 
																			६ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो ।
राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन । काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय मतपत्रगणना भयो । सूर्य–१०९, हसिंँया हथौडा ८१, हलो ७८ र घण्टी १६९…..।’ सोमबारदेखि मंगलबारसम्म पनि यही रुझान अविचल छ ।
मत परिणाम सार्वजनिक हुँदा चर्को स्वरमा ‘हुटिङ’ हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, नेता÷कार्यकर्ताहरु ‘अब घण्टीको जित निश्चित’ भन्दै उत्साहित हुन्छन् । पहिलो मत परिणामलाई आधार मान्न तयार नभएका स्थापित दलका नेता/कार्यकर्ताहरु ६५ प्रतिशत मत गनिसक्दा अब भने निराश हुन थालेका छन् ।
सोमबार दिउँसोको सुरुवाती गणनादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निरन्तर अगाडि छन् । एक पटक पनि कसैले उनलाई उछिन्न सकेको छैन । बरु सोविता विस्तारै मतान्तर फराकिलो बनाउँदै अगाडि बढेकी छन् ।

सोवितालाई एमालेका उम्मेदवार मणिराम फुयालले पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती र राप्रपाकी कुन्तीदेवी पोखरेलबीचको तेस्रो हुने भन्ने प्रतिष्पर्धा छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रको ६५ प्रतिशत मत गनिसकिएको छ । कुल मतदाता ८१ हजार ९७० रहेकोमा ६४ प्रतिशत अर्थात, ५२ हजार ९२० मत खसेको थियो । करिब ३५ हजार मत गन्दा सोविता प्रष्ट रुपमा अगाडि छिन् ।
निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बेलुकी ८ बजे दिएको मत परिणाम अनुसार सोविता गौतमले १० हजार ८६१ मत पाउँदा उनलाइ पच्छ्याइरहेका एमालेका उम्मेदवार मणिराम फुयालले ८ हजार ४०३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कुन्तीदेवी पोखरेलले ६ हजार ७६९ पाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार ओनसरी घर्तीको ६ हजार १६४ मत छ ।
अर्थात, काठमाडौं २ मा राजनीतिक दलप्रतिको आस्थाका आधारमा मत खसेको देखिन्न । गत स्थानीय तहमा दलहरुले वडा तहमा पाएको मतका आधारमा पनि मत खसेको छैन । यदि यस्तो हुन्थ्यो भने सोविता र कुन्तिले पाउने मत स्थापित दलहरुको भन्दा कम हुने थियो । दलीय अनुमानलाई माथ खुवाउँदै सोबिता निरन्तर अगाडि छन् । उसो त, काठमाडौं–२ मा दलहरूका तर्फबाट १९ र १० स्वतन्त्र गरेर २९ जना उम्मेदवार छन् । सोविता एक्लै करिब तीन हजार मतान्तरले अग्रता लिइरहेकी छन् ।
‘चमत्कार’को निरन्तरता
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ लाई कतिपयले ‘सरप्राइज’ क्षेत्रको संज्ञा लिन्छन् । इतिहासले पनि यस्तो संज्ञालाई पुष्टि गर्दछ । साथसाथै, ‘हेभीवेट’ उम्मेदवारले हार्ने र जितिरहने क्षेत्र पनि यही हो ।
मतगणनामा निरन्तर रहेका एक अधिकारी भन्छन्, ‘यो क्षेत्र नै यस्तै रहेछ । एउटा अनुमान गरेर आयो जहिले पनि ठीक उल्टो परिणाम आउँछ । कुनै पनि निर्वाचनमा आम बुझाइ भन्दा फरक परिणाम दिने यस क्षेत्रले पनि त्यस्तै गर्दैछ ।’
ती अधिकारीले भनेजस्तै यस क्षेत्रमा दलीय आस्थाको मत यकिन गर्न कठिन छ । विगतको चुनावले पनि यस्तै देखाउँछ ।
‘परिवारमा बा–आमा गठबन्धन तथा एमाले हुनुहुन्थ्यो । तर, यसपटक भने उहाँहरुले पनि घन्टीलाई मत हाल्नुभएको छ’, एक युवा भन्छन् । स्थानीय बद्री चौलागाईंका अनुसार काठमाडौं–२ नम्बर क्षेत्रले २०४८ सालदेखि हरेक चुनावी परिमाण ‘मिराकल’ देखाउँदै आएको छ ।

०६४ को संविधानसभामा हेभिवेट उम्मेदवार माधव कुमार नेपाललाई हराउँदै नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका थिए । ०७० को दोस्रा संविधान सभाको चुनावमा भने उनै माधव नेपाल निर्वाचित भए । त्यसबेला माधव नेपालले दुई वटा निर्वाचन क्षेत्रबाट चुनाव लडेर दुबै क्षेत्रमा जित हात पार्दा काठमाडौं २ छाडेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल ९ हजार मतान्तरले विजयी भएका थिए ।
०७४ को चुनावमा भने बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका माधव नेपाल नै विजयी भए । यसपटक वाम लोकतान्त्रिक गठबन्धन बनाएर पाँच दल एक ठाउँ हुँदा पनि पुराना र स्थापित दलका उम्मेदवार प्रतिस्पर्धामै आउन सकेनन् ।
माओवादीले सत्ता गठबन्धनमा आफ्नो भागमा परेपछि पूर्व सभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको थियो । महिला र पूर्व सभामुख हुँदा काठमाडौं २ का मतदाताको मत लिन सकिन्छ कि भन्ने माओवादीको अनुमान फेल खान पुगेको देखिन्छ ।
गत स्थानीय चुनावमा दलहरुले वडा तहमा पाएको मतका आधारमा पनि गठबन्धन र एमालेबीच १० हजारको अन्तर देखिएको थियो । यसकारण सोविता गौतमलाई कमैले प्रतिस्पर्धीका रुपमा लिएका थिए । ‘एक स्थानीय भन्छन्, ‘तर, सोबिताले अर्को चमत्कार गरेर इतिहासलाई निरन्तरता दिँदैछिन् ।’
घण्टीमा पोखियो वितृष्णा
गत ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरुले वडा तहमा पाएको मत संख्याका आधारमा काठमाडौं–२ मा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले हो । वडा तहको मत संख्यामा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२९, नेकपा (एकीकृत समाजवादी) ले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र नेकपा (माओवादी केन्द्र) ले ३ हजार १३१ मत पाएका थिए । तर, प्रदेश र प्रतिनिधिसभाको चुनावमा काठमाडौं २ मा स्थापत दलहरु प्रतिस्पर्धामै आउन सकेनन् ।
स्थानीय बद्री चौलागाईं भन्छन्, ‘काग्रेंसको असन्तुष्ट र युवाको मत घण्टीमा गएको देखिन्छ ।’ अर्कोतर्फ तार्किक र राम्रो वक्ता भएका कारण गौतमप्रति युवाको आर्कषण छ । मतदातालाई उनले सांसदमा निर्वाचित भए पाँच वर्षमा व्यावहारिक–व्यावसायिक शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन र कृषि प्रवद्र्धनको मुद्दामा बलियो पैरवी गर्ने बताएकी थिइन् ।
यस्तो वाचाले पनि काम गरेको देखिन्छ । स्थानीयका अनुसार नेकपा एमले, नेपाली कांग्रेसले मात्रै नभएर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी स्वयंले आफ्नो मत संरक्षण गर्न नसक्दा सोवितालाई थप सहज भएको हो ।

अर्कोतर्फ नेकपा एमालेभित्रको असन्तुष्टि, पार्टी फुटको असर पनि मतपरिणाममा देखिन्छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको भनी कांग्रेसका कार्यकर्ताले पनि घण्टीमा भोट हालेका छन् । यसको उदाहरण हो – कतिपयले प्रत्यक्षमा घण्टी र समानुपातिका रुख, सूर्य वा अन्य चुनाव चिह्नमा मतदान गर्नु ।
अर्को एउटा सरप्राइज त काठमाडौं– २ ले दिइसकेको छ । काठमाडौं २ (क) बाट प्रदेश सभा सदस्यमा राप्रपाका सुनिल केसी निर्वाचित भइसकेका छन् । नेकपा एमालेका बागमती प्रदेशका सभामुखसमेत रहेका सानुकुमार श्रेष्ठलाई पराजित गर्दै राप्रपाका केसीले सरप्राइज दिएका हुन् ।
केसीले ६ हजार ५९८ मत पाउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याए । कांग्रेसका ध्रुव केसीले जम्मा ३ हजार ८४७ मत प्राप्त गरे । अर्थात, स्थानीय नेताहरुकै शब्दमा ‘नेपालको हरेजसो निर्वाचनमा कुनै न कुनै ‘सरप्राइज’ दिने काठमाडौंले यसपटक हलो र घण्टीमार्फत अर्को सरप्राइज दिन खोजेको छ ।
यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२, कागेश्वरी मनहरा नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९ नम्बर वडा र सिंगो शंखरापुर नगरपालिका पर्छ । यस क्षेत्रमा काठमाडौंमा रैथाने समुदाय भन्दा आसपासमा बिभिन्न जिल्लाबाट आइ बसोबास गरेकाहरुको बाहुल्य छ । शहरदेखि ग्रामीण भेगसमेत समेटिएको यस क्षेत्रका कैय युवाहरु रोजगारीका लागि बाह्य मुलुकमा गएको पाइन्छ ।
मध्यम वर्गको बाहुल्य रहेको यस क्षेत्रले लामो समयदेखि खोजेको सडकको दुरावस्थाको अन्त्य, व्यवस्थित सहरीकरण, सफा सहर, खानेपानीको सहज उपलब्धता र सार्वजनिक सेवामा चुस्तता हो । यसकै खोजीमा रहेका यस क्षेत्रका मतदाताहरु पटक–पटक नयाँ अनुहारमा आफूहरुको अपेक्षा पूरा हुने आश देख्छन् र सोही अनुसार व्यवहार गर्छन् । यही क्रममा यसपटक उनीहरुले प्रदेश सभामा हलो रोज्दै प्रतिनिधिसभा सदस्यमा घण्टी बजाएका हुन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4