 
																			राजनीति नीतिसँग जोडिन्छ। नीति विना राजनीतिको परिकल्पना गरिंदैन। त्यस्तै नेता विना पनि राजनीतिको परिकल्पना हुँदैन। यस अर्थमा नेता, नीति र राजनीति सँगसँगै आउने कुरा हुन्। राजनीति गर्नेले नै नीति बनाउने र नीतिको कार्यान्वयन गर्ने हो।
हरेक देशमा राजनीति सबैभन्दा माथि हुन्छ। राजनीतिले नै देशको भविष्य निर्धारण गर्छ। राजनीतिले हरेक मानिसको हरेक मोडमा छोएको हुन्छ।
हरेक राजनीतिक दलको आफ्नै आदर्श, सिद्धान्त र नीति हुनुपर्छ र हुन्छ पनि। के यस्ता आदर्श र सिद्धान्त देशको आवश्यकता, जनताको दैनिकी र जनजीविकासँग प्रत्यक्ष सम्बन्धित हुन्छन् ? के यी आदर्श, सिद्धान्त र नीतिहरू व्यवहारमा पनि लागू हुन्छन्? कसले बनाउँछ यस्ता नीतिहरू? कसरी बन्छन् राजनीतिक दलका नीतिहरू? यी प्रश्न महत्वपूर्ण हुन्छन्।
 नीति ठूलो कि नेता? राजनीतिक दलमा नेताले नै नीति बनाउने हुनाले हामीलाई लाग्ला नेता नै ठूलो हुनुपर्ने हो! तर, नीतिलाई मानेर वा नीति अन्तर्गत बसेर नेताले काम गर्नुपर्ने हुनाले, नीतिले नै राजनीतिक दलको परिधि र सीमा तोक्ने हुनाले कुनै पनि नेता नीति भन्दा माथि हुँदैन।
नीति ठूलो कि नेता? राजनीतिक दलमा नेताले नै नीति बनाउने हुनाले हामीलाई लाग्ला नेता नै ठूलो हुनुपर्ने हो! तर, नीतिलाई मानेर वा नीति अन्तर्गत बसेर नेताले काम गर्नुपर्ने हुनाले, नीतिले नै राजनीतिक दलको परिधि र सीमा तोक्ने हुनाले कुनै पनि नेता नीति भन्दा माथि हुँदैन।
व्यवहारमा हेर्ने हो भने नेपालका हरेकजसो राजनीतिक दलमा नेतालाई नै सर्वोपरि मान्ने प्रचलन छ। नेताले बोलेको अकाट्य हुने, आफ्नो निर्णय दल र आफ्नै दलका अरु नेता र कार्यकर्तामाथि लाद्ने प्रचलन व्यापक छ।
कुनै एक वाद वा सिद्धान्त अँगालेकै भरमा त्यो देश धनी वा गरीब हुने भए हाम्रै उत्तर वा दक्षिणमध्ये एक देश एकदम गरीब र अर्को देश एकदम धनी हुनुपर्ने हो। किनकि, हाम्रा दुई छिमेकी दुई भिन्न राजनीतिक प्रणाली मान्ने देशहरू हुन् र दुवै देश विकासको तीव्र गतिमा छन्। हामी भने न दुवै देशबाट सिकेर वा उनीहरूको सहयोगले केही गर्न सक्छौं न आफ्नै बल र बुतामा।
संयुक्त्त अरब इमिरेट्समा लोकतन्त्र छैन। त्यहाँ एकतन्त्रीय जहानियाँ शासन छ। तर पनि त्यहाँ विकासको चरम नमूना देख्न सकिन्छ। हाम्रै छिमेकी मुलुक चीनमा कम्युनिज्म छ। अहिले चीनको विकासको गति र त्यहाँको आर्थिक विकास देखेर हरेक मानिस छक्क पर्छ। अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता मुलुकमा लोकतन्त्र र विकास पनि छ।
नेपालमा यी तीनै किसिमका अर्थात् पञ्चायतकालमा एकतन्त्रीय शासन, बहुदल आएपछि लोकतन्त्रलाई आफ्नो आदर्श, मूल्य र मान्यता मान्ने दलहरूको शासन, सरकार र आफूलाई विश्वकै उत्कृष्ट कम्युनिष्ट भन्नेहरूको शासन वा सरकार गरी सबै दलको शासन नेपाली जनताले देखे र भोगे पनि। तर पनि, खै कहाँ पुग्यो नेपालको आर्थिक विकासको एजेन्डा ?
दु:खसाथ भन्नुपर्छ, अहिले पनि नेपाल र अधिकांश नेपालीको अवस्थामा खासै तात्विक फरक आएको छैन।
प्रजातन्त्र नै विकास र समृद्धिको आधार हो वा अर्थतन्त्र उकास्ने एक मात्रै साध्य र साधन हो भन्ने मान्ने हो भने गएको तीन दशकमा नेपालको अर्थतन्त्र र नेपालीको जीवनस्तर निकै उकासिनुपर्ने हो। त्यस्तो हुनसकेको छैन। किन भएन त्यस्तो? यसको उत्तर तीन दशकदेखि आलोपालो शासन गर्ने सबै दलका नेताले दिनु जरुरी छ।
यदि कुनै वाद वा सिद्धान्तले आशातित रूपमा विकास र समृद्धिको ढोका खुला गर्न सक्दैन र आम जनताको जीवनस्तरमा आमूल रूपमा परिवर्तन गर्न सक्दैन भने त्यसको जिम्मेवारी दलले लिनुपर्छ।
कुन सरकारले कस्तो नीति ल्यायो र कुन सरकार कसरी चलेको छ सबैको चासोको विषय हो। धेरैजसो सरकारका नीति र कार्यक्रमहरू अनुसन्धान, तयारी र छलफल विना नै आर्थिक पक्ष र नेताको लहडको भरमा लोकप्रियताका लागि मात्रै घोषणा गरिएका हुन्छन्। यसैले विकासको कुरा गर्दा अहिलेसम्म नेपालमा ठोस उपलब्धि हुनसकेको छैन।
सामान्य जनताको मुख्य चासो आफ्नो दैनिकी कसरी चलाउने भन्ने हुन्छ। वाद वा सिद्धान्त जस्तोसुकै भए पनि आम जनतालाई खासै फरक पर्दैन, यदि त्यसले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकेको छैन भने। त्यसैले राजनीतिक दल र तिनका नेताहरूको ध्यान आफ्नो वादको प्रचारप्रसार गर्नुमा हैन, देशको समृद्धि र हरेक जनताको जीवनस्तर उकास्ने गरी नीति र कार्यक्रम ल्याउनु र त्यसैलाई ठोस रुपमा लागू गर्नुमा केन्द्रित हुनु जरुरी छ।
मेरो अनुभवमा बेलायतको कुरा गर्ने हो भने ठूला वा सरकारमा जाने हरेक राजनीतिक दलको हरेक वर्ष अधिवेशन वा वार्षिक सम्मेलन हुन्छ। त्यस्ता वार्षिक सम्मेलनको मुख्य एजेन्डा दलका सदस्य, शुभचिन्तक र हरेक क्षेत्रका विशेषज्ञलाई आमन्त्रण गरेर आफ्नो दलको भावी रणनीति र कार्यक्रम तय गर्नु हुन्छ। यसरी विशेषज्ञ आमन्त्रण गर्दा आफ्नो दलसँग आबद्ध हुनु वा नहुनु कुनै फरक पर्दैन। विशेषज्ञले आफ्नो क्षेत्रको राय विशेषज्ञकै रूपमा राख्छन्। बेलायतमा राजनीतिक दलको नेता छान्न वार्षिक सम्मेलन कुर्ने चलन छैन।
नेपालमा भने राजनीतिक दलको अधिवेशन प्रायः नेता छान्नमा नै बित्छ। नेताको काम भने आफ्नै दलका अरु नेता र कार्यकर्ता व्यवस्थापन गर्नमा नै बित्छ। जित्नेको आफ्नै समिति वा समूह हुनु स्वाभाविक भए पनि हार्ने पनि आफ्नै समूह बनाउन व्यस्त हुन्छ। अनि हरेक पदका लागि भाग माग्दै सौदा गर्न पूरै ताकत र समय खर्च गर्नुपर्ने हुन्छ। हार्ने र जित्ने दुवै पक्ष वा नेतालाई आफ्नो दलको भावी रणनीति बनाउन कुनै चासो हुँदैन। बरु कसलाई के पद दिएर आफ्नो पक्षमा पार्ने भन्नेमा ध्यान दिन्छन्।
आजकल हरेक विचारधारा जस्तै समाजवाद, साम्यवाद, पूँजीवाद, उदारवाद आदि मान्ने दलहरूले समानता, सामाजिक न्याय, व्यक्तिगत स्वतन्त्रता, विधिको शासन जस्ता सिद्धान्त वा नीति स्वीकार गरेका हुन्छन्। तर, यतिले मात्रै जनताको समस्या हल हुँदैनन् र दलको नीति पूरा हुँदैन। दलको नीतिले देशलाई समृद्धिको बाटोमा अघि बढाउन सक्नुपर्छ। देश र जनताको आर्थिक स्तर उकास्न सक्नुपर्छ। हरेक तह र तप्काको समस्या समाधान गर्न सक्नुपर्छ। जनताको भावनालाई समेट्नुपर्छ।
राजनीतिज्ञ भनेको जनताप्रति विश्वास गर्ने र जनताले विश्वास गरेको मान्छे हो। जसले नीति मात्रै बनाउँदैन, जनताको दैनिक समस्या हल गर्न, देशलाई समृद्धिको बाटोमा हिंड्न र देशको भविष्य कोर्न समेत मद्दत गर्छ।
तर विडम्बना हाम्रो बुझाइ के छ भने कुनै योग्यता, अनुभव र दक्षता विना कुनै काम गर्न सकिन्छ भने त्यो राजनीति हो। नेपालको विगतको दृष्टान्त हेर्ने हो भने हरेक राजनीतिक दलहरूका नेताहरूले जनताको विश्वास जित्ने काम गर्न नसकेको हुनाले यो भनाइलाई बल पुगेको छ।
दूरदर्शिता, स्पष्ट दृष्टिकोण, निष्पक्षता, जवाफदेही र साहस राजनीतिक नेतामा हुनुपर्ने मुख्य गुण हुन्। कतिपय यी गुण आफैंमा आउने कुरा हुन् भने कतिपय भने अध्ययन र अनुभवबाट वा काममा पढेर, सिकेर, बुझेर वा जानेर हासिल गर्न सकिने कुरा हुन्।
राजनीतिक दलका नेताको काम अर्जुनदृष्टि राखेर सबै पक्षसँग छलफल गरेर देशका लागि नीति बनाउने हो। त्यस्ता नीतिहरू दलका सदस्यद्वारा चुनिएका प्रतिनिधिहरूसमक्ष राखेर अनुमोदन गराउने अनि, लागू गर्ने र गराउने हो। त्यस्ता नीतिहरू सफल कार्यान्वयन भए–नभएको अनुगमन गर्ने, गराउने काम पनि नेताकै हुन्छ।
साथै, यी सबै कुराको सफलता र असफलताको जिम्मा पनि नेता आफैंले लिने हो। यदि आफ्ना नीतिहरू असफल भए अरुको लागि मार्गप्रशस्त गरिदिने हो। त्यसपछि, जसले देश र जनताको लागि राम्रो नीति बनाउँछ उसैलाई अघि सार्ने हो। अनि मात्रै देश र जनताको लागि सोच्ने नेता मान्न सकिन्छ।
राजनीतिक दलका सदस्य वा कार्यकर्ताहरू पनि आफ्नो दलको नीति जान्नु, बुझ्नु र व्यवहारमा लागू गर्नु भन्दा नेताकै पछि लागेर ताली बजाउन ध्यान दिए जस्तो देखिन्छ। नेताले भनेको कुरा सही वा गलत के हो त्यसको विश्लेषण गर्ने क्षमता राजनीतिक दलकै अन्य नेता र कार्यकर्तामा छैन। उनीहरू केवल अन्धभक्त भएर नेताको समर्थन गर्छन्। नेपालमा राजनीतिक दलका कार्यकर्ताहरू नीति हैन नेतामुखी देखिन्छन्। यसले कुनै नेता खुसी त होला, तर गलत नीतिले देश र जनतालाई भने कुनै फाइदा हुँदैन।
नेपालका हरेक राजनीतिक दलले आफूलाई दिगो रूपमा देश र जनताप्रति समर्पित गर्ने दलको रूपमा विकास र स्थापित गर्ने हो भने जति नेतृत्व विकासमा ध्यान दिनु जरुरी छ, त्यत्तिकै आम नेपालीको जीवनस्तर उकास्ने नीति र तदनुरूपकै कार्यक्रम बनाएर लागू गर्न जरुरी छ। नेतामुखी राजनीतिक दल राजनीतिक मैदानमा लामो समय टिक्न सक्दैन। यसले दलभित्र नै गुट वा उपगुट खडा गर्न प्रश्रय दिन्छ। नेतालाई मनमौजी र सर्वोपरि बनाउँछ। दलको भूमिका कमजोर पार्छ। यसले आखिर देश र जनताको हित गर्दैन।
(बेलायतमा लेबर पार्टीका सक्रिय सदस्य रहेका लेखक बेलायतको पूर्व काउन्सिलर हुन्। उनी सन् २०१७ को आमनिर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसदको उम्मेदवार थिए।)
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4