News Summary
Generated by OK AI. Editorially reviewed.- जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ।
- विभागको कुल खर्चमध्ये ८८ प्रतिशत पूँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको महानिर्देशक दिनेश रजौरियाले बताए।
- महाकाली, बबई, सिक्टा र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पहिलो त्रैमासिकमा १ अर्ब ३९ करोड रुपैयाँ खर्च गर्दै उल्लेख्य भौतिक प्रगति गरेका छन्।
१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत आयोजनामा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।
विभागले पहिलो तीन महिनामा गरेको कुल खर्चमध्ये ८८ प्रतिशत पूँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए ।
पहिलो त्रैमासिकमा ठूला सिँचाइ आयोजनाले भौतिक प्रगतिसँगै बजेट खर्चमा पनि उल्लेख्य उपलब्धि हासिल गरेका छन् । तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण कार्य दुवै अघि बढेको महानिर्देशक रजौरियाले बताए ।
उनका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले पहिलो त्रैमासिकको भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले यस अवधिमा ४३ करोड ७० लाख खर्च गरेको छ । यो आयोजनाको त्रैमासिक बजेटको अढाइ गुणाभन्दा बढी हो ।
त्यस्तै, त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजना ८०.२ र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन् ।
यी चार ठूला आयोजनाले मात्रै पहिलो त्रैमासिकमा १ अर्ब ३९ करोड खर्च गरेका छन् । यो विभाग अन्तर्गतका आयोजनामा भएको कुल खर्चको ५८ प्रतिशत हो ।
विभागका अनुसार प्रगन्ना–बड्कापथ सिँचाइ आयोजना (दाङ) ले ८८.२ प्रतिशत भौतिक प्रगति गरेको छ । गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले भने पहिलो त्रैमासिकको शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।
पहिलो त्रैमासिकमा बजेट खर्च र भौतिक प्रगतिमा देखिएको उपलब्धिलाई दोस्रो त्रैमासिकमा पनि निरन्तरता दिने विभागको लक्ष्य छ ।
‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ,’ महानिर्देशक रजौरियाले भने ।
विभागले पहिलो त्रैमासिकमा भएको खर्चमध्ये अधिकांश निर्माण कार्यमा केन्द्रित भएको जनाएको छ ।
प्रतिक्रिया 4