+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हुलाकी राजमार्गको काम रोकिएपछि जनप्रतिनिधि नै भोक हड्तालमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १९:१६

७ असार, विराटनगर। हुलाकी राजमार्ग निर्माणको काम रोकिएपछि मोरङको कटहरीका जनप्रतिनिधिले भोक हडताल सुरु गरेका छन्।

बिहीबारदेखि कटहरी गाउँपालिका-३ का जनप्रतिनिधिले अनिश्चितकालीन भोक हड्ताल सुरु गरेका हुन्।

गाउँपालिकाको कार्यालय अगाडि वडाध्यक्ष जदुलाल कामत, वडा सदस्यहरु वल्सी दास तत्मा, शंकर पासवान, दुखनीकुमारी पासवान र सुलेखादेवी गनगाइंलगायतका जनप्रतिनिधि भोक हड्ताल बसेका हुन्। उनीहरुसँगै केही स्थानीय वासिन्दा पनि भोक हडतालमा बसेका छन्।

निर्माणाधीन सडकको खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको र सवारी साधन चलाउन मुश्किल परेपछि स्थानीयले आन्दोलन गरेका थिए।

आन्दोलनमा उत्रिएका स्थानीयले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले राजेश कामतलाई पक्राउ गरेको छ, अन्य केही स्थानीय बासिन्दाले पक्राउ पर्ने डरले गाउँ छाडेका छन् ।

तोडफोडमा संलग्न चार जनालाई मुद्दा चलाउन गाउँपालिका अध्यक्ष देवराज चौधरीले प्रहरीमा उजुरी गरेको भन्दै स्थानीय बासिन्दा झन्  आन्दोलित भएका छन् । पक्राउ परेकालाई छाड्न र सडक निर्माण तत्काल सुरु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको वडा अध्यक्ष जदुलाल कामतले बताए ।

४ वर्षअघि निर्माण सुरु गरिएको राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती भएको उनले बताए। गाउँपालिकाभित्र पर्ने सडकको खाल्डाका कारण दुर्घटना हुँदा ३ जनाको मृत्यु भइसकेको उनले गुनासो गरे।

पूर्व-पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणका लागि मोरङ खण्डमा ५ वटा निर्माण कम्पनीले काम गरिरहेका थिए।

३ वर्षभित्रमा ४ लेन सडक निर्माण गर्ने सम्झौतासहित २०७६ सालमा ठेक्का सम्झौता भएपनि म्याद थप गरेर २०८० कात्तिकसम्म पुर्‍याइएको छ। रंगेलीको बेतौनादेखि पश्चिम विराटनगरको काम भने अलपत्र छाडिएको छ।

काम छाडेका कारण वर्खामा हिलो र हिउँदमा धूलोका  कारण यात्रा गर्न कठिन छ। कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले राजमार्गमा निर्माणमा आफूहरुले पहल गरिरहेको बताए।

यसअघि वैशाख २१ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर मोरङका प्रतिनिधिसभा सदस्य, कोशी प्रदेशका प्रदेशसभा सदस्य (प्रदेश सांसद) तथा स्थानीय तहका प्रमुखहरुले तत्काल काम सुरु नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए।

हुलाकी राजमार्गको मोरङ खण्डमा रंगेली क्षेत्रको साढे ७  किलोमिटर सडक निर्माणका काम सकिएको छ। अन्य क्षेत्रको काम रोकिएको छ। हुलाकी मार्गको लिङ्क रोडको काम पनि ठप्प छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका राजमार्गको रतुवामाइदेखि रंगेलीको भूमि टोलसम्म १६ किलोमिटर निर्माणको ठेक्का पिएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ। यो खण्डको काम सुस्तगतीमा छ।

भूमि टोलदेखि बेतौनासम्म साढे सात किलोमिटर निर्माणको ठेक्का कालिका मैनाचुली वेदाङ्सी जेभीले पाएको थियो। यो खण्डको काम भने ठेकेदारले कम्पनीले समयमा नै पूरा गरेको थियो।

बेतौनाबाट कटहरीको नयाँ बजारसम्म १२  किलोमिटर निर्माणको ठेक्का पीएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ। नयाँ बजारदेखि विराटनगर हाटखोलासम्म ६ किलोमिटरको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले लिएको छ।

विराटनगर जमुनगाछीदेखि केसलीया खोलासम्म चार किलोमिटर देव एण्ड सायर भूमि जेभीले ठेक्का लिएको छ।

हुलाकी राजमार्गले  विराटनगर महानगरपालिकासहित मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रलाई समेटेको छ।

६ वटै पालिकाका सर्वसाधारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकका यात्रा गर्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?