 
																			बार्सिलोना। गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनएको चुनाव सार्नु आपत्तिजनक भएको बताएका छन् ।
टिम कुलद्वारा बुधबार आयोजित खुला डबलीमा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले एजेन्डा मात्रै तयार गर्ने हो, महाधिवेशन स्थगित गर्ने वा चुनाव सार्ने उसलाई कुनै अधिकार छैन।’
उनले परराष्ट्र मन्त्रालयको पत्र देखाएर दशौं महाधिवेशन स्थगित गर्नु र चुनाव सारिएको घोषणा गर्नु गलत अभ्यास भएको बताए । ‘डेलिगेट्स चयन प्रक्रियालाई पारदर्शी गर्नुको साटो बरु चुनाव सार्ने कुरा भएको छ । संसारभरका गैर आवासीय नेपालीलाई चुनाव सार्ने कुरा मान्य हुने छैन’, आचार्यले भने, ‘छिटोभन्दा छिटो अधिवेशन साथसाथै चुनाव पनि गर्नुपर्छ । अहिले सम्पूर्ण एनआरएनहरुको भावना विपरित काम भइरहेको छ ।’
‘हामी संस्थालाई कसरी हुन्छ बचाउनुपर्छ भनेर, सधैं लोयल रहेर, संस्थाको मर्यादा बचाउन लागि परेका छौं । चुनाव सार्ने काम संस्थाको हितमा छैन’, आचार्यले भने, ‘हामीले संयम राखी राखेका छौं, धैर्य गरेका छौं । तर एउटा पक्षले निरन्तर सिस्टमलाई दुरुपयोग गर्न खोजिरहेको छ ।’
उनले संस्थालाई धरासायी बनाउने काम भएको आरोप लगाए। उनले भने, ‘ संस्थालाई धरासायी बनाउने काम भएको छ। यो वास्तवमा मान्य हुने छैन । जे भइरहेको छ, राम्रो भएको छैन ।‘ उनले सबै एनआरएनए अभियन्ता र मिडियालाई सत्य र न्यायको पक्षमा बुलन्द रुपमा बोल्न आह्वान पनि गरे।
आचार्यले ‘छलफल गरौं, कुरा गरौं’ भनेर अल्झाउने काम नगर्न नेतृत्वलाई आग्रह पनि गरे । ‘हामी फेरि पनि यो संस्थाप्रति जिम्मेवार छौं, राम्रो बनाउने र बचाउनेतिर लागिरहेका छौं । नेतृत्वबाट भए गरेका गल्ती ढाकछोप गरेर अगाडि बढ्ने काम भयो भने मान्य हुने छैन,’ उनले भने।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4