 
																			६ भदौ, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सेयर स्थानीय बासिन्दाले बहिष्कार गरेका छन् । रोल्पामा खानी र दाङको तुलसीपुरमा उद्योग सञ्चालन गरिरहेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २९ साउनदेखि स्थानीयलाई साधारण सेयर (आईपीओ) मा आवेदन खुलाएको छ ।
सोनापुर सिमेन्ट्सले कम्पनीको कुल जारी पूँजीको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका सम्पूर्ण स्थानीयका लागि निस्कासन गर्ने धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
तर, आईपीओ खुलेको १० दिनमा ६ भदौसम्म कम्पनीको सेयरमा १२५ जना आवेदकले १४ हजार ३ सय ४० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका छन् । घोराही र तुलसीपुर उपमहानगरपालिकासहित दाङका सम्पूर्ण स्थानीय र रोल्पाका सम्पूर्ण स्थानीय तहका जनताले आवेदन दिन पाउने आईपीओमा स्थानीयको बहिष्कारका कारण यति कम चासो देखिएको हो ।
कम्पनीको आईपीओमा स्थानीयले ११ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नदिएमा आवेदन दिने अवधि २६ भदौसम्म थप हुनेछ ।
कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पाएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजारको ४० प्रतिशतले हुने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका (प्रिमियमबाहेक) १ करोड २३ लाख २०० कित्ता साधारण सेयर उद्योग प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको थियो ।
त्यसमध्ये जारी पूँजीको ३५ प्रतिशतले हुने १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसको १० प्रतिशतले हुने १० लाख ७६ हजार २६८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि २९ साउनबाट नै निस्कानस खुला गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि पनि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसा मूल्य तय गरिएको छ ।
सर्वसाधारणमा निष्कासन गरिने सेयरको ५ प्रतिशतले हुने ५ लाख ३८ हजार १३४ कित्ता सेयर सामूहिक लगानी कोषको लागि र थप ५ लाख ३८ हजार १३३ किध सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहने ८६ लाख १० हजार १४० कित्ता सर्वसाधारणका लागि निष्कासन हुने कम्पनीले जनाएको छ ।
वैदेशिक राजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएको सेयर बिक्री नभएका त्यो समेत थपेर सर्वसाधारणको लागि सार्वजनिक निष्कासन हुनेछ ।
कर्मचारीले प्रतिकित्ता २२५ रुपैयाँका दरले शेयरको आवेदन दिन सक्नेछन् भने सर्वसाधारण जनतालाई भने २३७ रुपैयाँ ५८ पैसा मूल्य तय तोकिएको छ ।
वैदेशिक राजगारीमा रहेका नेपालीहरूले भने आवेदन दिने म्याद अझै ५ दिन बाँकी हुँदै माग भन्दा बढी आवेदन दिइसकेका छन् । वैदेशिक रोजगारीमा रहेकालाई १० लाख ७६ हजार २६८ कित्ता सेयरको लागि आवेदन माग भएको छ, जसका लागि ११ भदौसम्म आवेदन दिन सकिनेछ । तर, ६ भदौको साँझसम्म २४ हजार ५७ जना आवेदकले १३ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
कम्पनीको वित्तीय विपरणमै शंका, ब्याज पूँजीकरण गरेर नाफा देखाइयो
कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा थियो । साधारण सेयर निस्कासन गर्ने उद्देश्यसहित कम्पनी आव ०७६/७७ मा पब्लिक लिमिटेड कम्पनी गएलगत्तै सोही आवदेखि नाफामा गएको देखिन्छ ।
प्रिमियममा आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार पुरा गरेको हुनुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा छ । त्यहीअनुरुप कम्पनीले योजना बनाएको देखिन्छ । त्यसअनुसार आर्थिक वर्ष ०७६/७७, आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ मा नाफामा रहेको वित्तीय विवरणको आधारमा कम्पनीले प्रिमियमा आरुईपीओ निष्कासनको स्वीकृति पाएको हो ।
उद्योगले ब्याज पूँजीकरण गरेकाले ती आर्थिक वर्षमा नाफा भएको देखिन्छ । ती तीन आर्थिक वर्षमा कम्पनीले करिब ८० करोड रुपैयाँ ब्याज पूँजीकरण गर्न पाएको छ । कुनै कम्पनीले भौतिक निर्माणका लिएको ऋणमा लाग्ने ब्याज सो निर्माण कार्य नसकिएसम्म पूँजीकरण गर्न पाउँछन् । अर्थात् त्यस अवधिमा तिरेको ब्याज खर्चमा देखाउनुपर्दैन । तर, उद्योग उद्योग सञ्चालनमा आएसँगै त्यसलाई क्रमशः भुक्तानी गर्दै जानुपर्ने हुन्छ ।
नेपाल राष्ट्र राष्ट्र बैंकले ग्रेस अवधिको पूँजीकृत ब्याजलाई छुट्टै लेखांकन गर्नुपर्ने र त्यसलाई आवधिक कर्जाका रुपमा भुक्तानी तालिका तय गर्नुपर्ने व्यवस्था गरेको छ । उद्योग सञ्चालनमा आएसँगै नियमित ऋण भुक्तानी तालिका र पूँजीकृत ब्याजको भुक्तानी तालिका फरक फरक हुन्छ । पूँजीकृत गरिएको ब्याज पनि कम्पनीको दायित्व नै हो ।
तर, कम्पनीले विवरणपत्रमा कुल लागत ८ अर्ब ७१ करोड दाबी गरेको छ । ०७८/७९ मा कम्पनीको दिर्घकालीन बैंक कर्जा ३ अर्ब ७० करोड १४ लाख ७४ हजार र अल्पकालीन बैंक कर्जा १ अर्ब ७९ करोड ९१ लाख २४ हजार रुपैयाँ रहेको दाबी गरेको छ । त्यसमध्ये दीर्घकालीन प्रकृतिको कर्जामा मात्रै ब्याज पूँजीकरण गर्न पाइन्छ । त्यसमध्ये पनि क्षमता विस्तारका लागि लिएको ऋणको ब्याज मात्रै पूँजीकरण गर्न पाइन्छ । तर, कम्पनीले सबै कर्जाको ब्याज पूँजीकरण गरेको वित्तीय विवरणमा देखिन्छ ।
कम्पनीको पुरानो ऋण बाँकी कति हो र क्षमता विस्तार गर्न लिएको ऋण कति हो भन्ने विवरणमा कम्पनीले नछुट्याएकाले सबै ऋणको ब्याज पूँजीकरण भएको प्रष्ट हुन्छ ।
अनलाइनखबरले विवरण माग्दा ४ अर्ब रुपैयाँ ऋण नयाँ परियोजनाको लागि लिएको कम्पनी स्रोतले बतायो । तर, त्यस्तो तथ्यांक विवणपत्रमा छैन ।
कम्पनीले पछिल्लो ३ आर्थिक वर्षमा सेयरधनीलाई लाभांश दिएको छैन । कम्पनीको चुक्ता पूँजी १ अर्ब ८४ करोड ५० लाख १९ हजार रुपैयाँ छ । कम्पनीको सञ्चित नाफा तथा जगेडाभन्दा बढी पूँजीकरण गरिएको ब्याज छ । यस आधारमा कम्पनीको ब्याजदर पूँजीकरण माथि आशंका गर्नुपर्ने देखिन्छ ।
| आर्थिक वर्ष | कम्पनीको नाफा | पूँजीकरण गरिएको ब्याज | 
| २०७६/७७ | १९ करोड ९ लाख ९१ हजार | २० करोड ४१ लाख ८० हजार रुपैयाँ | 
| २०७७/७८ | २९ करोड ७७ लाख ५७ हजार | २२ करोड ९० लाख ४९ हजार | 
| २०७८/७९ | ११ करोड ९३ लाख ४९ हजार | ३३ करोड ९३ लाख ६७ हजार | 
| २०७९/८० | १४ करोड ३९ लाख ६५ हजार | ४९ करोड ३७ लाख ३८ हजार | 
अल्पकालीन ऋणको ब्याज पूँजीकरण गर्न पाइँदैन । तर, ०८० असार मसान्तमा कम्पनीको चालु सापटीहरू (अल्पकालिन ऋण) २ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ छ । तर, अन्तिम लेखापरीक्ष नै नभएको गत आर्थिक वर्षको २०७९/८० को वित्तीय विवरणमा पनि ब्याज पूँजीकरण गर्नुले कम्पनीको संस्थागत सुशासनमाथि प्रश्न उठेको एक चार्टर्ड एकाउन्टेन्टले बताए । कम्पनीको वित्तीय विवरणमा डेडिकेटेड फिडरबापत तिर्नुपर्ने रकमलाई पनि नाफामा देखाइएको पाइएको थियो ।
यस्तो छ सोनापुर सिमेन्ट कम्पनी
३१ जेठ २०६५ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनीले ६ माघ २०६५ मा उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो । कम्पनीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा ८६ बिघा क्षेत्रफलमा फैलिएको प्लान्टबाट जेठ २०६९ बाट सिमेन्ट र क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सोना, सोनाश्रीलगायत ६ वटा ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उद्योग विभागबाट कम्पनीले १० पुस ०७५ मा पूँजी तथा क्षमता वृद्धि र विद्युत शक्ति थप गर्ने अनुमति पाएको थियो । त्यसपछि कम्पनीको ओपीसी सिमेन्ट उत्पादन क्षमता वार्षिक क्षमता १ लाख ७२ हजार ०७२ मेट्रिक टन, पीपीसी सिमेन्ट उत्पादन क्षमता वार्षिक ५ लाख ४९ हजार ४८० मेट्रिक टन र पीएससी सिमेन्ट उत्पादन क्षमता वार्षिक ४९ हजार ९२४ मेट्रिक टन पुगेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीको क्लिङ्कर उत्पादन क्षमता वार्षिक २ लाख १३ हजार ३५७ मेट्रिक टन र विद्युत उपभोग २२ हजार केभीए पुगेको विवरणपत्रमा उल्लेख छ ।
तीन वर्षदेखि घटिरहेको बिक्री एकै वर्षमा तीन गुणा बढाउने प्रक्षेपण
विगतका वर्षहरुमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी घट्दो क्रममा छ ।
| आर्थिक वर्ष | बिक्रीबाट हुने आम्दानी | 
| २०७६/७७ | २ अर्ब ६६ करोड ९० लाख | 
| २०७७/७८ | २ अर्ब ९२ करोड १९ लाख | 
| २०७८/७९ | २ अर्ब ३७ करोड ४९ लाख | 
| २०७९/८० | १ अर्ब ७७ करोड ५३ लाख | 
| २०८०/८१ को प्रक्षेपण | ४ अर्ब ८९ करोड ५५ लाख ५० हजार | 
गत आर्थिक वर्ष ०७९/८० मा कम्पनीले विक्रीबाट गरेको आम्दानी १ अर्ब ७७ करोड रुपैयाँ छ । तर, चालू आर्थिक वर्षमा त्यो ४ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा करिब ३ गुणा (२.७५ गुणा) बढी हो ।
यो प्रक्षेपित वित्तीय विवरण एनबीएसएम एण्ड एसोसिएट्सले पुनरवलोकन गरी प्रमाणित गरिएको छ । साथै, नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति दिएको छ । बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट प्रतिनिधित्व गर्ने सीएको नेतृत्वमा अध्ययन गरेपछि मात्रै स्वीकृति दिन्छ ।
तर, यसरी उच्च रुपमा विक्री आय बढ्ने प्रक्षेपण तथ्यमा आधारित नभएको एक चार्टर्ड एकाउन्टेन्टले बताए । ‘आयको प्रक्षेपण कम्पनी स्वयम्ले गर्ने हो, तर त्यो यथार्थपरक छ कि छैन भनेर हेर्ने काम नियामकको हो, यसमा नियामक चुकेको देखिन्छ,’ उनले भने ।
यो कुरा बोर्डकै अधिकारीहरु पनि स्वीकार गर्छन् । सेयरमा १० कित्ते नीति हुँदासम्म जस्तो कम्पनीको पनि सेयर बिक्री हुने अवस्था देखिएकोले अन्डरराइटिङ प्रभावकारी हुन नसकेको बोर्डकै एक उच्च अधिकारी बताउँछन् । ‘कम्पनीको विवरणपत्र प्रक्रिया पूरा गर्न बुझाउनुपर्ने कागजात मात्रै भएको छ, त्यसमा अन्डरराइटरको भूमिका नै देखिएन,’ उनले भने ।
कम्पनीको प्रक्षेपित विवरणलाई आफ्नै फर्मले स्वकिृति दिएको र कम्पनीको विवरणमा प्रिमियम मुल्य निर्धारण गर्दा सबै खर्चलाई हटाइएको एनबीएसएम एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट राजेशकुमार शाहले दाबी गरे । जबकि, कम्पनीको बिक्री आम्दानी करिब तीन गुणा बढ्ने प्रक्षेपित विवरणलाई उनैले प्रमाणित गरेका हुन् ।
आईपीओबाट उठेको पैसा सप्लायर्सको भुक्तानी र बैंकको ऋण तिर्न प्रयोग हुने
कम्पनीले आईपीओबाट २ अर्ब ८९ करोड ६१ लाख ७० हजार रकम संकलन गर्ने र त्यसमध्ये १ अर्ब कम्पनीको चालु दायित्व अन्तर्गतको सप्लार्यर्सको रकम भुक्तानी गर्ने जनाएको छ ।
यस्तै ८९ करोड ६१ लाख ७० चालु प्रकृतिका सम्पत्तिहरु चुनढुङ्गाको उत्खनन् तथा खरिद, अन्य सम्पूर्ण कच्चा पदार्थ, प्याकिङ मेटरियल, कोइला र इन्धनको खरिद/पैठारी गरी मौज्दात कायम गर्न लगानी गर्ने बताएको छ । १ अर्ब भने विभिन्न बैंकको ऋण तिर्न प्रयोग गर्ने कम्पनीको विवरणपत्रमा उल्लेख छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4