+
+

पृथ्वीसुब्बाले भने : गण्डकीमा अबको मुख्यमन्त्री पनि लमजुङबाटै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते २०:११

२४ असोज, पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको अबको मुख्यमन्त्री आफ्नै गृह जिल्ला लमजुङबाट बन्ने बताएका छन् ।

गण्डकीको मुख्यमन्त्री बन्ने योजनाका साथ लमजुङ प्रदेश सभा ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बन्न चाहेका गुरुङले प्रतिनिधिसभाकै टिकट पाए । पृथ्वीसुब्बाले दाबी गरेको क्षेत्रमा काठमाडौं डेलिगेसन गएरै कृष्ण अधिकारीले टिकट हात पारेको लमजुङका नेताहरु बताउँछन् । लमजुङको प्रदेशसभा क बाट भने जमिन्द्रमान घले उम्मेदवार छन् ।

गुरुङले तिनै घलेलाई इंगित गर्दै लमजुङले मुख्यमन्त्री पाउने बताएका हुन् । एमालेको लमजुङ जिल्ला कमिटीले सोमबार बेसीशहरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पृथ्वीसुब्बाले ३ वटै क्षेत्र जित्ने र मुख्यमन्त्री पनि लमजुङबाटै हुने बताए ।

‘एमालेको केन्द्रीय कमिटीको सदस्य, एक पटक संविधान सभाको सदस्य भइसकेको व्यक्तिलाई लमजुङको पूर्वी क्षेत्रबाट उम्मेदवार बनाएका छौं,’ पृथ्वीसुब्बाले भने, ‘२ वटै प्रदेश र समानुपातिकको २ जना उम्मेदवारले जित्न सक्यौं भने प्रदेशमा राम्रो स्थान बनाउन सक्छ, भोलि मुख्यमन्त्री पनि हुन सक्छ । भएन भने महत्वपूर्ण पोर्टफोलियो पाउन सक्छ ।’

मुख्यमन्त्री बन्न नसकेको अवस्थामा प्रदेश सरकारमा राम्रो स्थान पाउने गुरुङले ठोकुवा गरे ।’

कास्की-१ ‘क’ मा खगराज अधिकारीलाई टिकट दिएपछि उनलाई मुख्यमन्त्रीको रुपमा हेरिएको छ । अबको गण्डकीको मुख्यमन्त्री खगराज नै हुने उद्घोषका साथ कास्कीका एमाले कार्यकर्ताले चुनावी अभियानसमेत थालिसकेका छन् ।

पृथ्वीसुब्बा गण्डकीको मुख्यमन्त्री भएदेखि नै खगराज र उनीबीच प्रतिष्ठाको लडाईं चल्दै आएको छ । पृथ्वीसुब्बालाई प्रदेशको मुख्यमन्त्रीको टिकट नदिनकै लागि खगराजले भूमिका खेलेको उनीनिकट समूहको आलोप छ । संघमा लड्न नचाहँदा नचाहँदै पनि लड्नुपरेपछि पृथ्वीसुब्बाले जमिन्द्रमानलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेर खगराजलाई चुनौती दिएका छन् ।

सोमबार लमजुङमा आयोजित कार्यक्रममा गुरुङले गण्डकी प्रदेशसभाको प्रत्यक्षतर्फ एमालेले २२ सिट र समानुपातिक तर्फ ११ सिट जित्ने दावी गरेका छन् । कांग्रेस, माओवादी लगायतका दलले भने २०७४ मा पाएको भन्दा कम मत ल्याउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?