+
+

आईपीएल अक्सन आज : सन्दीप लामिछानेमा नजर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते ८:२३

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् ।

सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत मैदानमा खेल्दैछ । त्यो खेल ११:४५ मा हुनेछ ।

नेपालीको ध्यान ओमानतर्फ हुनेछ नै योसँगै भारतको बेंगलुरुमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि हुने मेगा अक्सनमा पनि हुनेछ ।

कारण नेपालबाट एक्लो खेलाडीको रुपमा उनै सन्दीप लामिछाने मात्र अक्सनका लागि समावेश छन् । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि अक्सनका लागि भने सन्दीप मात्र छनोटमा परेका हुन् ।

त्यसैले यसपटक सन्दीपलाई कुन टिमले अनुबन्ध गर्ला ? सन्दीप फेरि आईपीएलमा छनोट होलान् वा नहोलान् भन्ने चासोको विषय बनेको छ ।

सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् । सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यु गरेका सन्दीपले दुई सिजन खेले । तर २०२० को सिजन भने उनी पूरा सिजन बेन्चमा रहे । त्यसपछि दिल्लीले उनलाई रिलिज गर्‍यो । गत सिजनको मिनी अक्सनमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेन ।

यसपटक दुई नयाँ टिम थपिनु अनि मेगा अक्सन हुनुले पनि सन्दीपलाई कुनै न कुनै टिमले अनुबन्ध गर्ने सम्भावना बढी छ ।

आईपीएल त्यस्तो प्रतियोगिता हो जुन राष्ट्रिय टिम पनि हरेक खेलाडीको दोस्रो रोजाइमा पर्छ । विश्वको सबैभन्दा चर्चित र ठूलो फ्रेन्चाइज लिग र पैसा र ग्लामर पनि उत्तिकै हुने यस लिगमा खेल्न विश्वभरका खेलाडीको चाहना हुन्छ । नेपालबाट पनि सन्दीपले त्यो अवसर पाइसकेका छन् ।

आईपीएलमा छानिनका लागि धेरै प्रतिस्पर्धा पनि हुन्छ । त्यसैले अन्य फ्रेन्चाइज लिगमा करोडमा अनुबन्ध भए पनि सन्दीपले यसपटक आईपीएल अक्सनमा आफ्नो बेस प्राइज ४० लाख भारु (६४ लाख नेरु) मात्र राखेका छन् ।

सन्दीपसहित एसोसिएट राष्ट्रबाट यस पटक ७ खेलाडी छन् । जसमा अधिकांश बलर नै छन् । अक्सनका लागि सन्दीप ११औं सेटमा छन् भने उनको नाम ९४औं नम्बरमा छ । यस सेटमा सन्दीपबाहेक अन्य खेलाडी अनक्याप्ड बलर छन् । सन्दीपसँगै अफगानिस्तानका युवा बलर नुर अहमेद यस सेटमा छन् । बाँकी ६ खेलाडी भारतीय छन् ।

आईपीएल खेलिसकेका भारतका मुरुगन आश्विन, केसी कारिएप्पन, श्रेयास गोपा, जगजित सुचितासहित आर साई किशोर र एम सिद्धार्थ यस सेटमा छन् ।

 मेगा अक्सनमा ६०० खेलाडी

यसपटक मेगा अक्सन भएकोले विश्वका ठूला खेलाडीहरू पनि अक्सनमा जानेछन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दिल्ली क्यापिटल्सका कप्तानी गरिसकेका भारतका श्रेयास अयेरसम्म अक्सनमा समावेश छन् ।

यसपटक मार्की सेटमा १० खेलाडी छन् । सुरुमै रहेको यस सेटमा वार्नर र श्रेयास अयेरसँगै रवीचन्द्र आश्विन, शिखर धवन र मोहम्मद शामीसहित दक्षिण अफ्रिकाका कागिसो रबाडा, क्विन्टन डे कक र फाप डु प्लेसिस, अष्ट्रेलियाका प्याट कमिङ्स र न्युजिल्याण्डका ट्रेन्ट बोल्ट छन् ।

यी सबै खेलाडीको बेस प्राइज २ करोड भारु छ र उनीहरूमाथि ठूलो बोली लाग्ने अनुमानसमेत छ ।

यसबाहेक भारतीय टिमका विकेटकिपर ब्याटिर इशान किसन, फास्ट बलर भुवनेश्वर कुमार, वेष्ट इन्डिजका अलराउण्डर ज्यासन होल्डर, भारतकै अलराउण्डर साहरुखानलगायत खेलाडीमा मुख्य केन्द्रमा रहेका छन् ।

बेंगलुरमा दुई दिन चल्ने अक्सनमा कुल ६०० खेलाडी समावेश छन् । जसमा सुरुको १८ सेटको कुल १६१ खेलाडीलाई क्रमैसँग अक्सनमा प्रस्तुत गरिनेछ । त्यसपछि भने फ्रेन्चाईजले नोमिनेट गरेको आधारमा खेलाडीहरूको अक्सन हुनेछ ।

आईपीएलमा प्रतिस्पर्धा गर्ने १० टिमले आफ्नो टिममा थोरैमा १८ खेलाडी राख्नुपर्नेछ भने बढीमा २५ जना सम्म राख्न पाउनेछन् । त्यसका लागि हरेक फ्रेन्चाइजसँगै ९० करोड भारु रकम हुनेछ ।

यसअघि खेलेका आठ फ्रेन्चाइजले आफ्नो टिमबाट केही खेलाडी रिटेन गरिसकेका छन् भने दुई नयाँ टिम लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्सले अक्सनअघि ३-३ खेलाडी अनुबन्ध गरेका छन् ।

रिटेन र अनुबन्ध गरेर १० टोलीले कुल ३३ खेलाडी अनुबन्ध गरिसकेका छन् । अब बाँकी खेलाडी फ्रेन्चाइजले अक्सनबाट लिनेछन् ।

आईपीएलको अक्सनरको रुपमा हग एडमेड्स रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?