
काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई बीमावापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
उनलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा घरमै पुगेर बीमा रकम हस्तान्तरण गरिएको हो ।
त्यसक्रममा महासंघ अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने बताए । बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूति गराउनु महत्वपूर्ण रहेको उनले बताए ।
दुर्घटना पीडित सञ्चारकर्मी दाहालले आफू दुर्घटना भएपछि अस्पतालमा भर्ना भएकै दिनदेखि नै प्रेस युनियन सुनसरीले आवश्यक सहयोग गरेकोमा धन्यवाद दिए । अहिले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनले जानकारी दिए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आफूले संस्थाको नेतृत्व सम्हालिसकेपछि पत्रकारहरुका लागि दुर्घटना बीमाको योजना ल्याएको र यसको सफल कार्यान्वयन गरिरहेको बताए । अजोड इन्स्योरेन्ससँगको सहकार्यमा दोस्रो चरणमा सुनसरीका २७४ जना पत्रकारको दुर्घटना बीमा गरेको उनले जनाए ।
कोरोना महामारीको समयमा पनि संस्थाले ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ प्रदान गरेको थियो ।
प्रतिक्रिया 4