 
																			५ असार, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने ४ अर्बको कारोबार भएको नेप्सेमा मंगलबार घटेर ४ अर्ब ११ करोड ६ लाखको कारोबार भएको छ । ६३ हजार ९५० वटा कारोबारमा १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
सोमबारसम्म लगातार ९ दिन बढ्दा १९१ अंक भन्दा माथिले वृद्धि भएको नेप्से सामबार १०औं दिनमा आएर एकल अंकको सामान्य गिरावट भएकोमा मंगलबार पनि घट्ने क्रमले निरन्तरता पाएको हो । लगानी, उत्पादनमूलक र व्यापार उपसूचकमा सामान्य वृद्धि भएको छ भने बैंकिङ उपसूचकमा समान्य मात्रै गिरावट भएपनि बीमा हाइड्रोपावर, वित्त कम्पनी र विकास बैंक उपसूचकमा उच्च अंकको गिरावट हुँदा नेप्सेमा पनि १.२७ प्रतिशतले गिरावट भएको हो ।
मंगलबार लगानी उपसूचक सर्वाधिक ०.७३ प्रतिशतले वृद्धि हुँदा उत्पादनमूलक उपसूचक ०.१७ प्रतिशत र व्यापार उपसूचक ०.०१ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचकमा ०.०७ प्रतिशले मात्रै गिरावट भएपनि वित्त कम्पनी उपसूचक ३.७० प्रतिशत, जीवन बीमा उपसूचक २.७५ प्रतिशत, अन्य उपसूचक २.४३ प्रतिशत,निर्जीवन बीमा उपसूचक २.३९ प्रतिशत, लघुवित्त उपसूचक २.१६ प्रतिशतले घटेको छ । यस्तै हाइड्रोपावर उपसूचक २.४६ प्रतिशत र विकास बैंक उपसूचकमा १.५२ प्रतिशतले गिरावट भएको हो ।
घटेको बजारमा मंगलबार नेपाल इन्फ्रास्ट्रचर बैंकको सर्वाधिक २० करोड ५८ लाखको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको १९ करोड ४४ लाख र हिमालयन डिस्टिलरीको १३ करोड ६० लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेका छन् । यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये सिटी होटलको सेयरमूल्य १० प्रतिशत, बीपीडब्ल्यू लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत, इङ्वा हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यता युनिक नेपाल लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सानिमा इक्विटी फण्डको इकाइमूल्य ८.८९ प्रतिशत र मानुषी लघुवित्तको सेयरमूल्य ७.४८ प्रतिशतले गिरावट भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4