+
+
Shares

उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा

अमलेश शर्मा अमलेश शर्मा
२०८३ कात्तिक १७ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाइ आयोजनाका २६४ ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै धर्ना सुरु गरेका छन्।
  • कर्मचारीले ५८ वर्षे उमेर हद हटाउन, सेवा सर्त सुधार गर्न र सेवा–सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्।
  • माग पूरा नभए मङ्सिर १ गतेदेखि कार्यालयमा तालाबन्दी गर्ने चेतावनी उनीहरूले दिएका छन्।
  • आयोजनाले नयाँ मापदण्डअनुसार ५८ वर्षे उमेर हद अनिवार्य गरिएको बताएको छ।

१७ कात्तिक, सर्लाही । सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै हिजो सोमबारदेखि धर्ना सुरु गरेका छन् ।

२५–३० वर्षदेखि निरन्तर काम गर्दै आएका आफूहरूलाई ५८ वर्षे उमेर हद लगाएर सेवाबाट हटाउन खोजिएको भन्दै कर्मचारीले सर्लाहीको कर्मैयास्थित आयोजनाको कार्यालय गेटमा धर्ना सुरु गरेका हुन् ।

उनीहरूले उमेर हद खारेज गर्न, कात्तिक ११ गते प्रकाशित सेवा सर्त सुधार गर्न, आयोजनाले २०७५ वैशाख ३१ गते गठन गरेको समितिको सेवा–सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै, चाडपर्व खर्च, पोसाक तथा महँगी भत्ताको व्यवस्था गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने उनीहरूको माग छ ।

माग पूरा नभए मङ्सिर १ गतेदेखि कार्यालयमा तालाबन्दी गर्ने चेतावनी कर्मचारीले दिएका छन् । पहिलो चरणमा कात्तिक २० गतेसम्म कार्यालय समयमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बागमती सिँचाइ आयोजना ज्यालादारी कर्मचारी समितिका अध्यक्ष विनोदकुमार पासवानले जानकारी दिए ।

तत्काल कार्यालय र सिँचाइ नहरको काम प्रभावित नहोस् भनेर सर्लाही र रौतहटमा कार्यरत कर्मचारी आलोपालो गरी धर्नामा बसेको पासवानले बताए ।

आयोजनामा नहरको रेखदेख, माली, सुरक्षागार्ड, चालक, प्लम्बर तथा सरसफाइलगायतका काममा ज्यालादारी कर्मचारी कार्यरत छन् । उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाइ आयोजनाका २४४ जना र बागमती–मनुष्मारा–झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मैयाका २० जना गरी २६४ कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

यता, बागमती सिँचाइ आयोजनाकी शाखा अधिकृत सुमना पारुईले नहर सञ्चालनसम्बन्धी नयाँ मापदण्ड अद्यावधिक भएर आएकाले उमेरको मापदण्ड अनिवार्य गरिएको बताइन् ।

उनका अनुसार यसअघि ज्यालादारी कर्मचारीका लागि उमेर हद तोकिएको थिएन । तर, नयाँ मापदण्डमा ५८ वर्षे उमेर हद तोकिएर आएपछि सेवा छाड्नुपर्ने अवस्था सिर्जना भएको भन्दै कर्मचारीले विरोध सुरु गरेका हुन् ।

‘जानैपर्ने अवस्था भए सेवा सुविधासहित जानुपर्छ भन्ने कर्मचारीहरूको माग छ । कार्यालयले पनि घरखर्च र बाटो खर्चसहितको सुविधा लिएर जान सकिने विषयमा कुरा गरेको छ,’ उनले भनिन् ।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?