
५ असोज, काठमाडौं । अफगानिस्तानमा सत्ता चलाइरहेको तालिबानले बालिकालाई सम्भव भएसम्म छिटै विद्यालय फर्काइने बताएको छ । नयाँ सरकारमा महिलाको अवस्था के हुन्छ भन्ने आशंका बढिरहेको अवस्थामा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् ।
मंगलबार काबुलमा सञ्चारकर्मीसँगको कुराकानीमा मुजाहिदले अहिले यस विषयको टुङ्गो लाग्न बाँकी रहेको बताउँदै विद्यालय जाने बालिकाहरु सकेसम्म छिटै कक्षामा फर्किने बताएका छन् ।
शनिबार तालिबानको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पुरुष शिक्षक र विद्यार्थीहरुले आफ्नो शैक्षिक कक्षा लिन निर्देशन दिएको थियो । यद्यपि महिला शिक्षक तथा विद्यार्थीको विषयमा भने केही उल्लेख गरिएको थिएन ।
तालिबानको शिक्षासम्बन्धी नयाँ नियमअनुसार बालिका तथा महिलालाई केवल महिला शिक्षक वा महिला शिक्षक नभएको अवस्थामा आचरण स्वच्छ भएका पुरुष शिक्षकले मात्र पढाउन सक्छन् । त्यस्तै युनिभर्सिटीहरुमा अध्ययन गर्ने महिलाले भने पुरुष साथीभन्दा छुट्टाछुट्टै बसेर पढ्नुपर्छ ।
तालिबानका प्रवक्ता मुजाहिदले बालिकाहरु विद्यालय फर्किनुअघि सिकाइको लागि सुरक्षित वातावरण बनाउनु जरुरी रहेको बताएका छन् । यद्यपि त्यसका लागि के गरिनुपर्छ भन्ने विषयमा भने उनले केही बताएका छैनन् ।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि उसले महिला अधिकारको रक्षा गरिने र उनीहरुलाई शिक्षा तथा काम गर्ने अधिकार दिइने बताएको छ । तर, केहीले भने आफूहरुले तालिबानको शासनमा काम गर्ने वा बाहिर निस्किने अनुमति नपाएको गुनासो गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4