+

पाचन प्रणाली : हामीले खाएको खाना कसरी प्राण र ऊर्जामा रुपान्तरण हुन्छ ?

२०७८ मंसिर  १५ गते १२:३६ २०७८ मंसिर १५ गते १२:३६
पाचन प्रणाली : हामीले खाएको खाना कसरी प्राण र ऊर्जामा रुपान्तरण हुन्छ ?

१५ मंसिर, काठमाडौं । मुखमा राखको खानालाई दाँतले टुक्राउने र मसिनो बनाउने गर्छ । र्‍यालले हामीले चपाएको खानालाई रसिलो बनाइदिन्छ । जिब्रोले ओल्टाइपल्टाइ चलाउनुका साथै घोल्ने काम पनि गर्छ । खाना चपाएर रसिलो र नरम बनेपछि हामी त्यसलाई निल्छौं । निलेको खाना घाँटी, खानानली हुँदै आमाशयसम्म पुग्छ ।

आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ र त्यसमा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गरिदिन्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउने काम गर्छ । ड्युडेनमबाट खाना जेजुनममा जान्छ र त्यहाँ पनि विभिन्न पाचन रसहरू निस्कन्छ । जसले खानालाई अझै मसिनो र नरम बनाइदिन्छ ।

त्यसपछि सानो आन्द्राको इलियममा भएका भिलाइले पोषक तत्वलाई शोषण गर्छ । भिलाइमा रक्तकोषिका भएका कारण शोषण गरिएका पौष्टिक तत्व शरीरको विभिन्न कोषहरूमा पुर्‍याइदिन्छ । शोषण गरेर बोकिरहेको छोक्रा ठूलो आन्द्रामा जान्छ र पानीको शोषण हुन्छ । त्यहाँ सूक्ष्म जीवाणुले नपचेका खानालाई अझ टुक्राउने र कुहाउने गर्छ । अन्तमा ती नपचेका र शोषण गरी बाँकी रहेको भाग दिसाको रूपमा बाहिर निस्कन्छ ।

सामान्यतया हामीले खाने खानादेखि दिसाको रुपमा फ्याँक्ने विकारको पदार्थसम्म बन्ने प्रक्रिया यही हो । तर यो प्रक्रियामा हाम्रो मस्तिष्कको भूमिका यसमा समेटिएन । तर के मस्तिष्कको यसमा कुनै भूमिका हुँदैन त ?

कुनै पनि खानालाई कति सहजै पचेको छ कि छैन ?  भन्ने कुरा खाने मान्छेको मानसिकतामा आधारित हुन्छ । यो कुरा हामीले पनि महसुस गरेको कुरा हो । कुनै पनि शारीरिक थकानबिना पनि हामीलाई दिनभरि मानसिक थकान महसुस गर्ने मान्छेले साँझमा धेरै भोकाएको महसुस गर्छन् । यसले पनि खाना र भोजनको पाचन प्रणालीबीच अन्योन्याश्रित सम्बन्ध छ भन्न सकिन्छ ।

पोषणविद् इन्द्रप्रसाद सिटौला खानाको पाचन प्रणाली र मान्छेको मानसिकताको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको बताउँछन् । उनी यसको पाचन कार्यमा पनि मानसिकताले ठूलो भूमिका खेल्ने भएकोले खाना खाने बेलामा अन्यत्र ध्यान दिन नहुने बताउँछन् । उदाहरण दिँदै उनी भन्छन्, ‘खाना खाने बेलामा हाम्रो ध्यान कहाँ पुगेको छ, त्यसले पनि पाचन प्रणालीमा असर गर्छ । सामान्यतया मस्तिष्कको पाचन प्रणालीमा प्रत्यक्ष संलग्नता नदेखिए पनि यसको भूमिका भने महत्वपूर्ण हुन्छ ।’

सद्गुरुले विभिन्न अन्तर्वार्ता एवं मन्तव्यहरूमा मस्तिष्क र खाली पेटको बारेमा चर्चा गर्ने गरेका छन् । जस्तो पेट खाली रहँदा दिमागले उत्कृष्ट ढंगले काम गर्छ भनेर विभिन्न अध्ययनमा समेटिएको विषयलाई व्याख्या गर्दै सिटौला भन्छन्, ‘खाली पेटले घ्रेलिन नामको हर्मोन उत्पादन गर्छ । त्यही हर्मोनले पेट खाली छ भनेर दिमागमा सन्देश पठाउँछ । सो हर्मोनले यसका साथै अन्य काम पनि गर्छ । घ्रेलिनले दिमागमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रलाई सक्रिय बनाउँछ ।’ हिप्पोक्याम्पसले दिमागको त्यो क्षेत्रलाई सिक्ने, स्मरण गर्ने र स्थानसम्बन्धी अनुसन्धानको नेतृत्व गर्दै हामीलाई सधैं सतर्क, क्रियाशील र ध्यान केन्द्रित रहन मद्दत गर्छ भन्ने उनको मत छ । त्यसैले पनि खानाको पाचन प्रणाली र मस्तिष्कको बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

कसरी खाने खाना ?

खाना कसरी खाने ? भन्ने कुराले पनि पाचन प्रणालीमा ठूलो असर गर्छ । यति मात्रै होइन मान्छेको मानसिकताले पनि यसमा असर गर्छ । जस्तो खाना हातले खाने कि चम्चाले ? यो कुरा धेरै बहसमा आउने गर्छ । यसमा पनि मस्तिष्क र खानाको सम्बन्ध देखाउन खोजिएको छ । जस्तो हातले खाना खाँदा खानाको तापक्रम र त्यसको अवस्थालाई छालाले स्मरण गरेर नसामार्फत मस्तिष्कसम्म पुर्‍याउँछ भनिन्छ । खाना पेटमा पुग्नुभन्दा पहिले मस्तिष्कले थाहा पायो भने पहिले नै त्यसमा शरीरका पाचनतन्त्रहरु सचेत भएर तयारी अवस्थामा रहेका हुन्छन् ।

त्यसैले पनि पाचन प्रणालीले राम्रोसँग काम गर्छ । तर चम्चाले खाँदा त्यो खाना एकैपटक मुखमा पुगेपछि मात्रै मस्तिष्कले थाहा पाउने हुँदा पाचन प्रणालीले तुलनात्मक रुपमा कम काम गर्छ भन्ने मान्यता छ । मनोविद् एवं पोषणविद्हरु पनि थकान महसुस भएको बेलामा पाचन प्रणालीले कम काम गर्ने बताउँछन् ।

पोषणविद् सिटौला थकान एवं बढी चिन्ता महसुस भएको बेलामा पाचन प्रणालीले तुलनात्मक रुपमा कम काम गर्ने बताउँछन् । यसबाहेक खाना खाने समय र खाने शैलीले पनि यसलाई असर गर्ने उनी बताउँछन् ।

पाचन प्रणालीलाई स्वस्थ राख्नको लागि खाएको एक गाँसलाई ३२ पटक चपाउनुपर्ने शास्त्रीय मान्यता छ । तर योगले २४ पटक चपाउन भन्छ । पोषणविद्हरु खाना जति धेरै चपायो उति त्यसको पाचन क्षमता बढी हुने दाबी गर्छन् । सामान्यतया हामीले खाएको खाना १२–१८ घण्टासम्म शरीरको पाचन प्रणालीमै हराउनु स्वस्थ शरीरको संकेत हुने बताउँछन् ।

पाचन यन्त्र कसरी सुधार्ने ?

पाचन यन्त्र सुधार्ने सरल र प्राकृतिक काइदा हो, ताजा खानेकुरा सेवन गर्ने । सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्नु नै यसको सही उपाय हो । खानाका लागि निश्चित तालिका अपनाउने, बेलाबेलामा थोरैथोरै खानेकुरा खाने । खाना खाँदा आरामसाथ स्वाद लिएर खाने गर्दा यसले फाइदा पुग्न सक्छ । खाना खाइसकेपछि कम्तीमा पाँच मिनेट बज्रासनमा बस्नु पनि पाचनको लागि राम्रो हुन्छ । बिहान उठ्नासाथ मनतातो पानी सेवन गर्ने र मलत्याग गर्ने बानी पनि आवश्यक हुन्छ । यसबाहेक पाचन प्रणाली सुधारको लागि निम्न उपाय अपनाउन सकिन्छ ।

  • नियमित व्यायाम गर्ने
  • बिहानको ताजा हावा लिने
  • काममा ध्यान लगाउने र खाने बेला खानामा ध्यान दिने
  • नियमित आवश्यक मात्रामा पानी पिउने

आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्वारा सफा राख्न सल्लाह दिन्छन् । विषहरण क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ ।

खाना पाचन प्रणाली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?