+
+

गण्डकी र प्रदेश २ का मुख्यमन्त्रीबीच भेट : केन्द्रीकृत मानसिकताविरुद्ध मिलेर लडौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १९:५९

६ असोज, पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली पोखराको भ्रमणमा आएको छ । सो क्रममा दुई मुख्यमन्त्रीबीच संघीयता कार्यान्वयन, प्रदेशको अधिकारलगायतका विषयमा छलफल भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेशलाई बलियो बनाउन संघ सरकारसँग राजनीतिक र कानुनी लडाइँ जारी राखेको बताए । गण्डकीका मुख्यमन्त्री पोखरेलले अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न संघीय सरकारलाई घच्घच्याउनु आवश्यक रहेको धारणा राखे ।

मुख्यमन्त्री पोखरेलले जनताको चाहना बमोजिम काम गर्न प्रदेश सरकारलाई चुनौती रहेको बताए । ‘संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘त्यसैले आगामी दिनमा हाम्रा बीचको सहकार्य अझ घनिभूत बनाउन आवश्यक छ ।’

राजश्वको बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई थोरै दिएको भन्दै मुख्यमन्त्री पोखरेलले रकम बढाउन पहल गर्नुपर्ने बताए ।

प्रदेशमा पर्याप्त कर्मचारी नभएको, प्रदेशलाई शान्ति सुरक्षाको अधिकार नदिएको उनले गुनासो गरे । ‘ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा वाधक कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान दिएको छैन ।’

ठूूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा प्रदेशको संलग्नता बढाउनुपर्ने बताए । उनले मुख्यमन्त्रीहरुबीच साझा सरोकारका विषयमा छलफल र अनुभव आदान प्रदान गर्नुपर्ने बताए ।

मुख्यमन्त्री राउतले संघीयतालाई मजबुत बनाउन आफूहरुले निकै संघर्ष गर्नुपरेको बताए । उनले २०७५ भदौ २२ गते पोखरामै भएको मुख्यमन्त्रीहरुको भेलाको स्मरण पनि गरे ।

‘केन्द्र र ६ प्रदेशमा कम्युनिस्ट पार्टीकै सरकार थियो, अधिकार हस्तान्तरण गर्न असहज थिएन, राउतले भने, ‘त्यतिबेला प्रधानमन्त्रीज्यूले प्रदेशको कुरा सुन्न नै चाहनुभएन ।’ अधिकारकै लडाइँका क्रममा आफूहरु संघ सरकारसँग मुद्दा लडिरहेको बताउँदै अधिकार नपाएसम्म संघर्ष जारी रहने उनको भनाइ थियो ।

भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तिकरण, सरसफाइजस्ता अभियान थालेको उनले बताए ।

विकासका सवालमा प्रदेश नम्बर २ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए । सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?