
२६ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मंगलबार अपरान्ह ५ बजेसम्म श्रद्धाञ्जली दिन सकिने भएको छ ।
त्यसपछि बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको शव पुनः पार्टी कार्यालयमा राखिने नेकपा एमालेले जनाएको छ । एमालेले नेम्वाङको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गर्दै नेता नेम्वाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं। २ मा शोक पुस्तिका राखिने छ । पार्टी र पार्टी सम्बन्ध जनवर्गिय सङ्गठनको औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिए ।
यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जलिसभा गर्ने निर्णयसमेत गरेको उनले बताए ।
आफ्नै घरको शौचालयमा लडेर बेहोस भएका नेम्वाङलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले मंगलबार विहान ३ बजे मृत घोषित गरेको थियो । सरकारले नेम्वाङको अन्त्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया 4