+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares
वार्ता :

‘पुराना नेताहरूका अनुभव र नयाँका ऊर्जा समायोजन गर्नुपर्छ’

मूलतः यो प्रवृत्तिगत कुरा हो। अब कहिलेकाहीँ नेतृत्वमा आउन नसक्ने र त्यसलाई सिद्धान्तको छानो दिएर बाहिर जाने प्रवृत्ति वास्तवमा त पलायन हो, गद्दारी हो । त्यसकारण अब त्यस खालको परिस्थिति नेकपा एमालेभित्र सम्भव पनि छैन, स्वीकार्य पनि हुँदैन।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशनमा दुई समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने तयारी छ र नयाँ पुस्तालाई केन्द्रीय समिति र पदाधिकारीमा प्रवेश गराउने प्रयास भइरहेको छ।
  • एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले पुराना नेताहरू अनुभवी र सक्षम भएकाले नयाँ पुस्तासँग समायोजन गरेर नेतृत्व चयन हुने बताए।
  • महाधिवेशनले पार्टीको आन्तरिक एकता र सुदृढीकरणमा जोड दिने र प्रतिनिधि सभा पुनर्स्थापना नभए पनि निर्वाचनबाट एमाले पछि नहट्ने उनले स्पष्ट पारे।

एमालेको एघारौं महाधिवेशनमा नेतृत्वका लागि दुई समूहबीच प्रतिष्पर्धा हुने तयारी छ। पुराना नेताहरूले नै नेतृत्वमा दाबी गरिरहँदा नयाँ नेताहरू केन्द्रीय समिति र पदाधिकारीमा प्रवेश गर्ने निकै सकस हुने देखिन्छ ।

यसै सन्दर्भमा एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानी :

एमालेको एघारौं महाधिवेशनको कसरी तयारी हुँदै छ ?

एघारौं राष्ट्रिय महाधिवेशन हाम्रो पार्टीको एउटा महोत्सव हो। नीतिगत रूपमा हामीले विधान महाधिवेशनमार्फत आफ्नो नीतिहरू सार्वजनिक गरिसकेका छौं । अब नेतृत्व चयन मूल विषय हुनेछ । त्यसका लागि आ(आफ्नै तरिकाले तयारी भइरहेका छन्। खासगरी, उद्घाटन समारोहलाई भव्य बनाउने हिसाबले तयारी भइरहेको छ।

नेतृत्वमा पनि युवा पुस्ताहरूलाई अगाडि लिएर आउने भन्ने सन्दर्भमा पनि बहसहरू, छलफलहरू भइरहेका छन्। त्यसैमा केन्द्रित भएर हामी पनि आफ्नो तयारीमा लागिरहेका छौं।

पुराना नेताहरूले नै पद नछोड्ने जस्तो देखिन्छ। नयाँ पुस्ता कसरी प्रवेश हुन्छन् ?

होइन, नयाँ पुस्तालाई पर्याप्त ढोका खोल्ने कुरा नेकपा एमालेभित्र पहिले पनि भएको हो। यसपाली अझै राम्रो ढङ्गबाट, परिभाषित ढङ्गबाट अगाडि आउने सम्भावना देखिन्छ । र, पुरानो नेतृत्व अनुभवी छ, सक्षम छ, गतिशील छ। अहिलेका चुनौतीहरूलाई पनि सामना गर्न सक्ने सामर्थ्य राख्छ भनेपछि पुरानो भन्दैमा त्यसलाई अब हटाइहाल्नुपर्छ भन्ने कुरा मनासिब देखिंदैन।

जेनजी आन्दोलन पछाडि पुराना नेताहरूको औचित्य नै सकियो, पुराना नेताहरूले काम गर्न सकेनन् भनेर सबै पार्टीहरूमा नेतृत्व परिवर्तनको दबाब पनि छ । तर एमालेमा त्यो खालको कुनै पनि गुञ्जायस देखिएन नि ?

पुरानो नेतृत्व काम नलाग्ने भयो, पुराना पार्टीहरू काम नलाग्ने भए भन्ने जबरजस्ती भाष्य सिर्जना गरियो । यो आफैंमा त्रुटिपूर्ण भाष्य हो । पुरानाहरूका अनुभव र नयाँका ऊर्जा हरूलाई समायोजन गरेर नै पार्टीको नेतृत्व बन्ने हो । त्यसकारणले यो भाष्यलाई चाहिँ सच्याउन जरुरी छ ।

नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया चलिरहँदाखेरि पार्टीभित्र प्यानल नै बन्ने जस्तो खालको अवस्था देखिन्छ । चुनावी प्रतिस्पर्धा र प्रतिस्पर्धा सुरु हुनुभन्दा अगाडि नै देखिएका कतिपय नेताका क्रिया(प्रतिक्रिया हेर्दाखेरि तपाईंलाई के लाग्छ, कस्तो बाटोमा गइरहेको छ महाधिवेशनको प्रतिस्पर्धा ?

महाधिवेशन मूलतः नेतृत्व चयनको विषयसँग सम्बन्धित रहने भएको हुनाले त्यस खालका बहस चल्ने कुरा स्वाभाविक नै छन् । अहिलेसम्म शिष्टता भङ्ग भएको या संस्कारविहीन तरिकाले वाद-संवाद र प्रतिवादहरू भएको स्थिति मैले देखेको छैन ।

लोकतान्त्रिक प्रणालीमा पार्टीहरू पनि लोकतान्त्रिक हुनुपर्छ र हाम्रो पार्टीले आन्तरिक लोकतन्त्रलाई राम्रै ढङ्गले समातेको हुनाले प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ भन्ने ठानेको छ । जय-पराजय जेसुकै भए पनि पार्टीभित्रै रहेर आन्दोलनभित्रै रहेर पार्टीलाई मजबूत बनाउनुपर्छ भन्ने एउटा मनोविज्ञान आम रूपमा गएको जस्तो देखिन्छ।

तर लोकतान्त्रिक अभ्यास त धेरै साँघुरियो, खुम्चियो भनिन्छ नि ?

अब यो बाहिर जेजस्ता हल्लाहरू, चर्चा-परिचर्चाहरू भएका छन्, त्यसमा मैले सत्यता देख्दिनँ । किनभने केन्द्रीय कमिटीको हालसालै भएको बैठकमा पनि हामीले आफ्ना कुराहरूलाई, आफूलाई लागेका कुराहरूलाई दृढतापूर्वक राखेका हौं। पार्टीका नीति, विचार, सिद्धान्तको बारेमा, नेतृत्वका कमजोरीहरूका बारेमा, सुधार्नुपर्ने पक्षहरूका बारेमा हामीले राम्रै ढङ्गले कुराकानी राख्ने अवसर प्राप्त गरेका हौं।

नेकपा एमालेभित्र प्रतिस्पर्धा त गर्ने, तर त्यो प्रतिस्पर्धालाई स्वीकार गर्न नसकेका केही परिघटनाहरू छन्, जुन दु:खद हुन् । र, केही सुखद पक्षहरू पनि छन् । प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्न अथवा विजयी हुन नसके पनि पार्टीभित्र निरन्तर लागेर त्यहीभित्र लोकतान्त्रिक प्रक्रिया र पार्टी सुदृढीकरणको पक्षमा लागेका हाम्रा विगतहरू पनि छन् ।

जस्तो, अहिलेको पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको कुरा गर्नुभयो भने उहाँ विजयी हुन नसकेको अवस्थामा पनि पार्टीभित्रै रहेर निरन्तर रूपमा पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र पार्टी सुदृढीकरणको पक्षमा लाग्नुभयो ।

मूलतः यो प्रवृत्तिगत कुरा हो। अब कहिलेकाहीँ नेतृत्वमा आउन नसक्ने र त्यसलाई सिद्धान्तको छानो दिएर बाहिर जाने प्रवृत्ति वास्तवमा त पलायन हो, गद्दारी हो । त्यसकारण अब त्यस खालको परिस्थिति नेकपा एमालेभित्र सम्भव पनि छैन, स्वीकार्य पनि हुँदैन।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच फेरि नेतृत्वमा प्रतिस्पर्धा हुने जस्तो देखिन्छ ।अहिले नेतृत्व परिवर्तन हुनुपर्ने, नेतृत्व हस्तान्तरण हुनुपर्ने यत्रो बाहिर पनि बहस चलिरहेको बेलामा एमाले चाहिँ किन त्यो दिशामा जान सकिरहेको छैन ?

समकालीन राजनीतिको चुनौतीहरूलाई सामना गर्नको निम्ति पनि नेतृत्वको बलियो उपस्थिति अनिवार्य हुन्छ । दोस्रो कुरा, नेकपा एमालेलाई एउटा सुदृढ नेतृत्वको आवश्यकता छ, बलियो नेतृत्वको आवश्यकता छ।

र, हाम्रो स्वयं नेतृत्वले नै एउटा पार्टीको केही हिस्सा बोक्ने भएको हुनाले त्यो नेतृत्व एकदम बलियो हुनुपर्छ र त्यसको लागि केपी ओली उत्तम पात्र हुनुहुन्छ भन्ने हिसाबले बहसहरू चलेका छन्। योग्यमध्येमा पनि योग्यतम नेतृत्व चाहिँ अहिलेको आवश्यकता हो र त्यो जिम्मेवारीलाई पूरा गर्नको निम्ति केपी शर्मा ओली अगाडि बढ्नुपर्छ भन्ने हिसाबले बहस-चर्चाहरू भइरहेको स्थिति हो ।

अनि उहाँ साइडमा बसेर पार्टीलाई गाइड गर्दै अर्को नेतृत्वमार्फत पार्टी चलाउने अभ्यासतर्फ जान सकिंदैन त ?

सामान्यतया तपाईंले भन्नुभएको कुरा बहसका विषयहरू हुन सक्छन्। तर, परोक्ष रूपमा नेतृत्व गर्ने र बाहिर बसेर नेतृत्व गर्ने पक्ष फरक कुरा हो । कार्यकारी ठाउँमा रहेर गर्ने नेतृत्व र बाहिर बसेर डेकोरेटिभ हिसाबले दिने सुझावहरू फरक कुराहरू हुन्छन्।

अहिले प्रत्यक्ष रूपमा संलग्न भएर आम पार्टी पङ्क्तिलाई एकताबद्ध गराएर अरू आक्रमणहरू जुन भइरहेका छन् नेकपा एमाले र केपी ओलीप्रति, ती सबै कुराहरूलाई निस्तेज गर्नको निम्ति उहाँको अनिवार्य आवश्यकता चाहिं महसुस हुँदै गइरहेको स्थिति देखा परेको छ ।

त्यसकारणले गर्दा यो महाधिवेशनबाट पनि मलाई लाग्छ, यही खालको एउटा अभ्यास हुन सक्छ, त्यही खालको निर्णय बाहिर आउन सक्छ।

विद्या भण्डारी जो पार्टीको पहिले उपाध्यक्ष पनि हुनुहुन्थ्यो, पूर्व राष्ट्रपति पनि हुनुहुन्छ र मदन भण्डारीसँगको उहाँको एउटा लिगेसी पनि जोडिएको छ। तर उहाँले अहिले पार्टीका गतिविधिहरू चाहिँ ठीक भएनन्, पार्टीको कार्यशैली सही ढङ्गले अगाडि बढेको छैन भनेर ुरिजर्भेसनु बाहिरबाट राख्नुभयो ।

उहाँको त सदस्यता पनि नवीकरण गरिएन । अहिले उहाँको सदाशयता र समर्थन पाएका नेताहरूले एउटा अवधारणा पत्रु पार्टीमा बुझाउनुभएको छ। ती अवधारणा पत्रमा आएका विषयवस्तुहरूलाई चाहिँ तपाईंले कसरी हेर्नुहुन्छ ?

नेकपा एमालेले कमरेड मदन भण्डारीलाई समुचित ढङ्गले सम्मान गर्ने र उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्ने कुरा गरेको छ । उहाँ कुनै एउटा परिवारसँग लिगेसी राख्ने व्यक्तित्व मात्र हुनुहुन्थेन भन्ने कुरालाई नेकपा एमालेले राम्रोसँग बुझेको छ।

दोस्रो कुरा, नेतृत्वमा आउनको निम्ति, नेतृत्वमा आफू स्थापित हुनका निम्ति कतिपय राजनीतिक विषयवस्तुहरूलाई छातीको रूपमा प्रयोग गर्ने प्रचलन आइरहेको छ। सामान्यतया हेर्दाखेरिमा वामपन्थी एकताको कुरा सुन्दा धेरै आकर्षक कुरा हो। तर, यसका धेरै स्टेपहरू छन् भन्ने लाग्छ ।

किनभने, विगतमा पनि हामीले त्यो खालको अभ्यास गर्यौँ र त्यसलाई हामीले जोगाउन पनि सकेनौँ। कार्यगत एकता, सहकार्य, संयुक्त मोर्चा र त्यसपछि मात्रै पार्टी एकताको तहसम्म जानुपर्छ भन्ने कुरा त हाम्रा अभ्यासहरूले देखाइसकेको विषय हो ।

अर्को कुरा, सामूहिकतामा नेकपा एमाले छैन भन्ने कुरा जुन देखाउन खोजिएको छ, त्यो आफैंमा पनि प्र्याक्टिकल्ली र हाम्रा अभ्यासहरूले देखाएको हिसाबले त्यति सान्दर्भिक होइन। किनभने सबै निर्णयहरू पार्टीका कमिटीमार्फत, बहुमत र अल्पमतका मार्फत या सहमतिका मार्फत गरिने विषय हो ।

अहिलेको विशेष परिस्थितिमा पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबूत बनाउनका निम्ति पनि यदि त्यस खालका फेरबदलहरू उपयोगी हुन सक्छन् भने किन नगर्ने भन्ने बहस मात्रै चलेको हो ।

र, नेता (अध्यक्ष) आफैंमा पनि एउटा संस्थाको प्रतिनिधि भएको हुनाले उसले अभ्यास गर्ने, एक्सरसाइज गर्ने केही शक्तिहरू हुन्छन् । त्यो हरेक ठाउँमा हुने कुरा हुन् । त्यसलाई व्यक्ति केन्द्रित वा सङ्कुचन भनेर बुझ्नुहुन्न ।

विधान महाधिवेशनले पार्टीका पदाधिकारी र केन्द्रीय समितिको सङ्ख्या घटाउने भनेर एउटा निर्णय गरेको थियो। अब अहिले नेताहरूको व्यवस्थापन गर्न गाह्रो भएपछि पदाधिकारीको सङ्ख्या पनि पुरानै कायम गर्ने, केन्द्रीय समितिको सङ्ख्या पनि बढाउने हुन लागेको भन्ने सुनिन्छ। यसरी आफूकेन्द्रित र आफ्नो सहजता र असहजतामा पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य सङ्ख्या फेरबदल गर्ने कुरालाई तपाईंले कसरी हेर्नुभएको छ ?

कतिपय कुराहरू तत्कालीन परिस्थितिलाई हेरेर हामीले निर्धारण गर्छौं। विधान महाधिवेशन त्यो बेलामा भयो, जुन बेलामा यो (जेन्जी) को मुभमेन्ट आइसकेको थिएन । र, अहिले आएर हाम्रो पार्टीको विधान महाधिवेशनले गरेका कतिपय संरचनागत कुराहरूलाई पार्टीको राष्ट्रिय महाधिवेशनले पनि परिवर्तन गर्न सक्ने एउटा प्रावधान त छँदै छ ।

अहिलेको विशेष परिस्थितिमा पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबूत बनाउनका निम्ति पनि यदि त्यस खालका फेरबदलहरू उपयोगी हुन सक्छन् भने किन नगर्ने भन्ने बहस मात्रै चलेको हो । यसमा टुङ्गोमा पुगिसकेको स्थिति चाहिँ मैले देखिरहेको छैन। टुङ्गोमा पुगिहाल्यो भने पनि त्यो कुनै अन्यथा विषय होइन र त्यसले नेकपा एमालेलाई कमजोर बनाउँछ भन्ने मलाई लाग्दैन।

यो महाधिवेशनले दिने सन्देश के हुन्छ रु चुनाव हुन लागेको छ, एमालेले दल दर्ता पनि गरिसकेको छ। तर फेरि प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा पनि अदालतमा दर्ता गरेको छ। यो महाधिवेशन पछाडि एमालेको बाटो कता हुन्छ ?

महाधिवेशन उद्घाटन समारोहमा जुन जनसमुदायको विशाल उपस्थिति हुनेछ, त्यसले नेकपा एमाले कमजोर भएको छैन र यो देशको मूल राजनीतिक शक्ति हो भन्ने कुरालाई हामीले सन्देश दिन खोजिरहेका छौँ ।

दोस्रो कुरा, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भइरहँदा पनि पार्टी एकताबद्ध, सुदृढ सङ्गठन र आम कार्यकर्ता पङ्क्तिको अपनत्व भएको पार्टी हो भन्ने कुरा हामी सन्देश दिन खोजिरहेका छौँ।

अहिलेसम्म निर्वाचनको वातावरण सरकारले सुनिश्चित गरिसकेको जस्तो हामीले महसुस गरिरहेका छैनौँ। प्रतिनिधि सभा जसरी असंवैधानिक तरिकाले विघटन गरियो, त्यसले संविधानको मर्ममाथि प्रहार गर्यो, त्यो संविधानलाई लिगबाट बाहिर लैजाने काम भयो।

यदि त्यसलाई पुनर्स्थापित गरेर जाने हो भने संविधान ट्र्याकमा हुनेछ । र, पुनर्स्थापित संसद्ले सर्वपक्षीय (जेएनयू सहितको) सर्वदलीय एउटा सरकार गठन गरेर अब चुनावलाई व्यवस्थित गर्ने र संविधानका केही प्रावधानहरूलाई पनि संशोधन गर्न सक्नेछ भनेर हाम्रो पार्टीले अगाडि सारेको छ।

यदि प्रतिनिधि सभा पुनर्स्थापना भयो भने अहिलेको सबभन्दा राम्रो निकास हुनेछ। यदि भएन भने पनि नेकपा एमाले निर्वाचनबाट भाग्ने कुरा होइन। निर्वाचनको वातावरण बनाउने र दलहरूलाई संवादमा लिएर आएर सरकारले त्यस खालको वातावरण बनायो भने नेकपा एमाले पछि हट्ने भन्ने कुरा चाहिँ आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?