+
+

महानगरको चेतावनीपछि सेवाप्रदायकले नै थाले तार व्यवस्थापन

‘बन्डलिङ’ गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते २१:३०

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालााई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं तार हटाउने छ । तर, समयसीमा नसकिंदै महानगरभित्र तार व्यवस्थापन सुरु भएको छ ।

महानगरले दिएको चेतावनीका आधारमा इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरु आफैं तार व्यवस्थापनका लागि अग्रसर भएका छन् । यसअनुसार अब महानगरले चेतावनी दिएजस्तो तार काटेर हैन, तार बन्डलिङ (मूठो बनाएर) गरेर व्यवस्थापन हुनेछ ।

अब केबल टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले संयुक्त रुपमा तारको व्यवस्थापन गर्ने छन् ।

आइतबार सेवा प्रदायक कम्पनीहरु, सुरक्षा निकाय र महानगर प्रहरीसहित बैठक बसेर रुट छनोट गर्दै प्राथमिकीकरण गर्दै तार व्यवस्थापन गर्ने निर्णय गरेका थिए । सोमबार माइती घर मण्डलादेखि नयाँ बानेश्वरतर्फको सडकखण्ड र न्यूरोड गेटदेखि बसन्तपुरतर्फको सडक खण्डमा व्यवस्थापनको काम सुरु गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

माइतीघरतर्फ कामको नेतृत्व डिस होमका यादव तिमल्सिनाले र नयाँ सडकतर्फ कामको नेतृत्व वल्र्डलिङ्का सहदेव वरुवालले गरिरहेका छन् ।

‘कामका लागि सेवाप्रदायक कम्पनीले दुवै रुटमा २÷२ जना खटिएका छन् । काम हरेक दिन विहान साढे ७ बजेदेखि साढे ३ बजेसम्म हुनेछ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।

उनले काममा एकरुपता ल्याउन भन्दै तार व्यवस्थापन गर्न धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु आएको बताए । ‘तार व्यवस्थापनका क्रममा सेवा अवरुद्ध भयो भने सेवाग्राहीमा परेको असरको जिम्मेवार सेवाप्रदायक नै हुने भएकाले नेट कम्पनीहरु आएका छन्,’ पाण्डेले भने । हरेक दिन काम रोकिएको ठाउँबाट नै विहान काम सुरु गर्ने योजना छ ।

तार व्यवस्थापनका लागि विधि पनि तय भएको छ । सुरुमा सेवा प्रदायकले पोलमा टाँगिएका तार भुइँमा खसाल्छन् । प्रयोगमा रहेका तारहरू पहिचान गरेर अरू अनावश्यक र पुराना तार हटाउँछन् । र,  सडकको सीमाभन्दा बाहिर पर्ने गरी तार राख्छन् ।

सडक वारपार गराउँदा कम्तिमा ५ सय मिटर दूरीसम्मको क्षेत्रमा एउटै पोलबाट कनेक्सन दिने, एउटै पोलबाट सबै सेवा प्रदायकको केबल पास गराउने, ट्रङ्क फाइबरको जोइन्ट लुप १२ मिटरभन्दा बढी नराख्ने विधि पनि बनाइएको छ ।

इन्टरनेटको तारको वितरण बक्स (डीबी बक्स) लाई व्यवस्थित राख्ने, हरेक पोलको दुवैतर्फ र हरेक ५ मिटरमा केवल बन्डलिङ गरेर व्यवस्थापन गर्ने योजनाअनुसार काम सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?