
९ मंसिर, काठमाडौं । जोडी परेवा आफैंमा प्रेमको प्रतीक हो । परेवाको जस्तो प्रेम, हाँसको जस्तो चाल, मयूरको जस्तो नाच, मौरीको जस्तो एकता, कुकुरको जस्तो स्वामीभक्त, काग जस्तो चलाख र गाई जस्तो साधु प्राणी संसारमा उदाहरणीय प्राणी मानिन्छन् ।
परेवा शान्तिको प्रतीक पनि हो । यही परेवाको प्रेमक्रीडा आफैंमा रोचक र लोभलाग्दो देखिन्छ । परेवाको प्रेम जीवन आफैंमा रोचक हुन्छ । भाले परेवाले पोथीलाई लामो समयसम्म फकाएर प्रेमक्रीडामा रमाउने परेवाको भालेपोथीमा भावनात्मक सम्बन्धको समेत प्रचुरता पाइन्छ । विशेषगरी घरपालुवा पोथीको वियोगमा झोक्राएर शोक मनाउने परेवाको आफ्नो छुट्टै दम्पती र जोडी पनि हुन्छ ।
परेवा र मान्छेको सम्बन्ध निकै लामो समयदेखिको छ । कुनै समय मान्छेको सूचनाको सम्वाहकको रुपमा रहेका परेवाहरु केही वर्षअघिसम्म घरघरमा पालिन्थे । तर पछिल्लो समय घरमा परेवा पाल्ने क्रम गाउँघरमा समेत कम भएपछि परेवाहरु मन्दिर वरपर मात्रै सीमित हुन थालेका छन् । बिहीबार कमलादीको गणेशस्थानमा देखिएका परेवाको प्रेमक्रीडाका तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया 4