+
+
Shares

चोभारमा ढुवानी पार्क निर्माण पहल

नेपाल ढुवानी व्यवसायी महासंघले ट्रान्स्पोर्ट नगरी विकास तथा ढुवानी व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन सभापति गजुरेललाई हस्तान्तरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधनको अव्यवस्थित पार्किङ समाधान खोज्न पूर्वाधार विकास समिति र सरोकारवालाबीच छलफल तथा स्थलगत अवलोकन गरिएको छ ।
  • चोभारस्थित सुक्खा बन्दरगाह नजिक सरकारी जग्गामा ट्रान्स्पोर्ट नगरी विकास गर्न सकिने सम्भावना पनि स्थलगत रूपमा हेरिएको छ ।
  • ढुवानी व्यवसायी महासंघले ट्रान्स्पोर्ट नगरी विकास तथा ढुवानी व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सभापति आशिष गजुरेललाई हस्तान्तरण गरेको छ ।

१८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधन अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सरोकारवाला सहित छलफल तथा स्थलगत अवलोकन गरिएको छ ।

स्वयम्भूस्थित नेपाल ढुवानी व्यवसायी महासंघ कार्यालयमा आयोजित छलफलमा पूर्वाधार विकास समिति सदस्य धनेन्द्र कार्की, प्रकाश गौतम, उद्योग समिति सदस्य अरविन्द साह, सडक बोर्ड सदस्य तथा नेपाल ढुवानी व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव राज श्रेष्ठ, कोषाध्यक्ष पूर्णप्रसाद रेग्मी (सरोज), प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारी लगायत उपस्थित थिए ।

छलफलमा काठमाडौं उपत्यकामा मालवाहक ट्रक तथा ढुवानीका सवारीसाधनले चक्रपथ लगायत विभिन्न सडक क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गर्दा उत्पन्न भइरहेको समस्या र यसको दीर्घकालीन समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो ।

ढुवानीका सवारीसाधनलाई व्यवस्थित सञ्चालन तथा पार्किङ गर्ने स्थायी संरचना आवश्यक देखिएकाले चोभारस्थित सुक्खा बन्दरगाह नजिकै रहेको सरकारी जग्गामा ट्रान्स्पोर्ट नगरी (ढुवानी पार्क) विकास गर्न सकिने सम्भावनाबारे स्थलगत अवलोकन समेत गरिएको थियो ।

ढुवानी व्यवसायी महासंघले ट्रान्स्पोर्ट नगरी विकास तथा ढुवानी व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन सभापति गजुरेललाई हस्तान्तरण गरेको छ ।

सभापति गजुरेलले उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । सभापति गजुरेलले मालवाहक सवारीसाधन पनि यात्रुवाहक सवारीसाधन जत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै देशको आर्थिक गतिविधि, आपूर्ति प्रणाली र व्यापारिक कारोबार चलायमान बनाउन ढुवानी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले मालवाहक सवारीसाधनको व्यवस्थित सञ्चालन र पार्किङका लागि दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताए ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने, सडकमा हुने अनावश्यक सवारी चाप घटाउने, ढुवानी व्यवसायीलाई व्यवस्थित सेवा सञ्चालन वातावरण सिर्जना गर्ने तथा सर्वसाधारणको आवागमन सहज बनाउने लक्ष्यसहित यस विषयलाई अगाडि बढाउनुपर्नेमा छलफलमा जोड दिइएको थियो ।

ढुवानी व्यवस्थापन व्यवस्थित बनाउन यो पहल कार्यान्वयनमा आए काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार हुनुका साथै व्यापार, व्यवसाय र आपूर्ति प्रणाली थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?