११ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम सम्पन्न रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रियाबाट सुरुमा १६ उम्मेदवार छानिएको थियो । ती १६ मध्येबाट पर्यटन क्षेत्रका विभिन्न समस्या समाधान परीक्षणका आधारमा उच्च अंक प्राप्त गर्ने ११ जनाको सूची तयार पारिएको हो ।
छनोट भएका ११ उम्मेदवारहरुमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं) छन् ।
यसैगरी रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि ११ उम्मेदवारको सूचीमा परेका छन् ।
यसअघि गत कात्तिक २० गते सार्वजनिक १६ जनाको सूचीमा रहेका धर्मराज दवाडी (चितवन), राजाराम के.सी. (काठमाडौं), रामचन्द्र सेढाईं (गोरखा), विनोद अर्याल (पाल्पा) र सन्तोष विक्रम थापा (काठमाडौं) भने ११ जनामा परेनन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद गत वैशाख १९ गतेदेखि रिक्त छ । राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई सरकारले पदबाट हटाएपछि बोर्डको नेतृत्व रिक्त भएको हो । त्यसयता निमित्त नेतृत्वबाट बोर्डको प्रशासनिक काम सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया 4