+
+
Shares

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

केशव सावद केशव सावद
२०८३ कात्तिक ११ गते १८:०६

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेपाली कांग्रेसलाई समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मतदाताले रोजेका थिए ।

तर, गत फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसको पक्षमा खसेको समानुपातिक मत १७ लाख ५९ हजार १७२ मा सीमित भयो । अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले नौ लाख ५६ हजार ५३ मत गुमायो ।

दुई निर्वाचनमा देखिएको मतान्तर कांग्रेसका लागि चुनावी अंकगणित मात्रै नभएर कुनै समय पार्टीसँग जोडिएका लाखौं मतदाताको मनस्थिति बुझ्नुपर्ने चुनौती पनि हो । विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

९ कात्तिकमा स्याङ्जा पुगेका सभापति गगनकुमार थापाले अभियानको उद्देश्यबारे संक्षिप्त रुपमा जानकारी गराएका थिए । जनअनुसार उनले पार्टीबाट टाढिएका मतदातासँगको सम्बन्ध पुनर्स्थापित गर्ने र महाधिवेशनबाट पार्टी बदलिएको सन्देश जनताको घरदैलोसम्म पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेका छन् ।

कांग्रेसले विगतमा बनाएको संगठनात्मक आधार, राजनीतिक सम्बन्ध र पारिवारिक निकटता नै पार्टीको महत्वपूर्ण पुँजी भएको थापाको बुझाइ देखिन्छ ।

सभापति थापाका अनुसार विगतमा कांग्रेससँग जोडिएका परिवारले पार्टी छाड्नुको कारण बुझ्ने, उनीहरूको असन्तुष्टि सुन्ने र सम्बन्ध बिग्रनुका कारण सच्याउने काम अभियानको महत्त्वपूर्ण हिस्सा हुनेछ ।

‘मंसिर महिनामा एउटा जागरणको समय बनाऔं । हामी केन्द्रीय कार्यसमितिको बैठकबाटै कार्यक्रम पनि बनाउँदै छौं,’ थापाले स्याङ्जामा भनेका थिए, ‘जागरणको समय बनाऔं । फेरि साथीहरूका बीचमा गएर जोडिऔं । हिजो प्रजातन्त्रलाई दुःख गरेर आएका थुप्रै परिवार छन्, त्यहाँ जाऔं, कुराकानी गरौं । संवाद गरौं । जोडौं । र एउटा आधार बनाऔं ।’

सभापति थापाले भनेको अभियानबारे अनलाइनखबरको जिज्ञासामा महामन्त्री प्रदीप पौडेलले पछिल्लो निर्वाचनमा कांग्रेसले अपेक्षित १० लाख मत प्राप्त गर्न नसक्नुको कारण खोज्नु पनि रहेको प्रतिक्रिया दिए ।

‘अभियान भन्नेबित्तिकै बाहिरबाट हेर्दा घरदैलो अभियान वा जनतामाझ जाने कार्यक्रमका रूपमा बुझिन्छ,’ उनले भने, ‘तर, हाम्रो आन्तरिक उद्देश्य निर्वाचनमा कांग्रेसले अपेक्षित १० लाख मत प्राप्त गर्न नसक्नुको कारण खोज्नु पनि हो । ती मतदातासम्म पुग्ने र उनीहरूको मनस्थिति बुझ्ने हाम्रो लक्ष्य छ ।’

पहिले कांग्रेसलाई मत दिँदै आएका मतदाताले मत दिन छाड्नुको कारण, उनीहरूका असन्तुष्टि र रिसाएका मतदातामा फेरि कांग्रेसप्रति विश्वास जगाउन चाल्नु पर्ने कदम बुझ्नु अभियानको मुख्य उद्देश्य भएको पौडेलको भनाइ छ ।

महामन्त्री पौडेलका अनुसार कांग्रेसले रिसाएका मतदाताहरूका गुनासो सुन्ने, मत परिवर्तन गर्नुका कारण पत्ता लगाउने र समाधान खोजेर पुनः कांग्रेससँग जोड्ने लक्ष्यसहित अभियान सञ्चालन गर्न खोजेको हो ।

मंसिरभरि सञ्चालन गरिने अभियानबाट आगामी स्थानीय तह निर्वाचनमा मत बढाउने अपेक्षा राखेर सञ्चालन गर्ने तयारी भइरहेको महामन्त्री पौडेलले जानकारी दिए । ‘अभियानबाट आगामी निर्वाचनमा कांग्रेसको मत बढाउन सकिन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने ।

१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहणपछि बस्ने बैठकबाट निर्णय गरेर सञ्चालन गरिने उक्त अभियानमा कांग्रेसले केन्द्रदेखि वडासम्म फैलिएका संरचनाहरूलाई परिचालन गर्ने बताइएको छ ।

महामन्त्री पौडेलले अभियानका क्रममा समन्वयका लागि केन्द्रीय कार्यसमितिबाट प्रतिनिधिहरू पनि खटाइने जानकारी दिए । ‘अभियानमा संगठनका सबै तहलाई परिचालन गर्छौं,’ उनले अनलाइनखबरसँग भने, ‘समन्वयका लागि केन्द्रीय कार्यसमितिबाट पनि प्रतिनिधि खटाउँछौं ।’

कांग्रेसले बाँकी रहेको जिल्ला र प्रदेश अधिवेशनलाई पनि अभियानअन्तर्गत नै अघि बढाइने जानकारी दिए । ‘अभियान एक महिना चल्छ,’ उनले भने, ‘यस अवधिमा जिल्ला र प्रदेश अधिवेशनलाई पनि अभियानअन्तर्गत नै अघि बढाउँछौं ।’

जिल्ला र प्रदेश अधिवेशन मंसिर महिनाभित्रै सम्पन्न हुने र मिति केन्द्रीय कार्यसमिति बैठकबाट छलफल गरेर तय गरिने महामन्त्री पौडेलले जानकारी दिए । कांग्रेसले महाधिवेशनबाट बदलिएर आएको सन्देश पार्टीका नेता–कार्यकर्ताहरूमार्फत रिसाएका मतदाताको घर–घर पुर्‍याउने लक्ष्य राखेको छ ।

‘संस्थापक नेताले जे सोच राखेर पार्टी बनाउनुभयो, त्यहाँबाट रत्तिभर पनि विचलित नभइकन अहिलेको समयको चुनौती बुझ्ने पार्टी बनाएर आएका छौं भन्ने संकल्प लिएर आएका छौं,’ सभापति थापाले स्याङ्जामा भनेका थिए, ‘अब यो सन्देश लिएर तपाईंहरू ती घरहरूमा पुग्नु पर्ने छ, जुन परिवारका मानिसहरू हाम्रा थिए, तर, अहिले हाम्रा छैनन् ।’

मंसिरमा संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापनामा केन्द्रित भएर कांग्रेसले पुस र माघमा निर्वाचनलक्षित गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ ।

निर्वाचनलक्षित गतिविधिका क्रममा कांग्रेसले पार्टीका सबै सांगठनिक संरचनालाई सक्रिय बनाएर परिचालित गर्ने महामन्त्री पौडेलले बताए ।

‘कांग्रेसका जति पनि संगठनात्मक संरचना छन्, ती निर्वाचनमुखी संरचना हुन् । संरचनाहरू निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि बनाइएका हुन्,’ उनले भने, ‘निर्वाचनकेन्द्रित अभियानका क्रममा हामी ती संरचनालाई सक्रिय र परिचालित गर्छौं ।’

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण समारोह बिहीबारका लागि तय भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा सपथ ग्रहण समारोह आयोजना गरिने छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?