+
+
WC Series
विराटनगर किंग्स 2025
69/7 (12.5)
VS
४३ बलमा ६६ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares
पदम गिरीसँग वार्ता :

‘सरकारका मान्छेहरूले एमाले नेतृत्वमाथि षड्यन्त्र गरिरहेका छन्’

‘जेनजीका नाममा केही मान्छेहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाउने, त्यसपछि उनीहरूले माग राखेको जस्तो गर्ने, सरकारले सुनेको जस्तो गर्ने नाटक भइराखेको छ । आन्दोलनमा दमन गरियो भन्ने, भ्रष्टाचारका मुद्दाहरू हेर्नुपर्‍यो, त्यसको नाममा नेताहरूलाई पक्रिनु पर्‍यो, अध्ययन अनुसन्धान पछि हुन्छ अहिले मान्छे लगाएर थुन्नुपर्यो नि भनेर माग राख्न लगाउने काम भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ र २७ गते उद्घाटन सत्रमा लाखौँ जनताको सहभागिता हुने छ।
  • केपी शर्मा ओलीमाथि सरकारले षड्यन्त्र गरिरहेको आरोप एमाले केन्द्रीय सदस्य पदम गिरीले लगाउनुभएको छ।
  • महाधिवेशनपछि ओलीले नेतृत्व लिने भएकाले उहाँलाई कमजोर पार्न र घेराबन्दी गर्न खोजिएको गिरीले बताउनुभयो।

एमाले ११ औं महाधिवेशनको तयारीमा रहेका बेला अध्यक्ष केपी शर्मा ओलीमाथि सरकारले षड्यन्त्र गर्न थालेको केही नेताहरूले बताउन थालेका छन् । यस्तै धारणा राख्ने एकमध्ये एक नेता हुन्- एमाले केन्द्रीय सदस्य पदम गिरी ।

उनले यस्ता षड्यन्त्रहरूलाई परास्त गर्न पनि केपी ओलीकै नेतृत्व चाहिने उनको अडान छ । महाधिवेशनका सन्दर्भमा उनीसँग अनलाइनखबरले गरेको कुराकानी :

एमालेको ११ औं महाधिवेशनको के कस्तो तयारी भइरहेको छ ?

महाधिवेशनको तयारी लगभग अब अन्तिम चरणमा चाहिँ पुगिसकेको अवस्था छ।

महाधिवेशनका प्रतिनिधिहरू सबै भूगोलबाट, सबै क्षेत्रबाट छनोटको काम करिब-करिब सकिएको स्थिति छ । मनोनितको काम पनि भोलिको सचिवालयको बैठकले टुंग्याइसके पछाडि महाधिवेशन प्रतिनिधि छनोटको काम सकिन्छ ।

२७ गते उद्घाटन सत्रमा बृहत् जनसभाको आयोजना हुनेछ । त्यसमा लाखौँको सङ्ख्यामा काठमाडौं उपत्यका र त्योभन्दा बाहिरबाट देशका विभिन्न जिल्लाहरूबाट मान्छेको चाहिँ अभूतपूर्व सहभागिता हुने हामीलाई सूचना प्राप्त भएको छ ।

त्यस हिसाबले तयारी पनि जिल्ला-जिल्लामा भइराखेको छ। उद्घाटन सत्र पनि मलाई लाग्छ, इतिहासकै सबैभन्दा ठूलो र अभूतपूर्व ऐतिहासिक जनसभा हुन्छ।

महाधिवेशनमा यति धेरै मान्छे ल्याएर यो जनप्रदर्शन गर्नु पर्ने आवश्यकता चाहिँ किन देखियो? यो त खासमा प्रतिनिधिले नेतृत्व छान्ने खालको महाधिवेशन हो नि ?

हामीले विगतमा पनि उद्घाटन सत्रलाई चाहिँ सबै पार्टीका शुभेच्छुक, शुभचिन्तकहरू, आम कार्यकर्ताहरूलाई सहभागी गराउने र पार्टीका विचारहरू, सन्देशहरू प्रवाह गर्ने काम विगतमा पनि गर्थ्यौं।

चितवनमा दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र पनि यहाँले देख्नुभएको थियो । त्यसलाई पनि बिर्साउने गरी यो पटक जनसहभागिता हुन्छ।

कुन अर्थमा हुन्छ भन्नुहुन्छ भने मुलुक एउटा अप्ठ्यारो र सङ्कटपूर्ण स्थितिमा छ। लोकतन्त्रमाथि, जनताको सार्वभौमसत्तामाथि गम्भीर षड्यन्त्रका तानाबाना यहाँ बुनिएका छन् ।

जनताले सङ्घर्षबाट प्राप्त गरेको यो संविधान, लोकतन्त्रलाई फेरि कुल्चिने र मुलुकलाई पछाडि धकेल्ने षड्यन्त्र भइरहेको बेलामा यो जनप्रदर्शनले त्यस्ता प्रतिक्रियावादी अथवा पश्चगामी हर्कतहरूलाई रोक्नका लागि पनि एउटा राम्रो सन्देश प्रवाह गर्न सक्छ।

यो गर्न आवश्यक पनि छ । किनभने यहाँ लोकतन्त्रमाथि षड्यन्त्र भइरहेको छ । हाम्रो पार्टी र मूल नेतृत्वमाथि पनि विभिन्न शक्ति केन्द्रको आडमा चाहिँ सरकार र सरकारका मान्छेहरूले जुन गम्भीर प्रकारको षड्यन्त्रहरू गरिरहेका छन्, त्यसलाई पनि एउटा स्पष्ट सन्देश दिनुपर्छ।

तपाईंले षड्यन्त्रको कुरा गर्नुभयो, नेतृत्वप्रति षड्यन्त्र भइरहेको छ भनेर र सरकारका मान्छेहरूप्रति पनि तपाईंले इङ्गित गर्नुभयो । खासमा सरकारका मान्छेहरूले के गर्न खोजिरहेको संकेत पाउनु भएको छ ?

पछिल्लो हप्ताका घटनाहरू तपाईं हेर्दै जानुस् । ‘जेनजी’ का नाममा केही मान्छेहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाउने, त्यसपछि उनीहरूले माग राखेको जस्तो गर्ने, सरकारले सुनेको जस्तो गर्ने नाटक भइराखेको छ ।

आन्दोलनमा दमन गरियो भन्ने, भ्रष्टाचारका मुद्दाहरू हेर्नुपर्‍यो, त्यसको नाममा नेताहरूलाई पक्रिनु पर्‍यो, अध्ययन अनुसन्धान पछि हुन्छ अहिले मान्छे लगाएर थुन्नुपर्यो नि भनेर माग राख्न लगाउने काम भएको छ ।

अनि यस्ता माग राख्न लगाएर प्रधानमन्त्रीले हामी गम्भीर छौँ भन्ने, गृहमन्त्री हामी सिरियस छौँ, हामी हेर्दै छौँ भन्ने बचकना शैली देखाउनु भएको छ । षड्यन्त्रको मतियार बन्नु भएको छ । सरकारका मान्छेहरूका यी गतिविधिले के देखाउँदै छ भने गम्भीर षड्यन्त्र मुलुकमा चलिरहेको छ भन्ने बुझ्न गाह्रो छैन ।

पार्टीका विभिन्न नेताहरूसँग, विभिन्न तहमा भूमिकामा रहेका व्यक्तिहरूसँग जुन खालका संवादहरू भएका छन् । त्यस्ता सूचनाहरू हामीलाई प्राप्त भइरहेका छन् ।

जुन सूचना हामीलाई प्राप्त भइरहेको छ, यसले के देखाउँदै छ भने, यो महाधिवेशन पछि पार्टीको अध्यक्षमा केपी शर्मा ओली फेरि आउने भएपछि उहाँलाई घेराबन्दी गर्न खोजिँदै छ ।

महाधिवेशनपछि उहाँले मुलुकको राजनीतिक नेतृत्व लिने, देशको लोकतन्त्र र संविधानको रक्षाको दायित्व उहाँले नै लिने देखेपछि हर हालतमा उहाँलाई कमजोर पार्नुपर्छ र हर हालतमा घेराबन्दी गरेर उहाँलाई पछाडि धकेल्नुपर्छ भन्ने खेल भइरहेको छ । यो महाधिवेशनमा आफ्नो अनुकूलका गतिविधिहरू हुन् भन्ने चाहना राखेर जुन खालका खेलहरू भइराखेको बुझिएको छ । त्यसरी हेर्दा यो विषय सामान्य छैन ।

अहिले नेतृत्व परिवर्तनका ठूलो मागहरू उठिराखेका छन् । किन तपाईंहरू जस्तो युवा नेता चाहिँ दुई पटक अध्यक्ष भइसकेको व्यक्तिलाई नै फेरि तेस्रो कार्यकालको पनि अध्यक्ष बनाउने गरी लाग्नु भएको हो ? जेनजी आन्दोलनको स्पिरिट बुझ्नु भएको छैन ?

हामीले बुझेका छौँ । राम्रोसँग बुझेका छौँ। अहिले केपी ओलीलाई जुनसुकै हालतमा एमालेको नेतृत्वबाट पछाडि धकेल्न पायो भने नेकपा एमाले कमजोर हुन्थ्यो । सँगसँगै यो मुलुकको लोकतन्त्र पनि कमजोर हुन्थ्यो।

यो देशको अग्रगमन र समृद्धिको बाटोमा जुन मुलुक अगाडि बढ्न खोजेको छ, यसमा पूर्णविराम लगाउन पाइन्थ्यो। यो देशलाई एउटा असफल राष्ट्रमा बनाउन पाइन्थ्यो भन्ने त्यस्ता तत्वहरूले धेरै हिसाबले प्रोभोक गरेका छन्।

केपी शर्मा ओली माथिको घेराबन्दी किन भएको हो ? हामी प्रस्ट छौँ। यही देशमा समृद्धिको खाका केपी ओलीले नै ल्याउनुभयो । उहाँले जे जस्ता खालका आर्थिक विकास, सामाजिक सुरक्षाका क्षेत्रहरूमा, पूर्वाधार विकासका क्षेत्रहरूमा, जति कामहरू भए, वास्तवमा त्यो कामको अगुवाइ केपी ओलीले नै गरेको हुनाले धेरै मान्छेको आँखामा केपी ओली बिझाएकै हो।

विदेशीहरूको गुलाम बन्ने, गोटी बन्ने, यसै मुलुकको अहितमा गतिविधि गर्ने र देशलाई तहसनहस बनाउन चाहने यस्ता तत्वहरू पनि क्रियाशील छन्।

यो सबै कुराको परिस्थितिलाई हामीले गम्भीरतापूर्वक आकलन गरेर फेरि एकपटक केपी ओलीले यो अप्ठ्यारो र सङ्कटपूर्ण स्थितिमा नेतृत्व दिनुपर्छ ।

उहाँको अनुभव, विगतका इतिहासहरूमा खेलेका भूमिकाहरू र राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा उहाँले आर्जन गरेको छविले पनि अहिलेको सङ्कटको स्थितिमा उहाँको नेतृत्व अपरिहार्य भयो।

सबै पुरानै नेतृत्व हुने, नयाँ अनुहार त्यहाँ प्रवेश नै नगर्ने, पुरानै अनुहारलाई दोहोऱ्याउने कुराले निश्चित रूपमा मान्छेहरूमा निराशा आउँछ। तर त्यो खालको अवस्था त देखिँदै छ नि ?

चाहना हुने त स्वभाविकै भयो। तथापि कुरा के हो भने महाधिवेशनले अहिलेको परिवर्तित परिस्थितिमा नयाँ पुस्तालाई पनि सशक्त ढङ्गले नेतृत्वमा स्थापित गर्ने र पुरानो जो अनुभवी नेतृत्व छ र अहिलेको चुनौतीलाई सामना गर्न सक्ने नेतृत्वलाई पनि सँगै उहाँको नेतृत्वमा अगाडि बढ्ने हो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले एउटा दस्तावेज नै पेस गरेर पार्टीभित्रको कार्यशैली माथि प्रश्न पनि उठाउनु भएको छ। त्यो दस्तावेजमा उहाँले उठाएका विषयहरूप्रति तपाईं कत्तिको जानकार हुनुहुन्छ ?

पार्टीको विधान महाधिवेशन अस्ति भर्खर हामीले सम्पन्न गर्यौँ । विधान महाधिवेशनमा सबै पार्टीका नेताहरू एक ठाउँमा उभिएर एकमतका साथ विधान महाधिवेशन सम्पन्न भएको छ ।

हाम्रा विचारका सन्दर्भमा, हाम्रा नीतिका सन्दर्भमा, हाम्रा कार्यदिशा, कार्ययोजनाका सन्दर्भमा विस्तारमा छलफल भएर त्यो विधान महाधिवेशनले त्यसलाई निष्कर्षमा पुर्‍याएर टुङ्गो लगाइसकेको छ।

राष्ट्रिय महाधिवेशन भनेको त यो नेतृत्व छनोटको लागि आयोजना गरिएको महाधिवेशन हो। तर अहिले आएर अनि अनेक कुराको आधारमा टेकेर जस्तो हुन्छ, नेतृत्व परिवर्तन गर्नुपर्यो, आफ्नो नेतृत्वमा जसरी पनि पुग्नुपर्यो भन्ने जस्तो गरी जुन प्रकारले अभिव्यक्तिहरू, दस्तावेजका नाममा कुराहरू आइराख्या छन्, त्यो कुराभित्र के अन्तरनिहित छ भन्ने कुरा हामीले बुझ्नुपर्छ।

बरु कुरा के हो भने प्रस्ट रुपमा कार्यकर्ता बीचमा जानु पर्यो, महाधिवेशन प्रतिनिधिहरूलाई भन्नु पर्यो, म यो कारणले योग्य छु, म पार्टी नेतृत्व लिन सक्षम छु, मेरो नेतृत्व यो अर्थमा आवश्यक छ भनेर महाधिवेशन प्रतिनिधिहरूको विश्वास जितेर नेतृत्व गर्ने कुराको पार्टीले कहिँ रोकेको छैन ।

तर अब केपी ओली प्रतिस्पर्धामा नै आउन हुँदैन जस्तो गरेर उहाँ आए पछाडि सबै कुरा बर्बाद हुन्छ जस्तो गरी जुन प्रकारले भाष्य स्थापित गर्न खोजिएको छ, यो अलोकतान्त्रिक तरिका हो । यस्तो ढङ्गले कोही पनि अगाडि बढ्नु हुँदैन। म त भन्छु, अहिलेको बदलिएको स्थितिमा झन् केपी शर्मा ओलीले एकदमै बोल्ड लिडरशिप चाहिँ दिनुपर्ने बेला आयो।

युवाहरूको प्रवेश पार्टी पदाधिकारीमा कसरी हुन्छ ? केन्द्रीय समितिमा कसरी प्रवेश हुन्छ ?

अब केन्द्रीय समितिमा त केही प्रतिशत ४० मुनिका युवाहरूलाई प्रवेश गराउने गरी पार्टीले नीति तय पनि गरिसकेको अवस्था छ । अब पदाधिकारीका सन्दर्भमा त्यस्तो नीतिगत व्यवस्था अहिलेसम्म भएको छैन।

तर हाम्रो प्रस्ट कुरा के छ भने यसमा पनि नयाँ युवाहरूलाई पदाधिकारीमा पनि उल्लेख्य मात्रामा प्रवेश गराउनु पर्छ।

जसले गर्दा भोलिको दिनमा नेतृत्व हस्तान्तरण स्वाभाविक हस्तान्तरण हुँदै पनि जान्छ र नलेज ट्रान्सफर्मेसनको कुरा पनि हुन्छ। जसले गर्दा पार्टीलाई निरन्तर रूपमा जनताको भरोसा योग्य पार्टीको रूपमा अगाडि बढाउन मद्दत पुर्‍याउँछ।

तपाईं आफै चाहिँ अब केपी ओलीले बनाउने लिस्टको आधारमा अघि बढ्नु हुन्छ कि आफ्नो छुट्टै उम्मेदवारी पनि दाबी गर्नुहुन्छ ?

एउटा कुरा म के भनिरहेको छु भने म महाधिवेशनका प्रतिनिधि साथीहरूको भावनालाई पनि बुझेर, पार्टी नेतृत्वको भावनालाई पनि मैले बुझेर, सबैको भावनालाई मध्यनजर राखेर म आफूले चाहिँ निर्णय लिन्छु।

म दुई-दुई कार्यकाल सङ्घीय सांसद पनि भएँ, मन्त्री पनि छोटो समय भएँ, दुई कार्यकाल, दुईवटा मन्त्रालयको जिम्मेवारी लिएर अनुभव हासिल गरेको छु।

त्यसकारणले गर्दा स्वाभाविकै रूपमा पार्टीले मलाई विश्वास गर्‍यो भने म नेतृत्वमा, पदाधिकारीमा आफू प्रवेश गर्दा पार्टीलाई थप उर्जा प्रदान गर्ने, आम जनताहरूमा, आम युवा र आम पार्टी नेता कार्यकर्ताहरूमा यसले उत्साह भर्ने काम चाहिँ गर्छ भन्ने मलाई विश्वास छ। यद्यपि, त्यो महाधिवेशनको कुरा भयो । महाधिवेशनले जे फैसला गर्छ, त्यसमा चाहिँ मेरो लागि स्वीकार्य हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?