
११ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका, दाङकी स्यानी चौधरीले अहिले धेरैको ध्यान खिचेकी छन् । हुन पनि, कुनै राजनीतिक पृष्ठभूमि नभएकी उनी उपमेयर निर्वाचित भएकी छन् ।
‘दिदीघर’ नामक संस्थामा अनाथ बालबालिका हुर्काउँदै आएकी स्यानी एकाएक राजनीतिमा आउनु र सुरुमै उपमेयरमा निर्वाचित हुनु स्वयं उनकै लागि समेत अनपेक्षित कुरा थियो ।
‘पहिलो कुरा त राजनीतिमा आइन्छ भन्ने नै थिएन’ उनी भन्छिन्, ‘नेकपा एमालेले टिकट दिएर उत्प्रेरित समेत गरेपछि एकाएक उपमहानगरको उपप्रमुख बन्न पुगें ।’
२०६१ सालमा तुलसीपुर–६, मा ‘दिदीघर’ नामक संस्था खोलेर समाज सेवामा लागेकी व्यक्ति हुन् स्यानी चौधरी । उनको दिदीघरमा अहिले २४ जना अनाथ तथा असहाय बालबालिकाले आश्रय पाएका छन् ।
ती बालबालिकालाई पढाउने, हुर्काउने जिम्मा लिएकी उनले अकस्मात् राजनीतिमा तानिएर सिंगो उपमहानगरको जिम्मेवारी पनि लिएकी छन् ।
स्यानी कमजोर आर्थिक अवस्था भएको थारु परिवारमा जन्मिइन् । किसानीमा निर्भर परिवारलाई खान–लाउन पनि नपुग्ने, लेख्न पढ्न पाउनु धेरै परको कुरा भयो । स्यानीले बडो मुश्किलका साथ ३ कक्षासम्म पढ्न सकिन् ।
‘त्यतिबेला हाम्रो समुदायमा छोरीलाई पढाउनु हुँदैन भन्ने थियो’ उनले भनिन्, ‘मलाई जरी पनि पढ्नु थियो । मैले लुकेरै भए पनि पढेँ ।’ शिक्षाको यही भोकले कालान्तरमा स्यानीले राजनीति शास्त्रमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरिन् ।
अमेरिकाको सपना छोडेर आइन्
तुलसीपुरबाटै एसएलसी दिएपछि उनले केही समय बेस नामक संस्थामा काम गरिन् । त्यसपछि राप्ती आँखा अस्पतालमा जागिर पाइन् । त्यहाँ उनको भेट एकजना जापानी आँखा चिकित्सकसँग भयो । उनी स्यानीको स्वभावबाट प्रभावित भए ।
उनै चिकित्सकले स्यानीलाई नेतृत्व विकासका लागि सन् १९९४ मा जापानमा तालिम लिने मौका जुराई दिए । दुई वर्ष जापान पढेपछि स्यानी सन् २००० मा सुशासन सम्बन्धी अध्ययन गर्न डेनमार्क गइन् । जहाँ उनी ६ महिना बसिन् ।
त्यहाँ बस्दा उनले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न पाइन् । त्यसपछि उनी विभिन्न अभियानका क्रममा क्यानडा र डेनमार्क जस्ता मुलुकमा पुग्ने मौका पाइन् । अन्ततः उनलाई अमेरिकामा समेत पुगेर अध्ययन गर्ने अवसर मिल्यो ।
अमेरिकामा मात्रै उनी अध्ययनका लागि ६ पटक पुगिसकेकी छन् । त्यतिबेला उनलाई त्यहीँ बस्ने अवसर पनि आए तर स्यानीले चाहिनन् । ‘बस्नका लागि त अमेरिका नै ठीक थियो । तर आफ्नै देश फर्किएर केही गर्न चाहन्थें’ उनले सुनाइन् ।
अमेरिकाको सुखसयल र सम्पन्नताले मात्र उनलाई त्यहाँ रोक्न सकेन । उनी आफ्नै मुलुक फर्केर बालबालिका क्षेत्रमा केही चाहन्थिन् । त्यतिबेल सशस्त्र द्धन्द्धमा अभिभावक गुमाएर थुप्रै बालबालिका अनाथ बनेका थिए, उनीहरु बिचल्ली परेका थिए । उनी यस्तै बालबालिकाका लागि केही गरौं भन्ने चाहन्थिन् । त्यही कुराले उनलाई नेपाल फर्कायो । र, उनले दिदीघर नामक संस्था जन्माइन् ।
तुलसीपुरको उपपेयरमा निर्वाचित भएर आइसकेपछि स्यानीको काधमा ठूलो जिम्मेवारी थपिएको छ । आफू निर्वाचित भएर आइसकेपछि उनले अब शिक्षामा क्षेत्रमा परिवर्तन ल्याउने योजना बनाएकी छन् ।
शिक्षाविना समाज परिवर्तन सम्भव छैन भन्ने कुरा बुझेकी छन् उनले । त्यसैले त शिक्षालाई सबैको पहुँचमा पुर्याउने पर्ने बताउँछिन् । भन्छिन्, ‘अबको मेरो प्राथामिकता तुलसीपुरको शिक्षामा हुनेछ ।’ शिक्षामा गुणात्मक परिवर्तन ल्याउने र कक्षा १२ सम्म अनिवार्य निःशुल्क शिक्षा लागू गर्ने उनी बताउँछन् ।
त्यसपछि स्यानीको दोस्रो प्राथामिकतामा स्वास्थ्य तेस्रोमा सुशासन कायम गर्नेमा छ । ‘सबै काम क्रमशः हुनेछ । तर पहिलो काम म शिक्षा, स्वास्थ्यमा गर्छु’ उनले भनिन् ।
स्यानी आफूलाई यस क्षेत्रबारे धेरै जानकारी भएकाले काम गर्न सहज हुने बताउँछन् । ‘दशकौं देखि म यस क्षेत्रमा छु’ उनले भनिन्, ‘यहाँको समस्या के छ, मैले बुझेकी छु ।’ उनी आफ्नो पाँच वर्षे कार्यकाल जनताको सेवकका रुपमा काम गर्ने सुनाउँछिन् ।
प्रतिक्रिया 4