+
+

स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १५:०४

२० माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् ।

‘कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ । विपदको घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दछौं’, मन्त्री गिरीले भने ।

मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना(एनएचएस–एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

राजदूत निकोलाले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् । उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले २०२६ सम्ममा नेपाल विकसित देशका रुपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ–नयाँ कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले स्वास्थ्य सेवामा भइआएका पुराना सहयोगलाई निरन्तरता दिने बताइन् ।

मन्त्री गिरीले राजदूत निकोलाले भनेका कुरालाई सकेसम्म पूरा गर्ने वचनबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?