर्ण जितमा पनि उनको भूमिका रहेको थियो। उनले यसै वर्ष भारतमा भएको टी–२० विश्वकपमा समेत स्कटल्यान्डको प्रतिनिधित्व गरेका थिए।

घरेलु क्रिकेटमा ह्‍वीलले सन् २०१५ देखि ह्याम्पसायरबाट खेल्दै आएका थिए। उनले क्लबका लागि सबै प्रारूपमा १३१ खेल खेले। यस अवधिमा उनले सन् २०१८ मा रोयल लन्डन एकदिवसीय कप र सन् २०२२ मा भाइटालिटी ब्लास्टको उपाधि जितेका थिए।

सन्यासको निर्णयबारे ह्‍वीलले लगातारको चोटका कारण तीव्र गतिमा बलिङ गर्न आफ्नो शरीरले साथ दिन छाडेको बताएका छन्। उनको ढाडमा चार पटक स्ट्रेस फ्र्याक्चर भएको थियो भने हालै घुँडाको शल्यक्रियासमेत गरिएको थियो।

“ह्याम्पसायरबाट खेलेको र व्यावसायिक क्रिकेटरका रूपमा स्कटल्यान्डको प्रतिनिधित्व गरेको समय मैले निकै रमाइलोसँग बिताएँ। तर, बारम्बारको चोटका कारण सन्यास लिन बाध्य भएको छु,” उनले भनेका छन्।

उनले सन्यासको निर्णय सहज नभए पनि त्यसमा आफू सन्तुष्ट रहेको बताए। स्कटल्यान्डबाट चार विश्वकप खेल्ने अवसरलाई आफ्नो र परिवारका लागि विशेष उपलब्धि भन्दै उनले टोलीका साथी, प्रशिक्षक, सहयोगी कर्मचारी र समर्थकप्रति आभार व्यक्त गरेका छन्।

‘स्कटल्यान्डबाट खेल्ने अवसर मेरो र परिवारका लागि सधैँ महत्वपूर्ण रह्यो। चार विश्वकपमा देशको प्रतिनिधित्व गर्न पाएकोमा म सधैँ गर्व गर्नेछु’ उनले भनेका छन्। उनले आगामी दिनमा पनि स्कटल्यान्डको टोलीलाई नजिकबाट पछ्याउने र समर्थन गर्ने बताएका छन्।

ब्राड्ली ह्‍वील स्कटल्यान्ड क्रिकेट टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय