
लगातार पाँच दिनसम्म चिप्लो रगत मिसिएको दिसा आउनुलाई आउँ अर्थात् रगतमासी भनिन्छ । आउँ ब्याक्टेरियाका कारणले हुन्छ । यसलाई अंग्रेजीमा डिसेन्ट्री (रगतमासी) भनिन्छ । यो रोग ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा कारणले हुने गर्छ । खासगरी शिगेला, साल्मोनेला, कम्पाइलोब्याक्टर, इ–कोली जस्ता व्याक्टेरियाका कारण हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यस्तो समस्या साइटोमेगालो भाइरसको कारणले हुने गर्छ । तर प्राय: एन्टामोइबा हिस्टोलाइटिका नामक प्रोटोजोवाको कारणले गर्दा पनि लाग्छ । सरसफाइकझ कमी, राम्रोसँग नपाइएका प्रदूषित खानेकुरा, दूषित पानी, स्विमिङ गर्दा पानी पिएमा, बासी, सडेगलेका तथा झिंगा भन्किएका खाना सेवन गर्दा संक्रमण हुन्छ ।
लक्षण
यो रोगबाट संक्रमित भएपछि दिसामा रगत देखा पर्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, दिसा गर्ने बेलामा पूरै दिसा ननिस्किएको जस्तो महसुस हुने, तौल घट्ने लक्षण देखिन्छन् ।
उपचार
दिसाको रुटिन, कल्चर र टक्सिनको जाँच गरेर संक्रमण गर्ने जीवाणु पत्ता लगाई उपचार गर्न सकिन्छ । शंका लागेमा चिकित्सकको परामर्श अनुसार एन्टिबायोटिक लिन सकिन्छ । साथै लक्षणअनुसारको जलवियोजन रोक्न ओरल रिहाइड्रेसन सोलुसन (जीवन जल) तथा पेट दुखाइ रोक्ने औषधि, झोलिलो खानेकुरा खानुपर्छ । तर पखाला रोक्ने एन्टिमोटीलिटी औषधि प्रयोग गर्दा समस्या बढ्न सक्छ ।
जोखिम
रोगको समयमा उपचार हुन नसकेमा जलवियोजन हुने, जोर्नी सुन्निने-दुख्ने, मिर्गौलामा समस्या हुने, स्नायु प्रणालीमा असर गर्न सक्छ । जसकारण होस हराउने, मिर्गी जस्ता जटिल समस्या पनि देखा पर्न सक्छन् । कलेजोमा तथा अन्य अंगमा पिप जम्ने जोखिम हुन्छ । यसको लागि एन्टिप्रोटोजोएल औषधि प्रयोग गर्न सकिन्छ ।
रोकथाम
यस रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान पुर्याउने, सागसब्जी, फलफूल खानुअघि राम्ररी सफा गरेर पखालेर सेवन गर्ने, दिसा गएपछि, खाना खानु वा बनाउनुअघि राम्ररी साबुन पानीले हात धुने, घर वा बाहिर हुँदा प्रशोधित र उमालेको पानी पिउने उपाय अपनाउन सकिन्छ ।
(डा. बाँस्तोला ट्रपिकल मेडिसिन विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4