News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराकी दिव्या ढकालले देशका तराइदेखि हिमालसम्म पदयात्रा गर्दै दृश्य खिचेर सामाजिक सञ्जालमार्फत ‘लेडी ट्राभलर’ पहिचान बनाएकी छन् ।
- ‘मुना चिया’ नामले चिनिने मुनाले जुम्लाको रिल्स भाइरल भएपछि देशका नयाँ–नयाँ ठाउँ देखाउने यात्रालाई पाँच वर्षदेखि निरन्तरता दिएकी छन् ।
- सोलो ट्राभलर मनिषा थापाले एक्लै यात्रा गर्दै ठाउँहरूको फोटो, पेन्टिङ र रिल्स बनाउँदै प्रकृति संरक्षण र फोहोर नगर्न आग्रह गरिरहेकी छन् ।
पोखरामा घरको बार्दलीदेखि देखिने धौलागिरी, मनास्लु, अन्नपूर्ण हिमालका चुचुरोहरू हेर्दा उनका मनमा अनेक खुलदुली जाग्थे ।
‘यिनै हिमालमा मान्छे चढ्छन् रे’ सानैमा उनले सुनेकी थिइन् । उनलाई त्यो कुराले घत लगाएको थियो । र, सोचिरहन्थिन्– ‘एक दिन यी हिमालका फेदसम्म जान पाएँ ।’
उनले दिनहुँ ती हिमालका अग्ला चुचुरा हेर्दै र सोच्दै बालापन बिताइन् ।
कालान्तरमा युवा उमेर चढेपछि पोखराकी दिव्या ढकाल (हाल ३० वर्ष) देश चिहाउन निस्किइन् । पदयात्रा गर्दै नेपालका दूरदराजका गाउँहरूमा पुगिन् । पहाड उक्लिन् । हिम चुचुरो चढिन् ।
मुलुकको भूगोल, प्राकृतिक सुन्दरता, संस्कृति, रहनसहन देखिन् । सहरको कोलाहल र सम्पन्नतादेखि पर नेपाली समाजको समाजको विविधता देखिन् । सुन्दरता देखिन् ।
उनै दिव्याको पहिचान बनेको छ अहिले– लेडी ट्राभलर । कतिपयले उनलाई कन्टेन्ट क्रियटरका रूपमा पनि चिन्दछन् ।

दिव्या देशका कुना–कन्दरा, दूरदराजसम्म पदयात्रामात्रै गर्दिनन् । आफू पुगेका नयाँ ठाउँ, भूगोल र नेपाली संस्कृतिका मनमोहक दृश्यहरू कैद गर्छिन् । र, सामाजिक सञ्जालका रिल्स र भिडियोमार्फतबाट सारा संसारलाई देखाउछिन् । यसैले उनको पहिचान कोरेको छ ।
००००
प्रकृतिकै बीचमा हुर्केकी हुन्, दिव्या । जन्मघर स्याङजा, मामाघर पर्वतको कुश्मा । पछि स्याङजाबाट बसाइँसरेर परिवार पोखरा आयो ।
स्याङ्जा, कुश्मादेखि पोखरासम्मको बालापन बिताउँदा उनले वन तथा खोला नालाहरूले प्रकृतिको मिठास भरेको थियो । त्यही प्राकृतिक सन्निकटताले आफूभित्र घुमन्तेपन भरेको दिव्याको ठम्याइँ छ ।

त्यो कुरा सन् २०१५ पहिलोपटक घान्द्रुक पुगेपछि आफूले थाहा पाएको उनी बताउँछिन् । ‘त्यो बेला म २२ वर्षकी थिएँ । टाढाबाट सधैँ हेरेर हुर्किएको हिमाल अझ नजिक पहिलोपटक देखेँ,’ उनी सम्झन्छिन्, ‘बिहानीपखको अन्नपूर्ण हिमालको दृश्य यति मनमोहक थियो कि, लाग्यो– म कुनै फरक संसारमा पुगेँ ।’
त्यसैमा घान्द्रुकमा गुरुङ समुदायको संस्कृति, भाषा–भेषभूषा र रहनसहनले उनी फुरुंग भइन् । ‘सहरदेखि पर अर्काे भव्य संसार रहेछ । नेपालभित्र अर्काे नेपाल लुकेको रहेछ भन्ने थाहा पाएँ,’ उनी भन्छिन् ।
त्यसपछि उनलाई थप नेपाल हेर्ने हुटहुटी पैदा भयो । ‘अनि म नयाँ–नयाँ ठाउँ, नयाँ–नयाँ नेपाल खोज्दै हिँड्न थालेँ,’ दिव्या सुनिन्छिन् ।
त्यसयता उनी देशका तराइका फाँटदेखि पहाड र हिमालका गाउँबस्ती डुलिरहेकी छन् । सुदूरपश्चिमका दार्चुलादेखि पूर्वको इलामसम्म । हिमाली मनाङ–मुस्ताङदेखि पश्चिम तराईका बाँके–बर्दियासम्म उनी भ्याइसकेकी छन् ।
दिव्याको इन्टाग्राममा ६२ हजार फलोअर्स छन् । इन्टाग्रामका रिल्समार्फत उनले विश्वलाई चकित बनाउने नेपाली दृश्य दिइरहन्छिन् ।
मुना चिया
उनी चिनिन्छिन्– ‘मुना चिया’का नामले । टिकटकदेखि इन्टाग्रामका रिल्सहरूमा यही पहिचान छ उनको ।
तर, उनी चिया होइनन्, बरु चियाकी पारखी भने हुन् । चियाभन्दा अझै बढी आफूलाई ‘लेडी ट्राभलर’ भनेर चिनाउन चाहन्छिन् ।
पोखरामै हुर्केकी मुना बजारमा साइकल लिएर चिया पिउन निस्कथिन् । चियाको यस्ती पारखीले आफ्नो नामै जुराइन्– मुना चिया ।

बुबा सरकारी जागिरे । सरुवा भई देशका विभिन्न ठाउँ पुगिरहने । बुबासँगै उनी पनि बेलाबखत ती ठाउँ पुगिरहन्थिन् । त्यही भ्रमणका तस्वीर र भिडिओ इन्स्टाग्राममा पोस्टिरहन्थिन् । त्यो सामान्य रहर मात्रै थियो ।
टर्निङ प्वाइन्ट त्यो भ्रमण बन्यो– जब उनी जुम्ला पुगिन् । झन्डै चार वर्षअघि जुम्ला पुगेका बेला इन्स्टाग्राममा हालेको उनको एक रिल्स हो, धेरैले रुचाइदिए ।
मनामोहक जुम्लाको त्यो दृश्य रातारात भाइरल बन्यो, उनका फलोअर्स पनि ह्वात्तै बढे ।
त्यसपछि मुनालाई लाग्यो– यस्ता ठाउँ त कति छन् कति, तीनलाई पनि देखाइदिनुपर्छ । ती देखाउन अझै हिँड्नुपर्छ ।
त्यसपछि सुरु भएको उनको यात्रा पाँच वर्षयता निरन्तर छ ।
‘हिउँद होस् वा बर्खा, गर्मी होस् जाडो निस्किहाल्छु । कहिले गाडीमा यात्रा गर्दै । कहिले एक्लै स्कुटर कुदाउँदै । कहिले एक्लै पदयात्रामा निस्किदिन्छु, कहिले समूह पनि हुन्छ,’ उनी भन्छिन् ।
जहाँ जहाँ पुग्छिन्, दृश्यहरू क्यामराले कैद गर्छन् । क्यामेराअघि आफू उभिन्छिन्, पृष्ठभूमिमा कहिले पहाड र कहिले हिमालको आड हुन्छ । कतै बुकी फूलहरू हुन्छन्, कतै हरियाली र सुरम्य फाँटहरू । कतै तात्तातो चिया पिउँदै गरेको दृश्य पनि मिसाउन बाँकी राख्दिनन् ।

उनी सबैलाई यसैगरी घुम्न प्रेरित गर्छिन् । ‘म घुमेका दृश्य हज्जारौं र लाखौंकहाँ पुग्छ । मलाई आनन्द लाग्छ,’ उनी भन्छिन् ।
००००
मुनाका लागि यात्रा परिचित ठाउँहरूमा पुग्नुमात्र होइन्, नयाँ–नयाँ ठाउँहरूको खोजी गर्नु पनि हो । ‘अग्ला पहाड र हिमश्रृंखलामुनि लुकेका गाउँबस्ती, पाखा–पखेरी, ताल–तलैया, गोरेटाहरू, जो यहीँ छन्, तर गुमनाम छन् । तिनै ठाउँहरूमा पुग्नु र सबैलाई देखाउनु मेरो ध्येय हो,’ उनी भन्छिन् ।
उनको बुझाइमा यात्रा भन्नु फगत यात्रा मात्र होइन, ती ठाउँ ‘एक्सप्लोर’ गर्नु पनि हो । उनी भन्छिन्, ‘मलाई नयाँ ठाउँहरू एक्सप्लोर गर्दै हिँड्न मनपर्छ ।’
मनिषा थापा : सोलो ट्राभलर
दिव्या र मुनाजस्तै मनिषा थापा पनि ट्राभलर हुन् । तर, उनी आफूलाई ‘सोलो ट्राभलर’ भन्न रुचाउँछिन् । अर्थात, उनी एक्लै यात्रा गर्छिन् ।
नेपालका गाउँबस्ती पुग्दा होस् कि डाँडापाखा, हिमाल पुग्दा होस् कि खोलानाला तर्दा उनी एक्लै यात्रामा हुन्छिन् ।
एभरेस्ट बेस क्याम्प, मार्दी, लाङटाङ, मनाङजस्ता ठाउँहरूमा पनि उनी एक्लै पदयात्रामा गइसकेकी छन् ।
००००
बाल्यकालमा चित्र कोर्ने शोख रहेकी मनिषालाई घुम्न यतिधेरै मन पराउँछु भन्ने थाहा थिएन । तर, उनले बनाउने चित्रमा भने हिमाल, पहाड, पाखा–पाखेरा नै अटाउँथे ।

एकदिन उनी काठमाडौंको सुन्दरजल हाइकिङमा निस्किइन् । त्यसपछि मात्रै उनले थाहा पाइन्, आफू ‘ट्राभल इन्थुजियास्ट’ हुँ भन्ने ।
त्यसपछि मनिषा पनि यात्रामा निस्किन थालिन । आफूले घुमेका ठाउँको कन्टेन्ट बनाएर सामाजिक सञ्जालमा राख्न थालिन् ।
उनी आफू घुमेको ठाउँ क्यामरामा कैद गरेर दुनियाँसामू ल्याउने काम मात्रै गर्दिनन् । त्यसलाई पेन्टिङमा पनि उतार्छिन् । ‘म जहाँ पुग्छु, पेन्टिंग टुल पनि सँगै हुन्छ,’ मनिषा भन्छिन्, ‘अनि आँखैअघि उभिएर दृश्यलाई पेन्टिङमा उतार्छु ।’

उनमा घुम्नु र घुमेका ठाउँलाई प्रचार–प्रसार गर्नुमा मात्रै नभई प्रकृतिको संरक्षण र पर्यावरणको जगेर्नाबारे पनि चिन्ता छ ।
उनी घुम्नेहरूलाई पर्यावरणमा क्षति नपु¥याउन पनि सचेत गराउने खालका रिल्स पनि बनाइरहेकी हुन्छिन् ।
‘अहिले घुम्ने कल्चर बढिरहेको छ । यो राम्रो पनि हो,’ उनी भन्छिन्, ‘तर, घुम्नुसँगै हामीले कतै प्रकृतिलाई हानी गरिरहेका त छैनौं । फोहोर गरिरहेका त छैनौं भनेर सोच्न जरुरी छ ।’
प्रतिक्रिया 4