+
+

अफगानिस्तानकी महिला सांसदलाई भारतले पठायो फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १५:४५

१० भदौ, काठमाडौं । भारतले अफगानिस्तानकी एक महिला सांसद्लाई फिर्ता पठाएको छ । टर्कीको इस्तालबुलबाट एक साताअघि भारतको नयाँदिल्ली आएकी अफगानिस्तानकी महिला सांसद रञ्जिना कारगारलाई पुनः टर्की फिर्ता पठाइएको हो ।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार कारगार अगष्ट २० मा दुबई फ्लाइटबाट नयाँ दिल्ली आएकी थिइन् । फरयाब प्रान्तबाट वोलेसी जिग्राको सदस्यको रुपमा प्रतिनिधित्व गर्दै आएकी उनीसँग कूटनीतिक/आधिकारिक पासपोर्ट छ, जसअनुसार उनले बिना भिसा भारतको भ्रमण गर्न पाउँछिन् ।

सन् २०१० यता कारगार अफगानिस्तानको सांसद रहँदै आएकी थिइन् र उनले सोही पासपोर्टको आधारमा धेरैपटक भारतको भ्रमण पनि गरिसकेकी छिन् ।

यद्यपि यसपटक नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले उनलाई शुरुमा केही समय पर्खिन भने । त्यसको दुई घण्टापछि उनलाई पुनः दुबईमार्फत टर्की फिर्ता पठाइएको हो । ‘मलाई अपराधीजस्तो व्यवहार भयो । दुबईमा मलाई आफ्नो पासपोर्ट पनि दिइएन र इस्तानबुल पुगेपछि मात्र दिइयो’, ३६ वर्षीया कारगारले भनिन् ।

भारतले उनलाई फिर्ता पठाउँदा कुनै कारण भने दिएको छैन । पछिल्लो समय तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा जमाएपछिको अवस्थाको कारण भारतले कारगारलाई फिर्ता पठाएको हुन सक्ने बताइएको छ ।

भारतको विदेशमन्त्रालयले भने कारगारमाथि भएको घटनाको विषयमा अनविज्ञता व्यक्त गरेको छ । कारगारलाई फिर्ता पठाएको दुई दिनपछि भारतले दुई शिख सांसदलाई मुलुकमा आश्रय दिएको थियो । यद्यपि उनीहरु भारतले व्यवस्था गरेको उद्धार विमानमार्फत भारत आएका थिए ।

कारगारले भने आफू भारतमा बस्ने योजना भने नरहेको स्पष्ट पारेकी छिन् । उनका अनुसार नयाँ दिल्ली आइपुगेको दिन उनले डाक्टरसँग भेट्न समय लिएकी थिइन् । अगष्ट २२ मा उनले इस्तानबुल फर्किनको लागि टिकट लिएकी थिइन् । कारगारले तालिबानले संसद्मा महिलालाई पनि प्रतिनिधित्वको अवसर दिएको अवस्थामा आफू अफगानिस्तान फर्किने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?