News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं गोर्खाजले विराटनगर किङ्सलाई ९ विकेटले हराउँदै ८४ रनको लक्ष्य ९.४ ओभरमै पूरा गर्यो।
- विराटनगर १६.५ ओभरमा ८३ रनमै अलआउट भयो र एनपीएल २०२६ को जारी सिजनकै न्यून योगफल बनायो।
- डेभिड वार्नरले अविजित ४४ रन बनाएर काठमाडौंलाई दोस्रो जित दिलाए र टोली अंकतालिकाको दोस्रो स्थानमा उक्लियो।
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुरुवाती दुई खेलमा पराजित भएपछि दुई जितका साथ पुनरागमन गरेको विराटनगर किङ्सले पाँचौं खेलमा झट्का बेहोरेको छ ।
ब्याटिङ एकाएक धराशायी बन्दा काठमाडौं गोर्खाजविरुद्ध बिहीबार ८३ रनमै समेटिएको विराटनगरले जारी प्रतियोगिताकै न्यून योगफल बनायो। जवाफमा डेभिड वार्नरको आक्रामक ब्याटिङमा काठमाडौंले ८४ रनको लक्ष्य ९.४ ओभरमै पूरा गर्दै सहज जित निकाल्यो।
यसअघि जारी प्रतियोगितामा उच्च योगफल बनाउनेदेखि ५ ओभरको खेलमा १०४ रनको विशाल योगफल बनाएको विराटनगरको ब्याटिङ प्रदर्शन आज भने निराशाजनक रह्यो । एक समय त प्रतियोगिताको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिने हो कि भन्नेजस्तो अवस्था पनि आएको थियो ।
काठमाडौंले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा आएको विराटनगरले सुरुदेखि नै दबाब झेल्नुपर्यो। टोलीले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो। त्यसपछि रुपेश सिंह र एन्जेलो म्याथ्युजले आठौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई केही राहत दिए।
रुपेशले २६ र म्याथ्युजले २२ रन बनाए। तर, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। म्याथ्युजले ३१ बल खेलेर २२ रन बनाउँदा एक चौका मात्र प्रहार गरे। रुपेशले भने टोलीका लागि एक मात्र छक्का प्रहार गरे।

प्रतियोगितामा सर्वाधिक रन बनाइरहेका लोकेश बम र आन्द्रे रसेल दुवैले २५ रन पनि बनाउन सकेनन्। जारी सिजनमा पहिलोपटक उनीहरू दुवैको ब्याटबाट उल्लेख्य योगदान आउन सकेन।
विराटनगरको ब्याटिङ कमजोर हुँदा टोली १६.५ ओभरमा ८३ रनमै अलआउट भयो। एनपीएल इतिहासमा पनि यो विराटनगरको दोस्रो न्यून योगफल हो।
काठमाडौंका लागि बलिङ गरेका सबै ६ बलरले विकेट लिए। सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। यो उनको करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन हो। जहानदाद खान र सहान अरचाचिगेले दुई-दुई विकेट लिए भने देव शाह, करण केसी र शाहब आलमले एक-एक विकेट बाँडे।
सन्तोषको योजना सफल, देवले लिए रसेलको विकेट
विराटनगरलाई कम योगफलमा समेट्न काठमाडौंका स्पीनरले महत्वपूर्ण भूमिका खेले। सन्तोषका अनुसार पिचले स्पिनरलाई सहयोग गर्ने देखिएकाले त्यहीअनुसार बलिङ योजना बनाइएको थियो।
‘विकेट स्पिनरलाई फेभर गर्ने खालको थियो। हामीले पनि त्यहीअनुसार योजना बनाएका थियौं। स्टम्पमै बलिङ गर्ने योजना थियो, त्यसले काम गर्यो,’ उनले भने।
सन्तोषले डेभिड वार्नरबाट पनि खेलका क्रममा सुझाव पाएको बताए। विपक्षी ब्याटरलाई सकेसम्म दबाबमा राख्नुपर्ने वार्नरको सुझाव रहेको उनले सुनाए।
विराटनगरका आक्रामक ब्याटर रसेलको विकेट देव शाहले लिए। देवले अक्सनमा बिक्री भएपछि नै आफूलाई राम्रो लागेको र अहिले मैदानमा फर्किएको अनुभव भएको बताए। उनी यसअघि एभरेस्ट प्रिमियर लिगमा पोखराबाट खेलेका थिए। बीचमा पढाइमा व्यस्त रहे पनि भारतमा गएर क्रिकेट खेलेको उनले सुनाए।
‘रसेल क्रिजमा आउनेबित्तिकै मलाई बलिङ दिनुभयो। योजना बनाएका थियौँ र त्यसले काम गर्यो,’ देवले भने।

सन्तोषले एनपीएल युवा खेलाडीका लागि राम्रो मञ्च भएको पनि बताए। खेल जिते पनि हारे पनि टोलीभित्रको वातावरण राम्रो रहने उनको भनाइ थियो।
विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले टोलीको ब्याटिङ प्रदर्शन कमजोर रहेको स्वीकार गरे। उनले पिचलाई हारको बहाना बनाउन नमिल्ने भन्दै ब्याटरले परिस्थितिअनुसार खेल्न नसकेको बताए।
‘ब्याटिङ राम्रो भएन। विकेटबारे त्यस्तो केही बहाना छैन। हामीले हालै खेलेको विकेटमा स्पिनरलाई सहयोग गर्ने अवस्था थियो। तर, हाम्रा ब्याटरले कन्डिसनअनुसार आफूलाई ढाल्न सकेनन्। ब्याटरले जिम्मेवारी लिनुपर्छ’ उनले भने।
विराटनगरले चार खेलमा टस गुमाइसकेको बताउँदै उनले टसभन्दा पनि कन्डिशन बुझेर खेल्न सक्नुपर्ने कुरा औंल्याए। सुरुवाती दुई खेलमा हार बेहोरेपछि लगातार दुई जित निकाल्दै टोलीले पुनरागमन गरेको स्मरण गर्दै उनले बाँकी दुई खेलमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखे।
वार्नरको आक्रामक ब्याटिङ
८४ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले सुरुवातमै साहिल पटेललाई १० रनमा गुमायो। तर, त्यसपछि वार्नर र माइकल बोसिस्टोले अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए।
पहिलो खेलमा सस्तैमा पेभेलियन फर्किएका वार्नरले आज भने विजयी रन नै प्रहार गरे । लक्ष्य पछ्याउँदा २४ बलमा अविजित ४४ रन बनाएका उनले दुई चौका र तीन छक्का प्रहार गरे। उनले अन्तिममा दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।
अर्का अस्ट्रेलियाली ब्याटर बोसिस्टोले २४ बलमा अविजित २३ रन जोडे। उनले तीन चौका प्रहार गरे।

वार्नर र बोसिस्टोले दोस्रो विकेटका लागि अविजित ६९ रनको साझेदारी गरे। अपराजित पौडेलले साहिललाई बोल्ड गरेपछि विराटनगरले पाएको एकमात्र सफलता त्यही बन्यो। वार्नरले आक्रामक ब्याटिङ गरेपछि काठमाडौंले १०.२ ओभर बाँकी छँदै लक्ष्य पूरा गर्यो।
यस जितसँगै काठमाडौंले तीन खेलमा दोस्रो जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। पाँच टोली चार अंकमा रहे पनि नेट रनरेटका आधारमा उनीहरूको स्थान फरक छ। विराटनगर भने पाँच खेलमा दुई जित र तीन हारसहित पाँचौँ स्थानमा झरेको छ।
प्रतिक्रिया 4