
६ पुस, काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद बैठक चलाएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार एमालेका अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन् ।
उनले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भिर ध्यानाकर्षण गराए । उनले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे ।
सांसद सुवालले भने, ‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन । कार्यसूचि अगाडि बढाउनु हुँदैन । संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुन्छ । संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ । त्यसको हामी विरोध गर्छौं। ’
बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गर्दै संसदको बेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरिरहेका छन। तर एमाले सांसदहरुको चर्का नाराबाजी बीच पनि संसद बैठक जारी छ ।
प्रतिक्रिया 4