
२६ मंसिर, काठमाडौं । खगराज बरालद्वारा लिखित ‘स्यानी’ उपन्यासका विषयमा शनिबार काठमाडौंमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयमा आयोजित अन्तरसंवादमा वक्ताहरुले उपन्यासमाथि आफ्नो दृष्टिकोण राखेका छन् ।
प्राध्यापक डा.जयराय आचार्यले ‘स्यानी’ उपन्यासको शिल्प पक्ष आकर्षक र काव्यमय भएको बताए । ‘स्यानी’ आत्म उपन्यास हो । उपन्यासको शिल्प पक्ष ज्यादै आकर्षक र काव्यमय भएको छ,’ उनले भने । उपन्यास पढ्दा कुनै भिडियो वा चलचित्रले गर्ने वर्णन भन्दामाथि शब्दले हृदयभित्रका सूक्ष्म अनुभूतिगम्य विषयलाई सम्प्रेषण भएको महसुस भएको उनको भनाइ छ ।
कार्यक्रमका अर्का वक्ता डा. चन्द्रकला घिमिरेले उपन्यास पहाडी हिन्दू समुदायको चालचलन, विश्वास, प्रचलन, रीतिरिवाज, संस्कृति, चाडपर्व, लोक संस्कारका लागि एउटा विश्वविद्यालय नै भएको दाबी गरिन् । बरालले वैयक्तिक अनुभव र भोगाइलाई औपन्यासिकता दिएर नयाँ प्रयोग गरेको बताइन् ।
उपन्यासका लेखक खगराज बरालले उपन्यास आफ्नो बाल्यकालको अनुभूति र आमाको वियोगको सम्मिश्रण भएको बताए । आफ्नो गाउँको परिवेशमा प्रचलनमा रहेका भाषा, चाडपर्व, रीतिरिवाज, लोकगीत, विश्वास, आस्थालाई भावी पुस्ताले पनि स्मरण गरुन् भनी आफूले उपन्यास लेखेको र उपन्यास लेखेपछि आफूलाई मातृवियोगको पीडाबाट केही मात्रामा भए पनि मुक्त भएको उनले उल्लेख गरे ।
पाठकका तर्फबाट आफ्नो विचार राख्दै पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कमल सिंह बमले उपन्यासमा प्रयुक्त भाषा र आञ्चालिकताले आफूलाई निक्कै आकर्षण गरेको बताए ।
उपन्यासलाई साङ्ग्रिला बुक्स प्रालिले प्रकाशन गरेको हो ।
प्रतिक्रिया 4