+
+
Shares

सानेपा जित्यौ, अब संगठन जोगाउनेहरूको दिल जित

इतिहासका ठूला उपलब्धिमा दृश्यबाहिरका मानिसहरूको योगदान पनि असाधारण हुन्छ। कांग्रेसको इतिहासमा असंख्य गुमनाम कार्यकर्ता छन्, जसले पद र प्रतिष्ठाको अपेक्षाविना संगठन जोगाए। नयाँ नेतृत्वले उनीहरूको अनुभव र योगदानलाई संगठनको सामर्थ्यमा बदल्न सक्नुपर्छ।

 नैनसिंह महर  नैनसिंह महर
२०८३ कात्तिक १२ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा निर्वाचित गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ।
  • महाधिवेशनले विशेष महाधिवेशनबाट शुरू भएको नेतृत्व परिवर्तनलाई अनुमोदन गर्दै विश्वप्रकाश शर्मासहित नयाँ नेतृत्व समूहलाई पनि जिम्मेवारी सुम्पेको छ।
  • लेखले ३८ सिटमा खुम्चिएको कांग्रेसलाई जनविश्वास पुनः आर्जन गर्न अब घरआँगनसम्म पुगेर विश्वास जित्नुपर्ने बताएको छ।

कुरुक्षेत्रको युद्ध सकिएको साँझ हस्तिनापुरमा कस्तो सन्नाटा थियो होला?

राजमहलमा विजयको उत्सव मनाउने तयारी हुँदै गर्दा नगरका गल्लीहरूमा आफ्ना मान्छे फर्किने बाटो हेरिरहेका कति आँखाहरू थिए होलान्? कसैको छोरा फर्किएन, कसैको पिता। युद्धमा जाने दिन खुलेको घरको मूलढोका त्यसपछि कहिल्यै पहिलेजस्तो खुलेन होला। राजाहरूको युद्ध सकियो, तर असंख्य परिवारको शोक पुस्तौँसम्म बाँचिरह्यो।

महाभारतमा भीष्मको प्रतिज्ञा छ, कर्णको पराक्रम छ, अर्जुनको गाण्डीव छ, कृष्णको गीता छ। गान्धारीको विलाप, कुन्तीको वेदना र द्रौपदीको अपमान पनि छ। तर यो विशाल कथाको भीडमा एउटा पात्र प्रायः ओझेलमा पर्छ। ऊ राजसिंहासनको दाबेदार थिएन, युद्धको रणनीतिकार थिएन। तैपनि राजदरबारका निर्णयहरूको सबैभन्दा ठूलो मूल्य उसकै जीवनमा पुगेर थुप्रिएको थियो।

त्यो पात्र थियो, हस्तिनापुरको साधारण मानिस।

यसैले महाभारत पढ्दा युद्ध कसले जित्यो भन्नेभन्दा अर्को प्रश्नले बढी पछ्याउँछ। आखिर हस्तिनापुर कसको थियो? धृतराष्ट्रको, दुर्योधनको, युधिष्ठिरको, कि त्यहाँ आफ्नो श्रम र सपनाका आधारमा जीवन बिताउने असंख्य मानिसहरूको?

जुन राजसिंहासनका निम्ति अठार दिन रक्तपात भयो, त्यसको भविष्य निर्धारण गर्ने अधिकार साधारण मानिससँग थिएन। दरबारभित्रका निर्णयको परिणाम भने दरबारबाहिरका मानिसले पनि भोग्नुपर्थ्यो।

आधुनिक लोकतन्त्रले यही सम्बन्ध उल्ट्याएको छ। नागरिक राजनीतिक अधिकारका स्रोत बनेका छन्। शासनको वैधता उनीहरूको विश्वासबाट जन्मिन्छ।

यही दृष्टिबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई हेर्दा महाभारतका अनेक प्रसङ्ग नयाँ अर्थमा खुल्छन्।

विशेष महाधिवेशनबाट आरम्भ भएको नेतृत्व परिवर्तनलाई १५औँ महाधिवेशनले अनुमोदन गरेको छ। गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। विश्वप्रकाश शर्मासहित नयाँ नेतृत्व समूहले जिम्मेवारी पाएको छ। तर केही महिनाअघि प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा खुम्चिएको कांग्रेसका सामु जनविश्वास पुनः आर्जन गर्ने कठिन यात्रा बाँकी छ।

महाधिवेशनले नयाँ नेतृत्वलाई व्यापक समर्थन दिएको छ। अब त्यो समर्थनलाई पार्टीको सामूहिक सामर्थ्यमा बदल्नुपर्नेछ। इतिहासको अनुभव, वर्तमानको बेचैनी र भविष्यको आकांक्षाबीच नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेछ।

यस यात्रालाई बुझ्न हस्तिनापुरको कथा उपयोगी हुन सक्छ। किनकि कुरुक्षेत्रको युद्ध एक दिनमा जन्मिएको थिएन। त्यसको पृष्ठभूमिमा पुस्तौँदेखि थुप्रिएका अधुरा निर्णय, अपमानित प्रतिभा, असन्तुष्ट सम्बन्ध र विवेकहीन निष्ठाहरू थिए।

हस्तिनापुरको संकटको एउटा जरो देवव्रतको प्रतिज्ञासम्म पुग्छ।

पिता शान्तनुको इच्छा पूरा गर्न उनले राजसिंहासन त्यागे। आजीवन ब्रह्मचर्यको अठोट गरे। त्यसै त्यागले उनलाई भीष्म बनायो। तर जुन राजवंशको निरन्तरताका लागि उनले आफ्नो भविष्य समर्पण गरेका थिए, अन्ततः त्यसैको विनाश आफ्नै आँखाले देख्नुपर्‍यो।

कति मार्मिक विरोधाभास! मानिसले आफ्नो प्रतिज्ञा जोगाउँदाजोगाउँदै त्यस प्रतिज्ञाको मूल उद्देश्य गुमाउन पनि सक्छ।

नेपाली कांग्रेसको इतिहास त्याग र निष्ठाका असंख्य कथाहरूले बनेको छ। बीपी कोइरालाको विचार, गणेशमान सिंहको साहस, कृष्णप्रसाद भट्टराईको निष्ठा र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेका हजारौँ कार्यकर्ताको संघर्ष यस संस्थाका अमूल्य निधि हुन्। तर इतिहासको सम्मान गर्ने सर्वोत्तम उपाय त्यसले बोकेका मूल्यलाई बदलिएको समयसँग जीवन्त सम्बन्धमा राख्नु हो।

भीष्मको प्रतिज्ञासँगै अम्बाको पीडा पनि जन्मिएको थियो।

आफूले रोजेको जीवन बिताउन नपाएकी अम्बाले न्याय खोजिन्। उनको आवाजले उचित सुनुवाइ पाएन। समय बित्यो, तर अपमानको स्मृति मेटिएन। अन्ततः शिखण्डीको कथासँग जोडिएर त्यही अन्याय भीष्मको पतनमा निर्णायक बन्यो।

महाभारतमा कतिपय अन्यायको हिसाब अर्को पुस्ताले बुझाउनुपर्छ।

राजनीतिक संस्थामा पनि सुनुवाइ नपाएका असन्तुष्टिहरू लामो समय बाँचिरहन्छन्। उपेक्षित कार्यकर्ता, अवसरबाट वञ्चित प्रतिभा र सम्मानको खोजीमा रहेका समुदायका गुनासाहरूले संस्थाप्रतिको विश्वासलाई भित्रभित्रै प्रभावित गरिरहेका हुन्छन्।

यसैले कांग्रेसको नयाँ नेतृत्वले संगठनभित्रका पुराना असन्तुष्टि सुन्ने र सम्बोधन गर्ने उदारता देखाउनुपर्छ। नेतृत्व फेरिएसँगै सबै पीडा मेटिँदैनन्।

अम्बाको पीडापछि कर्णको जीवन सम्झनुपर्ने हुन्छ।

आफ्नो वास्तविक जन्मपरिचयबाट टाढा हुर्किएका कर्णले रंगभूमिमा प्रतिभा प्रदर्शन गर्न खोज्दा सामाजिक हैसियतको प्रश्नले अपमान भोगे। त्यही घडीमा दुर्योधनले उनलाई अंगदेशको राजा बनाएर सम्मान दिए। कर्णले त्यो उपकार जीवनभर बिर्सेनन्।

उनको मित्रता महान् थियो, तर त्यही मित्रताले कठिन नैतिक द्वन्द्व जन्मायो। आफूलाई सम्मान दिएको सम्बन्धप्रतिको कृतज्ञताले दुर्योधनका अन्यायपूर्ण निर्णयबाट अलग रहन उनलाई कठिन बनायो।

राजनीतिमा पनि व्यक्तिगत सम्बन्धहरूको ठूलो महत्व हुन्छ। कठिन समयमा साथ दिने साथी र अवसर दिने अग्रजप्रति आत्मीयता स्वाभाविक हो। तर सार्वजनिक जिम्मेवारी प्राप्त भएपछि निष्ठाको दायरा फराकिलो बनाउनुपर्छ। व्यक्तिगत सम्बन्धलाई सम्मान गर्दै संस्थागत न्यायको रक्षा गर्न सक्नु नेतृत्वको परिपक्वता हो।

कर्णसँगै एकलव्यको कथा आउँछ।

द्रोणाचार्यबाट प्रत्यक्ष शिक्षा नपाएका एकलव्यले आफ्नै साधनाबाट धनुर्विद्या सिके। असाधारण दक्षता हासिल गरे। तर गुरुदक्षिणाका नाममा उनको बूढीऔँला मागियो।

कर्णले पहिचानका कारण अपमान भोगे। एकलव्यले आफ्नै प्रतिभाको मूल्य चुकाए। दुवै कथाले योग्यतामाथि सामाजिक पहुँच र शक्तिले लगाउने सीमाको पीडा बोकेका छन्।

कांग्रेसमा नयाँ पुस्ताको प्रवेश उत्साहजनक छ। अब युवालाई स्वतन्त्र विचार विकास गर्ने, नेतृत्व अभ्यास गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण चाहिन्छ। अग्रजहरूको अनुभव नयाँ प्रतिभाको बाटो खोल्ने आधार बनोस्। एउटा पुस्ता अर्को पुस्ताको सम्भावनाबाट असुरक्षित हुन थाल्यो भने संस्थाको भविष्य साँघुरिन्छ।

यसैबीच हस्तिनापुरमा लाक्षागृहको षड्यन्त्र रचिन्छ।

पाण्डवहरूका लागि बनाइएको सुन्दर भवनभित्र आगोको पासो लुकेको थियो। विदुरले खतरा पहिचान गरे। उनको चेतावनीले पाण्डवहरूलाई जोगाउन मद्दत गर्‍यो।

विदुरको महत्व उनको पदभन्दा विवेकमा थियो।

राजनीतिक संस्थालाई पनि आफ्नै कमजोरी औँल्याउन सक्ने मानिस चाहिन्छन्। निर्वाचनको पराजयमा बहाना खोज्नुभन्दा कारण पत्ता लगाउने, लोकप्रिय निर्णयमा पनि जोखिम देख्न सक्ने र नेतृत्वको अगाडि अप्रिय सत्य राख्न सक्ने व्यक्तिहरू संगठनका वास्तविक शुभचिन्तक हुन्।

लाक्षागृहबाट जोगिएका पाण्डवहरूको यात्रा द्रौपदीको स्वयंवर हुँदै इन्द्रप्रस्थसम्म पुग्छ।

कांग्रेसका लागि यही प्रश्न निर्णायक छ। सक्षम सभापति, अनुभवी पदाधिकारी र उत्साही केन्द्रीय सदस्यहरूको उपस्थितिले ठूलो सम्भावना निर्माण गर्छ। त्यो सम्भावनालाई न्यायपूर्ण निर्णय, संस्थागत अनुशासन र नागरिकमुखी कार्यसम्पादनमा बदल्दा संगठनको वास्तविक शक्ति प्रकट हुन्छ

अर्जुनले स्वयंवरको कठिन लक्ष्यभेदन गरे। नयाँ सम्बन्ध र राजनीतिक सहकार्य बने। पछि पाण्डवहरूले भव्य इन्द्रप्रस्थ निर्माण गरे। मयसभाको वैभवले सबैलाई चकित पार्‍यो। तर त्यही वैभवले दुर्योधनको मनमा ईर्ष्या र अपमानबोध बढायो।

इन्द्रप्रस्थको उज्यालोसँगै हस्तिनापुरको भविष्यमा अँध्यारो बाक्लिँदै थियो।

राजनीतिक उपलब्धिसँग आत्मसन्तुष्टिको जोखिम पनि आउँछ। ठूलो समर्थनले नेतृत्वलाई उत्साह दिन्छ। तर त्यस उत्साहले आफ्नै कमजोरी देख्ने दृष्टि कमजोर पार्नु हुँदैन।

१५औँ महाधिवेशनले कांग्रेसलाई नयाँ नेतृत्व र सक्षम टिम दिएको छ। सभापतिसँग रहेको राजनीतिक दृष्टिलाई अब सामूहिक कार्यदिशामा उतार्ने अवसर प्राप्त भएको छ। यस टिमको वास्तविक सामर्थ्य साझा जिम्मेवारी र परिणामबाट प्रमाणित हुनेछ।

इन्द्रप्रस्थको वैभवबाट कथा पासाको सभातर्फ मोडिन्छ।

शकुनिले पासा चलाउँछन्। युधिष्ठिर राज्य, सम्पत्ति, भाइहरू र आफ्नै स्वतन्त्रतासम्म हार्छन्। त्यसपछि द्रौपदीको मर्यादासमेत संकटमा पर्छ।

यहाँ महाभारतले धर्मराज कहलिएका युधिष्ठिरको कमजोरी पनि देखाउँछ। महान् मानिएका मानिसका निर्णयहरू पनि आलोचनाको कसीमा राखिनुपर्छ।

कांग्रेसको इतिहासलाई पनि यही दृष्टिबाट हेर्न आवश्यक छ। लोकतन्त्रका लागि गरिएको संघर्षले विगतका सबै शासनकालीन त्रुटि सच्याउने जिम्मेवारी समाप्त गर्दैन। आत्मसमीक्षाको सार्थकता नयाँ राजनीतिक व्यवहारमा प्रकट हुनुपर्छ।

त्यस सभामा द्रौपदीले एउटा प्रश्न उठाइन्। आफूलाई हारिसकेको युधिष्ठिरसँग उनलाई दाउमा राख्ने अधिकार बाँकी थियो कि थिएन?

सभामा भीष्म र द्रोणजस्ता ज्ञानी थिए। विदुर र विकर्णले अन्यायको विरोध गरे। तर शक्तिशालीहरूको सभाले द्रौपदीको मर्यादा जोगाउन सकेन।

हस्तिनापुरले त्यस दिन युद्ध हारेको थिएन। उसले न्यायको निर्णायक परीक्षा हारेको थियो।

आधुनिक राजनीतिक संस्थाका लागि यस दृश्यको अर्थ गहिरो छ। महिला, युवा र विभिन्न समुदायको प्रतिनिधित्व बढ्नु महत्वपूर्ण छ। त्यस प्रतिनिधित्वले निर्णयमा प्रभाव पार्ने सामर्थ्य प्राप्त गर्दा यसको वास्तविक अर्थ खुल्छ।

कांग्रेसले समावेशिताको विस्तारसँगै न्यायपूर्ण सुनुवाइ र अर्थपूर्ण सहभागिताको संस्कृति निर्माण गर्नुपर्नेछ।

पासाको पराजयपछि पाण्डवहरू वनवास जान्छन्।

वनवासमा यक्षले युधिष्ठिरको परीक्षा लिन्छन्। भाइहरूमध्ये एक जनालाई जीवित गराउने अवसर पाउँदा उनले नकुललाई रोज्छन्। कुन्तीको तर्फबाट आफू जीवित रहेको र माद्रीको तर्फबाट पनि एक पुत्र जीवित रहनुपर्ने न्यायबोध उनको निर्णयमा थियो।

नेतृत्वको नैतिक उचाइ आफूलाई अनुकूल हुने निर्णयमा भन्दा अर्को पक्षप्रति निष्पक्ष रहने क्षमतामा प्रकट हुन्छ।

कांग्रेसको नयाँ नेतृत्वले जिम्मेवारी बाँडफाँटमा यही निष्पक्षताको परीक्षा दिनुपर्नेछ।

वनवासपछि विराटराजको दरबारमा पाण्डवहरूको अज्ञातवास सुरु हुन्छ। अर्जुन बृहन्नला बनेर नृत्य सिकाउँछन्। भीम पाकशालामा काम गर्छन्। राजकीय जीवन बिताएका मानिसहरूले परिस्थितिअनुसार फरक जिम्मेवारी सम्हाल्छन्।

यसले नेतृत्वको अर्को गुण देखाउँछ। आवश्यकता अनुसार भूमिका बदल्न सक्ने क्षमता।

कांग्रेसको नयाँ कार्यसमितिमा विभिन्न अनुभव र विशेषज्ञता भएका व्यक्तिहरू छन्। तिनका सामर्थ्यलाई साझा लक्ष्यमा जोड्न सकिए संगठनको वास्तविक क्षमता बढ्नेछ।

युद्ध नजिकिँदै गर्दा अर्जुन र दुर्योधन कृष्णसँग सहयोग माग्न पुग्छन्। एकातिर नारायणी सेना थियो, अर्कोतिर शस्त्र नउठाउने कृष्ण। अर्जुनले कृष्ण रोजे, दुर्योधनले सेना।

संगठनलाई संख्या र सामर्थ्य चाहिन्छ। ती सबैलाई दिशा दिने विवेक पनि चाहिन्छ।

कांग्रेसको देशव्यापी संगठन र ऐतिहासिक विरासत अब नागरिकको बदलिँदो आवश्यकता, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका विश्वसनीय नीतिसँग जोडिनुपर्नेछ।

युद्धअघि कृष्ण शान्तिदूत भएर हस्तिनापुर पुगे। पाँच गाउँ दिएर भए पनि द्वन्द्व टार्ने प्रस्ताव अघि सारे। सहमति भएन। संवादको अन्तिम सम्भावना पनि समाप्त भयो।

कांग्रेसभित्र महाधिवेशनपछिका असहमति र वैधानिक प्रश्नलाई लोकतान्त्रिक विधि तथा सम्मानजनक संवादबाट सम्बोधन गर्नुपर्नेछ। प्रतिस्पर्धापछिको एकता निर्माण गर्ने क्षमता नेतृत्वको परिपक्वताको महत्वपूर्ण आधार हो।

कुरुक्षेत्रमा युद्ध सुरु हुने बेला अर्जुनको हात शिथिल भयो। आफ्नै गुरु, पितामह र आफन्तहरू देखेर उनी विचलित भए। कृष्णसँगको संवादबाट गीता जन्मियो।

महान् योद्धाले आफ्नै निर्णयमाथि प्रश्न गरेको त्यो क्षण असाधारण छ।

कांग्रेसको वैचारिक पुनर्जागरणका लागि पनि प्रश्नशीलता चाहिन्छ। बीपीको लोकतान्त्रिक समाजवादलाई आजको अर्थतन्त्र, प्रविधि, श्रमबजार र सामाजिक परिवर्तनसँग कसरी जोड्ने? नागरिकले राज्यबाट सम्मानजनक सेवा कसरी प्राप्त गर्ने? युवाको भविष्य देशभित्र कसरी सुरक्षित बनाउने?

यी प्रश्नहरूको उत्तर अध्ययन, संवाद र व्यवहारबाट खोज्नुपर्छ।

युद्धको दसौँ दिन भीष्म शरशय्यामा ढले। अम्बाको पीडा, शिखण्डीको उपस्थिति र भीष्मको प्रतिज्ञा फेरि एउटै ठाउँमा जोडिए।

तर शरशय्यामा पनि भीष्मको ज्ञान समाप्त भएन। युद्धपछि उनले युधिष्ठिरलाई राजधर्मको शिक्षा दिए।

पुस्तान्तरणको सुन्दर अर्थ यहीँ भेटिन्छ। नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्दा अग्रजहरूको अनुभव संस्थागत ज्ञानमा रूपान्तरण हुन सक्छ। नेतृत्व हस्तान्तरणसँगै इतिहासको चेतना पनि अगाडि बढ्नुपर्छ।

त्यसपछि अभिमन्यु चक्रव्यूहमा प्रवेश गर्छन्। असाधारण साहस देखाउँछन्। तर पूर्ण ज्ञान र आवश्यक सहयोगको अभावमा घेरिएर मारिन्छन्।

एकलव्यले प्रतिभा फुलाउने अवसर पाएनन्। अभिमन्युले अवसर पाए, तर पर्याप्त तयारी र संरक्षण पाएनन्।

युवा नेतृत्व विकासमा यी दुवै जोखिमबाट जोगिनुपर्छ। अवसरसँगै ज्ञान, अधिकार, स्रोत र अनुभवीहरूको साथ आवश्यक हुन्छ।

अभिमन्युको मृत्युपछि घटोत्कचको पराक्रमले युद्धको दिशा बदल्छ। कर्णले अर्जुनविरुद्ध सुरक्षित राखेको दिव्य अस्त्र घटोत्कचमाथि प्रयोग गर्नुपर्छ। उनको मृत्यु हुन्छ, तर त्यससँगै भविष्यको शक्ति सन्तुलन बदलिन्छ।

सानेपामा नेतृत्व चुनिएको छ। अब देशका घरआँगनमा विश्वास जित्न बाँकी छ

इतिहासका ठूला उपलब्धिमा दृश्यबाहिरका मानिसहरूको योगदान पनि असाधारण हुन्छ।

कांग्रेसको इतिहासमा असंख्य गुमनाम कार्यकर्ता छन्, जसले पद र प्रतिष्ठाको अपेक्षाविना संगठन जोगाए। नयाँ नेतृत्वले उनीहरूको अनुभव र योगदानलाई संगठनको सामर्थ्यमा बदल्न सक्नुपर्छ।

युद्धमा द्रोणाचार्यको पतन अर्को कठोर प्रसङ्ग हो।

अश्वत्थामा मारिएको सूचना पुर्‍याइन्छ। मारिएको अश्वत्थामा द्रोणपुत्र थिएन, त्यही नामको हात्ती थियो। अर्धसत्यले द्रोणलाई विचलित बनायो।

आजको डिजिटल राजनीतिमा सत्य र अर्धसत्यको संघर्ष झन् तीव्र छ। सामाजिक सञ्जालको लोकप्रियताभन्दा तथ्य, पारदर्शिता र विश्वसनीयता ठूलो राजनीतिक सम्पत्ति हुन्।

कांग्रेसको डिजिटल रूपान्तरणले प्रविधिसँगै राजनीतिक आचरणलाई पनि परिष्कृत बनाउनुपर्छ।

त्यसपछि कर्ण र अर्जुनको अन्तिम द्वन्द्व आउँछ। कर्णको रथको पाङ्ग्रा जमिनमा फस्छ। युद्धको मर्यादा र विगतका अन्यायबीच उनको मृत्यु हुन्छ।

कर्णको जीवन प्रतिभा, अपमान, उदारता, मित्रता र नैतिक द्वन्द्वको जटिल संगम हो। एउटा घटनाले उनको सम्पूर्ण चरित्रको मूल्यांकन गर्न सकिँदैन।

राजनीतिक प्रतिस्पर्धामा पनि विजयले कसैलाई सर्वज्ञ बनाउँदैन। पराजयले कसैको योगदान मेटाउँदैन। महाधिवेशनपछि विभिन्न धारका योग्य व्यक्तिहरूको साझा योगदान संस्थाको भविष्यका लागि आवश्यक हुन्छ।

युद्ध सकिन्छ। पाण्डवहरूले हस्तिनापुर प्राप्त गर्छन्। तर विजयसँगै असंख्य मृत्युको शोक पनि रहन्छ। राजसिंहासनले युद्धको पीडा मेटाउन सक्दैन।

समय बित्छ। अन्ततः पाण्डवहरू राजपाट त्यागेर महाप्रस्थानमा निस्कन्छन्।

हिमालयतर्फको यात्रामा द्रौपदी र भाइहरू एकपछि अर्को गर्दै ढल्छन्। युधिष्ठिरको साथमा एउटा कुकुर रहन्छ।

स्वर्गारोहणको अवसर आउँदा उनलाई त्यो कुकुर त्याग्न भनिन्छ। युधिष्ठिर मान्दैनन्। कथामा त्यो कुकुर धर्मको प्रतीकका रूपमा प्रकट हुन्छ।

कति विलक्षण अन्त्य!

जुन महाकाव्यमा विशाल राजसिंहासनका निम्ति युद्ध भयो, त्यसको अन्तिम नैतिक परीक्षामा एउटा निर्बल प्राणीप्रतिको निष्ठा निर्णायक बन्यो।

आरम्भमा भीष्मले राजवंशको भविष्यका लागि प्रतिज्ञा गरेका थिए। अन्त्यमा युधिष्ठिरले आफूलाई साथ दिएको प्राणीप्रतिको जिम्मेवारी त्यागेनन्।

यी दुई दृश्यबीच शक्ति र नैतिकताको लामो यात्रा फैलिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको वास्तविक महत्व पनि अन्ततः राजनीतिक आचरण र सार्वजनिक विश्वासमा प्रमाणित हुनेछ।

सभापतिसँग राजनीतिक दृष्टि थियो। महाधिवेशनले त्यसलाई संस्थागत कार्यदिशामा बदल्ने टिम दिएको छ। अब विचारलाई नीति, नीतिलाई कार्ययोजना र कार्ययोजनालाई नागरिकको जीवनमा अनुभूत हुने परिणाममा रूपान्तरण गर्नुपर्नेछ।

सबल कांग्रेसले विचार र निर्णयमा स्पष्टता ल्याउनुपर्छ। सक्षम कांग्रेसले कार्यकर्ता र नेतृत्वको सामर्थ्य विकास गर्नुपर्छ। प्रबल कांग्रेसले जनताको विश्वास विस्तार गर्नुपर्छ। गतिशील कांग्रेसले समयका नयाँ प्रश्नहरू बुझ्दै आफूलाई सुधार्नुपर्छ।

महाभारतका सबै मोड फर्केर हेर्दा एउटा सत्य प्रकट हुन्छ। हस्तिनापुरमा महान् मानिसहरूको कमी थिएन। भीष्मको त्याग, विदुरको विवेक, कर्णको प्रतिभा, अर्जुनको साहस र युधिष्ठिरको धर्मबोध त्यहीँ थिए। तर ती सबै सामर्थ्य मिलेर राज्यलाई विनाशबाट जोगाउन सकेनन्।

व्यक्तिगत महानतालाई सामूहिक विवेकमा रूपान्तरण गर्न नसक्नु हस्तिनापुरको ठूलो कमजोरी थियो।

कांग्रेसका लागि यही प्रश्न निर्णायक छ। सक्षम सभापति, अनुभवी पदाधिकारी र उत्साही केन्द्रीय सदस्यहरूको उपस्थितिले ठूलो सम्भावना निर्माण गर्छ। त्यो सम्भावनालाई न्यायपूर्ण निर्णय, संस्थागत अनुशासन र नागरिकमुखी कार्यसम्पादनमा बदल्दा संगठनको वास्तविक शक्ति प्रकट हुन्छ।

अब फेरि कुरुक्षेत्रको युद्ध सकिएको साँझ सम्झौँ।

राजमहलमा विजयको घोषणा भइरहँदा नगरका गल्लीमा आफ्ना मान्छे पर्खिरहेका ती अनुहारहरू इतिहासको किनारमा थिए। उनीहरूसँग राजसिंहासनको भविष्य निर्धारण गर्ने अधिकार थिएन। युद्धको मूल्य भने उनीहरूले पनि चुकाए।

आधुनिक लोकतन्त्रले साधारण मानिसलाई त्यो अधिकार दिएको छ।

आज ऊ किसान, शिक्षक, विद्यार्थी, उद्यमी वा विदेशमा श्रम गरिरहेको युवा हुन सक्छ। राजनीतिक निर्णयको प्रभाव उसको जीवनमा पुग्छ। तर अब ऊ शासकलाई प्रश्न गर्न, मूल्यांकन गर्न र परिवर्तन गर्न सक्छ।

उसको हातमा मतपत्र छ।

यही हो महाभारतको एक्काइसौँ पात्र।

हस्तिनापुरका लागि युद्ध गर्नेहरूले राजसिंहासनको भविष्य निर्धारण गर्न खोजेका थिए। लोकतन्त्रमा राजनीतिक शक्तिको वैधता साधारण नागरिकको विश्वासबाट जन्मिन्छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व चयन गरिसकेको छ। अब त्यो नेतृत्वसामु यस एक्काइसौँ पात्रसँगको सम्बन्ध पुनर्निर्माण गर्ने अवसर छ।

महाधिवेशनमा कसले कति मत प्राप्त गर्‍यो भन्ने अभिलेख रहनेछ। तर नयाँ नेतृत्वले जनताको जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने प्रश्नले त्यस इतिहासको वास्तविक अर्थ निर्धारण गर्नेछ।

महाभारतका बीस निर्णायक मोड राजसिंहासनको संघर्षका कथा हुन्। एक्काइसौँ पात्र लोकतन्त्रको नयाँ सम्भावना हो, आफ्नो भविष्यको निर्णय आफैँ गर्न सक्ने नागरिक।

सानेपामा नेतृत्व चुनिएको छ।

अब देशका घरआँगनमा विश्वास जित्न बाँकी छ।

महर नेपाली कांग्रेसका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?