
१२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् ।
वीरगञ्ज आदर्शनगर स्थित पुरानो बसपार्कमा उनलाई मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले उनलाई सपथ खुवाएका थिए । त्यस लगत्तै उनले वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे लगत्तै उनले मुख्य तीन वटा निर्णय गरेका छन् ।
वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत गर्ने, घरेलु मिटर प्रयोग गर्दै आएका महानगरभित्रका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र महानगरभित्र कृषि सिंचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १ गतेदेखि महानगरपालिकाले व्यहोर्ने निर्णय गरेका छन् ।
महानगरपालिकाको आन्तरिक आम्दानीको स्थिति, संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको अध्ययन गर्नुको साथै प्रशासनिक खर्च कटौती गरेर अन्य जनहितका कामहरु गर्ने अठोट उनले लिएका छन् ।
पहिले मेयर बसेको ठाउँमा नबस्ने
वीरगञ्ज महानगरपालिकाका निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले महानगर परिसरमा पछि बनेको नयाँ भवनको माथिल्लो तलामा आफ्नो कार्यकक्ष बनाएका थिए ।
तर नयाँ मेयर राजेशमानले पहिले प्रमुख प्रशासकीय अधिकृत बसेको कोठा चुनेका छन् । यो कोठा पुरानै भवनको भूँई तलामा छ ।
छेउमा उपप्रमुखको कार्यकक्ष छ भने पहिलो तलामा न्यायिक समिति र मिटिङ हल छ । सोही भवनको माथिल्लो तलामा नगर प्रहरीका लागि आवास कोठा बनिरहेको छ ।
प्रतिक्रिया 4