News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको क्यानबेरास्थित केन्द्रीय संसद् भवनको थिएटरमा २६ अक्टोबर २०२६ मा विशेष प्रदर्शन हुने भएको छ।
- यो प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा, क्यानबेरास्थित नेपाली दूतावाससहितका संस्थाको सहयोगमा, नेपाली चलचित्र प्रवर्द्धन र मानवीय सहयोगका लागि आयोजना गरिएको हो।
- आयोजकले संसद् भवनको विशेष थिएटरमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हुने दाबी गर्दै नोभेम्बरमा अस्ट्रेलियाका प्रमुख सहरमा पनि प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।
क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ ।
अभिनाशविक्रम शाहको निर्देशनमा बनेको यस चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो । कार्यक्रममा क्यानबेरास्थित नेपाली दूतावास, फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सहयोग रहेको छ । विशेष प्रदर्शनको व्यवस्थापन स्पिडविङ्स ग्रुप अस्ट्रेलियाले गरिरहेको छ ।
अनलाइनखबरसँग कुरा गर्दै कम्पनीकी प्रमुख कार्यकारी निर्देशक शान्ति ढकालले यो विशेष प्रदर्शन नेपाली चलचित्रको प्रवर्द्धन, मानवीय सहयोगका लागि रकम सङ्कलन र नेपाल–अस्ट्रेलियाबीच सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बताइन् ।
उनका अनुसार कार्यक्रममा अस्ट्रेलियाली संसद्का सदस्य, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवा, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
प्रदर्शनस्थलमा नेपालका प्रधानमन्त्री राहत कोष र अस्ट्रेलियाको इमर्जेन्सी एक्सन एलायन्सका लागि सहयोग गर्न इच्छुक दर्शकले योगदान गर्न सक्ने गरी क्यूआर कोडसमेत राखिने ढकालले जानकारी दिइन् ।
अस्ट्रेलियाको संसद् भवनभित्र रहेको विशेष थिएटरमा प्रदर्शन हुन लागेको ‘एलिफेन्ट इन द फग’ त्यहाँ प्रदर्शन हुने पहिलो नेपाली चलचित्र हुने आयोजकको दाबी छ । यसले अस्ट्रेलियामा नेपाली चलचित्रको पहिचान स्थापित गर्न र नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
क्यानबेरामा हुने विशेष प्रदर्शनपछि नोभेम्बर महिनामा अस्ट्रेलियाका प्रमुख सहरहरूमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ । ती प्रदर्शनमार्फत नेपाली चलचित्रलाई व्यापक दर्शकमाझ पुर्याउनुका साथै मानवीय सहयोगका लागि रकम सङ्कलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने र चलचित्रमार्फत सामाजिक सेवामा योगदान पुर्याउने यो पहलले अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि पनि विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4