+
+

हामीले कति प्लास्टिक खाइरहेका छौं ?

प्लास्टिकले वातावरणमा पाइने क्यान्सर गराउन सक्ने हानिकारक रसायनलाई पनि सोसेर राखेको हुन्छ र प्लास्टिकसँगै त्यस्ता रसायन पनि हाम्रो शरीरभित्र छिर्छन्।

महेश अचार्य महेश अचार्य
२०७८ चैत ९ गते १०:५४

अहिले विश्वले भोगिरहेको सबैभन्दा घातक प्रदूषणमध्ये प्लास्टिक प्रदूषण पनि एक हो। जी-२० लगायत अधिकांश विश्व सम्मेलनहरूमा प्लास्टिक प्रदूषण एजेन्डा बन्ने गरेको छ। प्लास्टिक हाम्रो जीवनको अभिन्न अंग बनेर बसेको छ। सन् १९०७ देखि नै प्लास्टिक प्रयोगमा आए पनि यसको अत्यधिक प्रयोग भने सन् १९५० को दशकदेखि हुन लागेको हो।

विश्व प्रसिद्ध जर्नल ‘साइन्स’ मा प्रकाशित एक लेखका अनुसार सन २०१९ मा मात्र विश्वभरि ३६८ मिलिएन मेट्रिक टन प्लास्टिक उत्पादन भएको थियो। सन् २०५० सम्म २६ बिलियन मेट्रिक टन प्लास्टिक उत्पादन हुने आकलन गरिएको छ र जसमध्ये लगभग आधा ल्यान्डफिल र वातावरणमा फ्याँकिनेछ। एक अध्ययनले सन् २०५० सम्ममा समुद्रहरूमा माछा भन्दा प्लास्टिक बढी हुने देखाएको छ। त्यसैले प्लास्टिक प्रदूषण विश्वव्यापी महामारीको रूपमा उदाइरहेको प्रष्ट रूपमा देख्न सकिन्छ।

सन् २०१५ को तथ्याङ्क अनुसार उत्सर्जित प्लास्टिकको ९ प्रतिशत ‘रिसाइकल’ गर्ने गरिएको, १२ प्रतिशत जलाइएको, र बाँकी सबै प्रकृतिमै जथाभावी विसर्जन गर्ने गरिएको पाइएको छ। प्लास्टिकजन्य पदार्थहरू माटोमा जैविक रूपमा नष्ट हुन सयौं वर्ष लाग्छ। प्लास्टिक सगरमाथादेखि मरियाना ट्रेन्चको गहिराइसम्म भेट्टाउन सकिन्छ। प्लास्टिकको फोहोरमा अल्झिएर, प्लास्टिक निलेर पचाउन नसकेको कारण समुद्रदेखि स्थल प्राणीहरूको ज्यान जाने गरेको छ।

नेपालमा पनि दैनिक उत्पादन हुने सहरी फोहोरको १६ प्रतिशत प्लास्टिकजन्य फोहोर हुने गर्छ। यसको अर्थ दैनिक २.७ टन प्लास्टिक फोहोर उत्पादन भइरहेको छ। काठमाडौंमा मात्र दैनिक ४७ लाख देखि ४८ लाख प्लास्टिकका झोला प्रयोग हुने गरेको छ।

माइक्रो प्लास्टिक

वैज्ञानिकहरूले लगभग २० वर्षदेखि माइक्रो प्लास्टिकको सम्भावित हानिबारे अध्ययन गरिरहेका छन्। ५ मिलिमिटर भन्दा साना प्लास्टिकका कणलाई माइक्रो प्लास्टिक भनिन्छ। १ माइक्रोमिटर भन्दा सानो साइजको प्लास्टिकको कणलाई नानो प्लास्टिक भन्ने गरिन्छ। यस्ता सूक्ष्म कणहरू आँखाले नदेखिने र एक ठाउँबाट अर्को ठाउँमा सहजै पुग्ने गर्छन्। प्लास्टिक प्रदूषण बारे अध्ययन गरिरहेका युनिभर्सिटी अफ प्लाइमाउथका वैज्ञानिक रिचार्ड थम्पसनले २००४ मा पहिलोचोटि माइक्रो प्लास्टिक भन्ने शब्दलाई प्रयोगमा ल्याएका थिए।

माइक्रो प्लास्टिक र नानो प्लास्टिकका कणहरू सिंथेटिक कपडा, गाडीका टायर, पानीको बोतल र अन्य प्लास्टिकजन्य सामानहरूबाट बन्ने गर्दछन्। जैविक, सूर्यको प्रकाश, पानी र अन्य वातावरणीय कारणको माध्यमबाट प्लास्टिकका वस्तुहरू टुक्रिएर माइक्रो र नानो प्लास्टिकका कणहरू बन्ने गर्छन्। हामीले दैनिक प्रयोग गर्ने कस्मेटिकका सामानहरूमा पनि माइक्रो प्लास्टिक मिसाइएको हुन्छ।

वैज्ञानिकहरूले गरेको अध्ययनले माइक्रो प्लास्टिकका कणहरू अहिले पृथ्वीको हरेक ठाउँमा छरिएर रहेको देखाएको छ। आर्क्टिकको हिउँ, अन्टार्टिकको बरफदेखि लिएर हामीले खाने नुन, बियर, खानेपानी, माटो, नदी र हावामा पनि माइक्रो प्लास्टिक भेटिएको छ। सगरमाथा क्षेत्रबाट संकलित हिउँका नमूनाहरूमा पनि माइक्रो प्लास्टिकका कणहरू भेटिएका थिए। त्यस्तै सिलबन्दी गरिएको बोतलको पानीमा समेत माइक्रो प्लास्टिकका कणहरू भेटिएका छन्।

विभिन्न अध्ययनले मानिसले निरन्तर रूपमा माइक्रो प्लास्टिक निलिरहेको देखाएका छन्। श्वास प्रश्वासको माध्यमबाट, खाना र पिउनेपानीको माध्यमबाट माइक्रो प्लास्टिकका कणहरू हाम्रो शरीर भित्र निरन्तर पसिरहेका छन्। मानिसको दिसाको नमुना अध्ययन गर्दा पनि प्लास्टिकका कणहरू भेटिएका थिए। यसले पनि हाम्रो शरीर भित्र प्लास्टिकका कणहरू छिरिरहेको देखाउँछ। तर दैनिक रूपमा हाम्रो शरीरभित्र कति जति संख्यामा प्लास्टिकका कणहरू छिर्छन् भन्ने कुरा अध्ययन अनुसार फरक फरक देखिएको छ।

सन् २०१९ मा ‘इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजी’ नामक जर्नलमा प्रकाशित अनुसन्धान नतिजा अनुसार एउटा वयस्क व्यक्तिले एक वर्षमा करिब ५२ हजार माइक्रो प्लास्टिकका कणहरू खान्छ। उक्त अनुसन्धान अमेरिकी नागरिकको खानपान बानीसँग तुलना गरेर गरिएको थियो। यसबाहेक, यदि कुनै व्यक्तिले बन्द बोतलको मात्र पानी पिउँछ भने एक वर्षमा थप करिब ९० हजार प्लास्टिकका कण उसको शरीर भित्र जान्छ। तर धाराको पानी पिउनेको शरीरमा भने थप करिब ४ हजार प्लास्टिकका कण मात्र जान्छन्।

सन् २०२० मा ‘नेचर’ जर्नलमा प्रकाशित एक लेख अनुसार त यदि शिशुलाई खुवाउनको लागि प्लास्टिकको बोतलभित्र तातोपानीमा दूध तयार गरिन्छ भने, शिशुले एक दिनमै १ मिलियन भन्दा बढी माइक्रो प्लास्टिकका कणहरू निल्न सक्छ। कुनै पनि मानिसको शरीरमा कति प्लास्टिकका कण प्रवेश गर्दछ भन्ने कुरा ऊ कहाँ बस्छ र उसको खानपान कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। खराब अवस्थामा त एउटा व्यक्तिले एक वर्षमा एउटा ‘क्रेडिट कार्ड’ बराबर प्लास्टिक निल्न सक्छ।

प्लास्टिकका सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा के कस्तो असर गर्छ भन्ने कुरा अहिले पनि अध्ययनकै चरणमा छ। केही अध्ययनहरूमा प्लास्टिकका कणहरूले हाम्रो कोषलाई मार्ने, कोषको डीएनएमा क्षति गर्ने र एलर्जी गराउन सक्ने देखिएको छ। प्लास्टिकका कणमा हानिकारक धातु र ब्याक्टेरिया पनि टाँसिएर रहेका हुन सक्छन्। यसका साथै प्लास्टिकले वातावरणमा पाइने क्यान्सर गराउन सक्ने हानिकारक रसायनलाई पनि सोसेर राखेको हुन्छ र प्लास्टिकसँगै त्यस्ता रसायन पनि हाम्रो शरीरभित्र छिर्छन्।

अहिले ल्यान्डफिल र वातावरणमा लगभग ५ बिलियन टन प्लास्टिक हुनसक्ने अनुमान गरिएको छ। यदि प्लास्टिक उत्पादन आजैबाट बन्द गरिए पनि ल्यान्डफिल र वातावरणमा पहिल्यैदेखि थुप्रिएर रहेको प्लास्टिक स–साना टुक्राहरूमा परिणत हुनेछ र माइक्रो प्लास्टिकको स्तर निरन्तर बढ्दै जानेछ। त्यसैले प्लास्टिक प्रदूषणको समस्यालाई पूर्ण रूपमा समाधान गर्न निकै चुनौतीपूर्ण रहेको छ।

प्लास्टिक प्रदूषणलाई कम गर्नको लागि एकल प्रयोग प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ र प्लास्टिकलाई ‘रिसाइकल’ गर्न प्रोत्साहन गर्नुपर्छ।

प्लास्टिकको विकल्पमा पुनःप्रयोग गर्न सकिने कागज वा कपडाबाट बनेका झोलाको प्रयोग गरेर पनि प्लास्टिकको प्रयोगलाई कम गर्न सकिन्छ। यसका साथै ‘बायोडिग्रेडेबल’ प्लास्टिकको प्रयोगलाई बढाउनुपर्छ। प्लास्टिकको उत्पादन नै कम गर्नेतिर ध्यान दिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?