१८ माघ, काठमाडौं । न्युकासल युनाइटेड २४ वर्षपछि इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ । साउदी कम्पनीले स्वामित्व लिएपछि न्युकासल फाइनल पुगेको पहिलो पटक हो ।
साउथह्याम्पटनलाई दोस्रो लेगमा मंगलबार राति २–१ ले पराजित गर्दै समग्रमा न्युकासलले ३–१ को नतिजासहित फाइनल यात्रा तय गरेको हो । पहिलो लेगमा न्युकासलले १–० ले जितेको थियो ।
घरेलु मैदानमा न्युकासलका लागि सिन लोङस्टाफले दुवै गोल गरे । उनले पहिलो हाफको पाँचौ र २१औं मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि चे एडम्सले २९औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
न्युकासलका स्टार मिडफिल्डर ब्रुनो गुमाइरेज ८२औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
न्युकासलले अब फाइनलमा म्यानचेष्टर युनाइटेडसँग खेल्ने सम्भावना बढी छ । अर्को सेमिफाइनल पहिलो लेगमा युनाइटेडले नटिङहम फरेस्टलाई ३–० ले पराजित गरेको थियो ।
न्युकासल २४ वर्षपछि नकआउट फुटबलको फाइनलमा पुगेको हो र यो शताब्दीमा पहिलो पटक हो । पछिल्लो पटक न्युकासलले सन् १९९९ मा एफए कप फाइनल खेलेको थियो जहाँ म्यानचेष्टर युनाइटेडसँग पराजित भएको थियो ।
यस्तै लिग कपमा भने दोस्रो पटक फाइनल पुगेको हो । यसअघि १९७६ मा फाइनल खेल्दा न्युकासल म्यानचेष्टर सिटीसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4