News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्ड कोस्ट नेपाली क्रिकेट क्लबले ब्रिस्बेनको कालिङ्गा पार्क–३ मा ब्रिस्बेन युनाइटेडलाई ९ रनले हराउँदै जीवाईडब्ल्यू फाइनान्स क्यूएनसीए ग्रेड ‘बी’ टी–२० च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ।
- लिग चरणका १० मध्ये ९ खेल जितेको जीएनसीसी पहिलो पटक फाइनल पुगेर नै उपाधि जित्ने गोल्ड कोस्टको पहिलो क्लब बनेको छ।
- जीएनसीसीका राजन खड्गी ४११ रन र २४ विकेटसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर घोषित भएका छन्।
२२ कात्तिक, काठमाडौं । गोल्ड कोस्ट नेपाली क्रिकेट क्लब (जीएनसीसी) ले जीवाईडब्ल्यू फाइनान्स क्यूएनसीए ग्रेड ‘बी’ टी–२० च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ।
आइतबार ब्रिस्बेनको कालिङ्गा पार्क–३ मा भएको फाइनलमा जीएनसीसीले ब्रिस्बेन युनाइटेड क्रिकेट क्लबलाई ९ रनले पराजित गर्दै उपाधि जितेको हो।
पहिले ब्याटिङ गरेको जीएनसीसीले २० ओभरमा पाँच विकेट गुमाएर १६१ रन बनाएको थियो। जवाफमा ब्रिस्बेन युनाइटेडले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।
लिग चरणका १० मध्ये ९ खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको जीएनसीसी ब्रिस्बेन नेपाली क्रिकेट लिगको फाइनलमा पुग्ने गोल्ड कोस्टको पहिलो क्लब बनेको थियो। पहिलो पटक फाइनल खेलेको क्लबले नै उपाधि जित्दै इतिहास बनाएको छ।
जीएनसीसीका लागि अमृत पाण्डेले ४० बलमा ४० रन बनाए। दिपेन गुरुङले २६ बलमा २९ रन जोड्दा अन्तिम ओभरमा सरोज रिजाल क्षेत्रीले आक्रामक ब्याटिङ गरे। उनले पाँच छक्का र एक चौकासहित १२ बलमा अविजित ३८ रन बनाए। विनय खड्का पाँच बलमा सात रनसहित अविजित रहे।
अमित पोखरेलले आठ बलमा १४, प्रसुन श्रेष्ठले १९ बलमा १३ र राजन खड्गीले १० बलमा आठ रन बनाए। ब्याटिङमा ४० रन बनाएका अमृतले फिल्डिङमा चार महत्त्वपूर्ण क्याचसमेत लिए। उनी फाइनलको प्लेयर अफ द म्याच घोषित भए।
जीएनसीसीका राजन खड्गी प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर दुवै घोषित भए। उनले प्रतियोगिताभर ४५.६७ को औसतमा ४११ रन बनाउनुका साथै ९.८८ को औसतमा २४ विकेट लिए। उनी टोलीका सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीसमेत बने।
उज्ज्वल कोइरालाको कप्तानीमा खेलेको जीएनसीसीका उपकप्तान रोडिन महर्जनले १०.७३ को औसतमा २२ विकेट लिए। ब्याटिङतर्फ अमित पोखरेलले २६४, अभिनव रिजालले १९७, कृष्ण न्यौपानेले १७७ र दिपेन गुरुङले १२२ रन बनाए। अभिनवले बलिङमा पाँच विकेट लिए भने सरोज रिजाल क्षेत्रीले १३ र सुदिन आचार्यले १० विकेट लिए।
अमित चौलागाईं, पारस पल्ली, प्रसुन श्रेष्ठ र विनय खड्काले पनि टोलीको उपाधि यात्रामा योगदान दिए। टोली व्यवस्थापक मिराज पौडेल थिए।
क्लबले प्रतियोगिताभर साथ दिने खेलाडीका परिवार, साथीभाइ र गोल्ड कोस्टको नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ। फाइनल हेर्न ब्रिस्बेन पुगेका समर्थकलाई पनि क्लबले धन्यवाद दिएको छ
प्रतिक्रिया 4