+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भारतीय समूहले बेच्यो मणिपाल अस्पताल, बतास र अटोवेजले किने

अमृत सुवेदी अमृत सुवेदी
२०७८ भदौ १० गते १९:३२

१० भदौ, पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो ।

उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज खरिद बिक्रीसम्बन्धी अन्तिम सम्झौता शुक्रबार हुने अटोवेजका पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘नेपालकै ऐतिहासिक र प्रतिष्ठित अस्पताललाई अझै व्यवस्थित हिसाबले सञ्चालन गर्ने लक्ष्यसहित हामीले खरीद गरेका हौं,’ पौडेलले भने, ‘इनिसियल सम्झौता गरिसकेका छौं ।’

यी दुई व्यवसायीले ३ अर्ब ५० लाख रुपैयाँमा मणिपाल कलेज किनेका उनीहरु निकट स्रोत बताउँछ । कलेजमा ६० प्रतिशत बतास र ४० प्रतिशत अटोवेज समूहले लगानी गरेका छन् ।

४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शय्याको अस्पतालको अनुमति लिएको छ । अस्पतालले आफ्नो स्वामित्व बाहेक पनि १०० रोपनी लिजमा लिएको छ । मेडिकल कलेजमा अहिले १ सय विद्यार्थीले एमबीबीएस अध्ययन गरिरकेका छन् । मणिपालमै बीएस्सी नर्सिङ, स्टाफ नर्ससमेत पढाइ हुँदै आएको छ । मणिपालमा भारतदेखि धेरै विद्यार्थी एमबीबीएस अध्ययन गर्न आउने गरेका छन् ।

मणिपालले पोखरा महानगरपालिकालाई जग्गा शुल्क, करबापत २८ करोड रुपैयाँ तिर्न बाँकी छ । कलेजले विभिन्न दायित्व र अन्य ठाउँमा गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी छ ।

‘अहिलेसम्म कलेजले तिर्न बाँकी सबै आर्थिक दायित्व अस्पतालले नै ब्यहोर्छ । पुरानो दायित्वको स्वामित्व पनि लिने गरी अन्तिम सम्झौता हुन्छ,’ पौडेलले भने, ‘लक्ष्मी बैंकमार्फत फाइनान्सिङ गरी हामीले सञ्चालन गर्दैछौं ।’

मणिपालको इतिहास

मणिपाल नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालनमा आएको शिक्षण अस्पताल हो । मणिपालले पोखरामा स्वास्थ्य शिक्षाको सुलभ अवसरमात्रै दिएन, विदेशी लगानीकर्तासमेत भित्र्याएको थियो ।

भारतीय लगानीमा पोखराको एक पाखोमा खुलेको मणिपालसँगै त्यो क्षेत्रमा विकासको ढोका पनि खुलेको थियो । काहुँडाँडाको काख फूलबारीमा स्थापित मणिपालले सेवा सुविधा र विकासका हिसाबले पनि त्यस क्षेत्रलाई हराभरा नै बनाइदियो ।

भारतका विभिन्न ठाउँमा मणिपाल अस्पताल चलाइरहेको समूहले पोखरामा मेडिकल चलाएर विकाससँगै ठूलो रोजगारी पनि सिर्जना गरेको थियो । मणिपालमा ११ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

२०५१ सालमा मणिपाल समूहले पोखरा र जनकपुरमा एक साथ अस्पताल बनाउन थालेको थियो । सशत्र विद्रोहको कारण जनकपुरमा केही संरचना बनेर पनि अलपत्र प¥यो । तर, पोखरामा भने आकर्षक भवनसहित सेवा सञ्चालन गरेको थियो ।

विभिन्न माग राख्दै मणिपालमा कर्मचारी र चिकित्सकले वर्षेनी आन्दोलन गर्दै आएका छन् । यही जेठ महिनामा पनि चिकित्सक तथा कर्मचारीले सेवा सुविधा वृद्धिको माग राख्दै आन्दोलन भएको थियो । कर्मचारी आन्दोलनका कारण भारतीय समूहले मणिपाल बिक्री गर्न खोजेको यसअघि नै सार्वजनिक भएको थियो ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?