+
+

एकोहोरो अनलाइन कक्षाले बालबालिकामा नकारात्मक प्रभाव

नुनुता राई नुनुता राई
२०७८ भदौ ९ गते ९:५९

९ भदौ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण यो वर्ष विद्यालय खुल्नै पाएका छैनन् । स्थानीयले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्यांकनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोडिरहेका छन् ।
महामारीको अप्ठ्यारो अवस्थामा सरकारले ल्याएको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यालयहरुले बालबालिकाहरुलाई सिकाइसँग जोडेका छन् ।

विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिने उद्देश्यले ल्याइएको निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन, खुला शिक्षाबाट बालबालिकालाई सिकाइसँग जोड्न सकिने उपाय दिएको छ । बजार, सहरी क्षेत्रका अधिकांश बालबालिका अनलाइन कक्षामा जोडिएका छन् ।

तर एकोहोरो अनलाइन कक्षाले बालबालिकालाई नकारात्मक प्रभाव पार्न थालेको अभिभावकहरुले गुनासो गर्न थालेका छन् । विद्यालयको निरन्तर एकतर्फी कक्षाले उनीहरूको शारीरिक तथा मनोसामाजिक स्वास्थ्यमा असर देखिन थालेको अभिभावकहरुको भनाइ छ ।

उदाहरण १

नागार्जुन १ रानीबन निवासी नानीमैया ढुंगानाका दुई छोरीहरु कक्षा ६ र १ मा पढ्छन् । उनीहरु स्थानीय एक सामुदायीक विद्यालयका विद्यार्थी हुन् । बिहान पौने ११ देखि साँझ पौने ४ बजेसम्म निरन्तर कक्षा हुन्छ । दिउँसो एक बजे आधा घन्टाको खाजा खाने विदा हुन्छ ।

बाँकी सबै समयमा निरन्तर कक्षा हुन्छ । निरन्तरको कक्षा र होमवर्कका कारण बच्चाहरु दुब्लाउँदै गएको नानीमैयाको गुनासो छ । उनी भन्छिन् ‘निरन्तरको कक्षाले उनीहरु साह्रै थाक्छन् । कहिलेकाहीं साँझ खाना नै नखाइ सुत्छन् ।’ एकोहोरो बसेर पढ्नुपर्दा गाह्रो मान्ने, ढल्कन खोज्ने, बाहिर खेल्न जान नखोज्ने समस्या देखिन थालेको नानीमैयाको भनाइ छ । यसले भविष्यमा पार्ने असर कस्तो हुने भन्ने चिन्ताले सताउन थालेको उनी बताउँछिन् ।

उदाहरण २

लैनचौर निवासी शोभा पुडासैनीका तीन भाइ छोराहरु छन् । उनका छोराहरु कक्षा ८, ६ र ४ मा पढ्छन् । स्थानीय निजी विद्यालयमा पढ्ने शोभाका छोराहरुको कक्षा बिहान र साँझ दुई समयमा हुन्छ । शोभाले अनलाइन कक्षाले नकारात्मक असर पार्न थालेको महसुस गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘शारीरिक गतिविधि बन्द भएको छ । त्यसले गर्दा मोटाएका पनि छन् । कतै बाहिर जान नखोज्ने, मोबाइलमा नै खेलेर बस्न खोज्ने भएका छन् ।’

लामो समय मोबाइल र ट्याबमा हेरिरहनु पर्ने भएकाले आँखा पोल्यो भन्ने, ढाड दुख्यो भन्ने गुनासो गर्न थालेको शोभा बताउँछिन् । शोभालाई अनलाइन कक्षाले छोराहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा असर गरिरहेको हो कि जस्तो लाग्न थालेको छ । पहिला सकेसम्म घर बाहिर खेल्न खोज्ने शोभाका छोराहरु अहिले सकेसम्म घरभित्रै मोबाइल अथवा ट्याबमा आफैं बसेर खेल्न पाए झैं गर्न थालेका छन् । उनी भन्छिन्, ‘मोबाइलमा एकोहोरो हेरिरहँदा आँखा पोल्यो, ढाड दुख्यो भन्छन् । म सकेसम्म पढाइ सकिएपछि घरका कामहरु पनि सिकाउन खोज्छु । तर चासो कम दिन्छन् । ध्यान मोबाइल अथवा ट्याबमा नै हुन्छ ।’

प्रविधि हुने र नहुने दुवै वर्गका बालबालिकालाई असर

एकोहोरो अनलाइन कक्षाले बच्चाहरुमा ‘डिजिटल एडिक्सन’को जोखिमसँगै उनीहरुको शारीरिक स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने एक्युपंचरिस्ट सुदर्शन बस्नेत बताउँछन् । उनको भनाइ अनुसार लामो समयसम्म एकोहोरो मोबाइल, ल्यापटपमा हेरिरहँदा स्क्रिनले आँखामा समस्या आउने, बसाइको आसन नमिल्दा नसा र मेरुदण्डको समस्या हुने जोखिम रहन्छ ।

उनी भन्छन्, ‘लामो समयसम्म एकोहोरो बसाइले पार्ने असर भनेको दीर्घकालीन समस्या हो । बालबालिकाको बसाइ नमिल्दा स्पाइन र जोर्नीहरुमा समस्या देखिन सक्ने सम्भावना हुन्छ ।’ शारीरिक गतिविधि कम हुँदा बालबालिकाको शरीर बोधो हुने, अल्छी हुने र यसले भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालयले ध्यान दिनुपर्ने एक्युपञ्चरिष्ट बस्नेत बताउँछन् । उनी भन्छन्, ‘बालबालिकालाई कक्षा अगाडि अथवा पछाडि शारीरिक व्यायाम गराउनुपर्छ । यसले उनीहरुको मानसिक तथा शारीरिक स्वास्थ्य स्वस्थ्य राख्न मद्दत गर्छ ।’

नेपाल बाल चिकित्सक समाजका अध्यक्ष डा.गणेश राई अनलाइन कक्षाले प्रविधि हुने र नहुने दुबै वर्गका बालबालिकालाई असर पारिरहेको बताउँछन् । प्रविधि नहुने बालबालिकाहरु सिकाइबाट बन्चित छन् त्यसले गर्दा मानसिक स्वास्थ्यमा समस्या भइरहेको छ । प्रविधिको पहुँचमा हुने बालबालिकाहरु मानसिक तथा शारीरिक स्वास्थ्य समस्या जोखिममा रहेका छन् ।

निरन्तर अनलाइन कक्षाले गर्दा आँखामा समस्या आउने, घोप्टिएर पढ्दा घाँटीमा समस्या हुने, ढाडमा समस्या हुने, निरन्तर घोप्टो परेर बस्दा विस्तारै कुप्रो पर्दै जाने समस्या हुन सक्छ । निरन्तर कुप्रो पर्दा नसा च्यापिने समस्या हुने जोखिम रहेको डा.राई बताउँछन् ।

यस्ता जोखिमबाट टाढा राख्नको लागि अभिभावकले बालबालिकाको बसाइमा ध्यान दिने, विद्यालयले दिने होमवर्क कपीमा लेखेर बुझाउन प्रात्साहित गर्ने, कम्तीमा डेढ फिट टाढा प्रविधि राखेर पढ्न लगाउने गर्नुपर्ने उनको भनाइ छ ।

डा. राई बालबालिकालाई नियमित शारीरिक अभ्यास गराउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘युट्युबमा उमेर समूह अनुसार पाइने योग अभ्यास अथवा योग प्रशिक्षकसँग सुझाव लिएर योग गराउन सकिन्छ । यसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ्य राख्न सहयोग पुग्छ ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?