+
+
सार्वजनिक स्थानमा खोपकार्ड :

कतिले खोप लगाएकै छैनन्, लगाएकाले पनि कार्ड बोक्दैनन्

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ ७ गते १९:५२

७ माघ, काठमाडौं । ‘कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम उच्च छ । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेकाले सार्वजनिक स्थलमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाऔँ, खोप लगाउनु भएको छैन भने नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनुस् । सुरक्षा सवाधानी अपनाऔँ, कोरोना संक्रमणबाट जोगिऔं ।’

नयाँ बानेश्वर चोकमा राखिएको स्पिकर निरन्तर जनचेतनामूलक सन्देश बजिरहेको छ । सँगै मास्क पनि राखिएको छ ।

महानगरी प्रहरी परिसर, काठमाडौंले कोरोना संक्रमण फैलन नदिन ‘तपाईको मास्क खोई’ नामक अभियान चलाइरहेको छ । बानेश्वरमा खटिएका प्रहरी सहायक निरीक्षक (असई)का अनुसार मास्क नलगाई हिँडेकाहरुलाई मास्क लगाउन अनुरोध गर्ने गरिएको छ । उनीहरुसँग नभए त्यहाँ राखिएको मास्क उपलब्ध गराइन्छ ।

कोरोना नियन्त्रणका लागि जारी भएको प्रतिबन्धात्मक व्यवस्थाअनुसार शुक्रबारदेखि सार्वजनिक स्थानहरुमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य गरिएको छ । तर कार्यान्वयन कसले गर्ने भन्ने अलमल देखिएको छ ।

खोप नलगाएकाहरु पनि सडकमा प्रशस्तै भेटिन्छन् । कतिपयलाई खोप लगाउन कहाँ जाने भन्ने समेत थाहा छैन । त्यसैले प्रहरीले पनि मास्क लगाएको छैन भने लगाउनुस् भनेर दिने गरेको छ, खोपकार्ड खोज्ने गरेको छैन ।

‘सार्वजनिक स्थलमा खोप कार्ड भनिए पनि खोप कार्ड देखाउनुस् भनेर भन्न सक्दैनौं,’ बानेश्वर चोकमा खटिएका एक प्रहरी भन्छन्, ‘अधिकांशसँग खोपकार्ड हुँदैन । खोपकार्ड छैन भने के गर्ने ?’

उनले अघि भने, ‘मास्क चाहिँ हेर्छौँ, छैन भने हामी दिन्छौं ।’

०००

बानेश्वर चोकमा ठूलै भीड छ । पसल तथा फुटपाथमा किनमेल गर्नेहरुका आउजाउ चलिरहेको छ । साँझ यो भीड अझ बढ्छ ।

त्यही भीडमा भेटिए रामेछाप घर भई बुद्धनगरमा बस्दै आएका भीमबहादुर परियार । फुटपाथमा कपडा सिलाउने काम गर्दै आएका उनले केही महिना पहिले भेरोसेल खोप लगाएका थिए । ‘खोपकार्ड कोठामै छ होला’ उनले सुनाए ।

भीमबहादुरसँगै बसेका गँगाबहादुरले भने अहिलेसम्म खोप लगाएका छैनन् । साथीभाइसँगै उनले पनि खोप लगाउन चाहेका थिए । तर नागरिकता नभएकाले खोप लगाउन नपाएको सुनाए । ‘नागरिकता गाउँमा नै थियो, नागरिकता नभएपछि खोप लगाउन नपाइने रहेछ,’ उनी भन्छन्, ‘अहिले लगाउन पाइँदैन, लगाइदिए पो लगाउनू ।’

बानेश्वर चोकमा भेटिएका एक युवकले भने स्वास्थ्यमा असर गर्छ भन्ने (भ्रमपूर्ण सूचना) सुनेकाले आफूले कोरोना खोप नलगाएको सुनाए । अहिले सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेपछि खोप नलगाउनु गल्ती भएछ भन्ने लागेको छ । भन्छन्, ‘अहिले लगाउन मन छ, तर फर्स्ट डोज नै पाइँदैन रे !’

उनीहरु त प्रतिनिधि पात्रहरुमा मात्रै हुन् । अहिले कतिपयले खोप लगाएकै छैनन्, लगाएकाले पनि बोक्दैनन् । मास्क नलगाई हिँड्नेहरु पनि प्रशस्तै भेटिन्छटन् । मास्क लगाउने कतिपयले चिउँडोमा लगाउँछन् ।

सपिङ मल : कतै सुरक्षा, कतै बेवास्ता

सरकारले शुक्रबारबाटै सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतमा एक पटकमा २० जनालाई मात्र प्रवेश दिने भनेको छ र, मास्क, भौतिक दुरीका साथै खोपकार्ड अनिवार्य गरेको छ । पछिल्लो समय सपिङ मलहरुमा भीडभाड त केही कम भएको छ, तर खोपकार्ड लगायतका नियम पालनामा ध्यान दिइएको छैन ।

 

शुक्रबार दिउँसो बी एण्ड एम नामक सपिङ मलमा पुग्दा किनमेल गर्न आउनेहरुलाई सहजै प्रवेश दिइएको थियो । मास्क लगाए नलगाएको, खोपकार्ड भए नभएको केही चेकजाँच गरिएको थिएन । नजिकैको आइप्लेक्स मलमा भने खोप कार्ड देखाएपछि मात्र प्रवेश दिइएको छ । मास्क लगाएकाहरुलाई मात्र प्रवेश दिइएको छ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?