+
+

डिल्ली चौधरी : कमैया मुक्तिको आन्दोलनदेखि मुख्यमन्त्रीसम्म

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० वैशाख १४ गते १८:५६

१४ वैशाख, दाङ । सत्ता समीकरणमा भएको फेरबदलको लाभ लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले पाएका छन् । विश्वासको मत नपाएर एमालेका लिला गिरी नेतृत्वको सरकारले ढलेसँगै डिल्ली चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् ।

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरे । प्रदेशसभाको अघिल्लो कार्यकालमा मन्त्री बनेका उनी यसपटक मुख्यमन्त्री बन्ने अवसर पाए ।

चौधरी भने सामाजिक आन्दोलन पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । उनी थारु कमैया, कमलहरीहरुमा शैक्षिक जागरणको अभियान सुरु गर्ने राजनीतिकर्मी हुन् ।

निम्न वर्गीय परिवारमा जन्मिएका चौधरीका बाबु टुकलाल चौधरी जिल्ला पञ्चायत सदस्य र गाउँ पञ्चायतको उपप्रधानपञ्चसम्म भएका थिए ।

२०२६ असार १५ मा दाङको तुलसीपुरमा जन्मिएका डिल्ली १७ वर्षकै उमेरदेखि नै उनी सामाजिक काममा सक्रिय थिए । ०४८ सालमा उनले बेस (ब्याकवार्ड सोसाइटी एजुकेशन) नामक गैरसरकारी संस्थाबाट कमैया र कमलरीलाई शिक्षाको पहुँचमा ल्याउने अभियान सुरु गरे ।

चौधरीले दाङसहित पश्चिम तराइका, बाँके, बर्दिया कैलाली, कञ्चनपुरमा पछाडि परेका आदिवासी थारुहरुलाई शिक्षा सारक्षरताको कामको थालनी गरे । गाउँ–गाउँमा गएर प्रौढ कक्षाहरु चलाए ।

‘त्यो बेला कमैया कमलरीहरुलाई शिक्षाबाट बञ्चित गराइएको अवस्था थियो’ उनका समकालीन राजनीतिकर्मी एवं कांग्रेसका नेता डा. नहकुल केसी भन्छन्, ‘खास गरी थारु कमैया कमलरीका बालबालिकाहरुलाई शिक्षित बनाउने अभियन्ताका रुपमा काम गर्नुभयो । उहाँ सामाजिक पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको व्यक्ति हो ।’

२०५२ सालबाट डिल्ली चौधरीले कमैया मुक्तिको आन्दोलनको नेतृत्व गरे । त्यसबेला दाङसहित पश्चिम तराइमा कमैया प्रथा व्याप्त थियो । पछि जमिनदारी प्रथा विरुद्ध थारु मुक्तिको आन्दोलनलाई चर्काउने र नेतृत्व डिल्ली चौधरीको नेतृत्वको संस्था बेसले ग¥यो । त्यतिबेला संयुक्त परिचालन समिति गरेर आन्दोलनलाई गाउँ गाउँबाट चर्कियो ।

त्यही समितिबाट प्रशासन अघि धर्ना बसेर कमैया मुत्ति आन्दोलनका कार्यक्रमहरु सुरु भयो । त्यसपछि थुप्रै कमैयाहरु साहुका घरबाट विद्रोह गरेर आन्दोलनमा सहभागी हुन थाले । काठमाडौंमा समेत पुगेर दिनहुँ धर्ना र प्रदर्शन गर्न थालेपछि सरकारको ध्यानाकर्षण भयो । र, ०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो ।

पछि कमैया मुक्ति आन्दोलनको नेतृत्व र थारु समुदायमा शिक्षाको जागरण ल्याउने काम गरेवापत उनी थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान समेत पाए । उनले अमेरिकाले दिने अशोका फेलोसिप अवार्ड र रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारलगायतका पुरस्कार प्राप्त गरेका छन् ।

राजनीति यात्रा

बेस नामक गैर सरकारी संस्थाबाट थारु समुदायमा शैक्षिक अभियान र मुक्त कमैयाको आन्दोलनका थालेका उनको राजनीतिक उदय त्यहीँबाट भयो ।

पछि उनी ०५७ सालको कमैया मुक्त आान्दोलनदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा निकट बनेका थिए । त्यसपछि उनी राजनीतिमा सक्रिय हुन थाले । २०६४ सालमा दाङ क्षेत्र–४ बाट उनले संविधानसभा निर्वाचनको टिकट पाएका थिए । तर माओवादीका नेता शिवराज गौतमसँग पराजित भए ।

०७० सालबाट भने उनले प्रत्यक्षमा टिकट पाएनन्, समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका उनी ९ महिना श्रम राज्यमन्त्री बनेका थिए ।

०७४ को निर्वाचनमा उनी दाङ–३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । त्यतिबेला कुलप्रसाद केसी नेतृत्व सरकारको ०७८ देखि ०८९ सम्म प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री बने । ०७९ साल गत मंसिर ४ गतेको निर्वाचनमा पनि उनी एमालेका घनश्याम पाण्डेलाई हराउँदै दाङ–३ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका उनी अहिले उनी लुम्बिनी प्रदेशेको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?