
२९ मंसिर, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार वार्ता हुँदैछ । पश्चिमी मुलुकसँग रुस र चीनको तनाव बढिरहेका बेला दुबै नेताले भर्चुअल वार्ता गर्न लागेका हुन् । रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार हुने भर्चुअल वार्तामा अमेरिका र नेटोको ‘आक्रामक’ अभिव्यक्तिबारे कुराकानी हुने बताए ।
‘अन्तर्राष्ट्रिय अवस्था र खासगरी युरोपेली महाद्धिपको अवस्था यतिबेला निकै तनावपूर्ण छ र सहयोगी राष्ट्र बीच छलफल आवश्यक छ’, पेस्कोभलाई उदृत गर्दै अल जजिराले लेखेको छ, ‘नेटो तथा अमेरिकाले निकै आक्रामक अभिव्यक्ति दिएको हामीलाई थाहा छ अनि यस्तो अवस्थामा हामी र चिनियाँबीच छलफल हुन आवश्यक छ ।’
रुस र चीनले सैन्य रुपमा मात्रै सहकार्य गरिरहेका छैनन् । दुबै मुलुकले आर्थिक एवं कूटनीतिक क्षेत्रमा समेत सम्बन्ध बलियो बनाउँदै लगेको देखिन्छ ।
पुटिनले पश्चिमा मुलुकसँग सम्बन्ध बिग्रिरहेका बेला चीनसँगको साझेदारीलाई अमेरिकी प्रभाव सीमित पार्ने माध्यमको रुपमा प्रयोग गर्दै आएका छन् । सीले समेत रुससँग सम्बन्धि घनीभूत पारेर अमेरिकालाई सन्तुलनमा ल्याउन खोजेको प्रस्ट हुन्छ ।
केही महिनायता पश्चिमी मुलुकसँग रुस र चीन दुबैको सम्बन्ध चर्किरहेको छ ।
युक्रेनी सीमा नजिकै रुसले हजारौं सेना र हतियार तैनाथ गरेपछि अमेरिकासहित नेटो मुलुकले विरोध जनाउँदै आएका छन् । युक्रेनमाथि आक्रमण गर्ने उद्देश्यले सीमानामा सैनिक र हतियार तैनाथ गरेको उनीहरूको आरोप छ । तर रुसले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
यता, पश्चिमा मुलुकले उइगुर मुस्लिम, मानव अधिकार र हङकङको विषयलाई लिएर चीनको आलोचना गरिरहेका छन् । त्यस्तै, बेइजिङ र वाशिङ्टनबीच दक्षिण चिनियाँ सागर, ताइवानसहित व्यापार तथा प्रविधिको क्षेत्रमा समेत मतभेद देखिँदै आएको छ ।
प्रतिक्रिया 4