१३ कात्तिक, काठमाडौं । पत्रकारलाई पक्राउ गर्न पुगेका प्रहरीहरू साढे दुई घण्टादेखि नयाँ पत्रिका दैनिकको कार्यालयमा बसिरहेका छन् ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब सवा पाँच बजे समाचार कक्षमा पुगेका सादा पोसाकका प्रहरीहरू अहिले पनि कार्यालय परिसरमै छन् ।
५ जना प्रहरीहरू सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा प्रवेश गरेका थिए । अहिले पनि पत्रिकाको कार्यालय मुनि हतियारसहितका बर्दीधारी प्रहरी बसिरहेको सम्पादक खगेन्द्र पन्तले जानकारी दिए ।
उनका अनुसार समाचार कक्ष भन्दा बाहिर निस्किए पनि प्रहरीहरू कार्यालय नजिक, भर्याङ र लिफ्टमा बसिरहेका छन् । संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै उनीहरू कार्यालय गएका हुन् ।
‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ’, पन्तले भने । यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलगायतका पत्रकारहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया 4