+
+
Shares

३ किलो लागुऔषध कोकिनसहित ठमेलबाट दुई विदेशी नागरिक पक्राउ

कोरियाली नागरिकले पेरुबाट ल्याएको कोकिन भारतीय नागरिकमार्फत मुम्बई लैजाने तयारी गरेकोको प्रहरीको दाबी छ । बरामद भएको कोकिन करिब १५ करोड रुपैयाँको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १६:१४

१३ मंसिर, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंमा ३ किलो लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन लि र २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम वागमारे छन्।

लागूऔषध कारोबार गर्न सक्ने विदेशी नागरिकहरूको आपराधिक गतिविधि सम्बन्धी अनुसन्धानका क्रममा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडमा रहेको एक होटलको कोठाबाट कोरियाली नागरिक लिले आफ्नै साथमा ल्याएको ह्याण्ड ब्यागभित्र फल्स बटम बनाई लुकाएर राखेको ३ किलो कोकिन बरामद गरिएको हो।

उक्त कोकिन लिन आएका भारतीय नागरिक वागमारेलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

उनीहरूको साथबाट ३ किलो कोकिन,राहदानी र आधार कार्ड र मोबाइल फोन बरामद गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कोरियाली नागरिकले पेरुबाट काठमाडौंसम्म कोकिन ल्याएको र भारतीय नागरिकले उक्त कोकिन काठमाडौं हुँदै भारतको मुम्बई पुर्‍याउने योजना बनाएको खुलेको छ।

कोरियाली नागरिक २६ नोभेम्बर २०२६ मा पेरुबाट म्याड्रिड (स्पेन) र दोहा (कतार) हुँदै नेपाल आएको देखिएको ब्यूरोले जनाएको छ।

त्यस्तै, उनी यसअघि १९ जुलाई २०२६ मा पनि नेपाल आएको र तीन दिन ठमेलस्थित होटलमा बसेर पुनः कोरिया फर्किएको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका भारतीय नागरिक वागमारेको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्स मुम्बइको परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले अनुमान गर्दा करिब १५ करोड रुपैयाँ पर्ने ब्यूरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?