
३० वैशाख अछाम । फर्जी मतका विषयमा विवाद हुँदा साँफेबगर नगरपालिका–११ बाब्लामा मतदानस्थलमा झडपका क्रममा तीन जना घाइते भएका छन् ।
कांग्रेस–समाजवादी गठबन्धन र नेकपा (एमाले) पक्ष बीचमा झडपका क्रममा शिक्षक तिलक कुँवरसहित तीन जना घाइते भएका स्थानीय मिनबहादुर कुँवरले जानकारी दिए ।
ढुंगा प्रहारबाट टाउकोमा चोट लागेका तिलकसहित तीनै जनाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा स्वतन्त्र उम्मेदवार पक्षधर र कांग्रेसबीचमा झडप भएपछि मतदान प्रक्रिया रोकिएको छ । झडपमा चार जना घाइते भएका छन् भने मतपत्र च्यातिएको छ ।
झडपका क्रममा ढुंगा प्रहार हुँदा तीन जना घाइते भएको पञ्चदेवल विनायक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइफायर समेत गरेको छ ।
फर्जी मतको विषयमा झडप हुँदा ढकारी गाउँपालिका–२ को कालिकेश्वरी मावि हिच्मामा रहेको मतदानस्थलमा प्रहरीले हवाइ फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ ।
फर्जी मतका विषयमा एजेन्टका बीचमा विवाद हुँदा झडप भएको हो । रोकिएको मतदान प्रक्रियामा सञ्चालनका लागि हाल बैठक बसिरहेको ढकारी गाउँपालिका निर्वाचन अधिकृत गणेशबहादुर सिंहले जानकारी दिए ।
मतपत्र सुरक्षित रहेको र मतदान प्रक्रिया सञ्चालनका लागि बैठक भइरहेको अधिकृत सिंहको भनाइ छ ।
प्रतिक्रिया 4