+

लाओसविरुद्ध नेपालको असली परीक्षा

२०८० असोज  २४ गते १९:४३ २०८० असोज २४ गते १९:४३
लाओसविरुद्ध नेपालको असली परीक्षा

२४ असोज, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेल लाओसविरुद्ध बिहीबार घरेलु मैदानमा खेल्दैछ ।

लाओस त्यही टिम हो, जुन टिमलाई गत चैतमा दशरथ रंगशालामा दुई पटक हराएर नेपालले प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

तर यसपटक नेपाल र लाओस दुवै टिममा परिवर्तन छ । त्यतिबेला भिनसेन्जो अल्बर्टो एनेसले भर्खरै मात्र नेपाली टिमको जिम्मेवारी लिएका थिए । उनले मात्र ३ दिनको प्रशिक्षण दिएर लाओस र भुटान सम्मिलित प्रतियोगितामा नेपाललाई उतारेका थिए ।

शहीद स्मारक लिग चलिरहेकाले त्यतिबेला खेलाडी पनि थकित थिए । प्रशिक्षक एनेस भन्छन्, ‘अहिलेको टिम थ्री नेशन्स कपको भन्दा शारीरिक र मानसिक रुपमा निकै राम्रो बनेको छ ।’

यसपटक एनेसले नेपाली टिमलाई विश्वकप छनोटकै लागि भनेर २ महिना लगातार प्रशिक्षण दिएका छन् । गत फागुनमा राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका उनले नेपाली टिमलाई लगातार प्रशिक्षण दिएको यो अहिलेसम्मकै लामो समय पनि हो ।

चैतमा भएको प्रतियोतिगामा लाओसविरुद्ध गोल गरेका नवयुग श्रेष्ठ बाहेक अनन्त तामाङ, मनिष डाँगी र आयुष घलान अहिलेको टोलीमा पनि छन् ।

प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका दीपकराज सिंह ठकुरी टोलीमा छैनन् । एनेसले डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्टलाई पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

१५ वर्षदेखि नेपालको राष्ट्रिय टिममा रहेका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बु दुई महिनाको प्रशिक्षणबाट अहिले टिम राम्रो बनेको दाबी गर्छन् ।

यो समयमा खेलाडीलाई आफ्नो शैलीका ढालेको भन्दै खेलअघिको पत्रकार सम्मेलनमा एनेसले भने, ‘मेरो रणनीतिमा खेल्न खेलाडी तयार छन्, धेरै भन्न चाहन्न, भोलिको खेलमा देखाउँछु ।’

प्रशिक्षक एनेसको करिअरकै यो पहिलो विश्वकप छनोट हो । यो खेल उनका लागि पनि महत्वपूर्ण छ । उनी भन्छन्, ‘मेरो लागि पनि यो निकै महत्वपूर्ण खेल हो । यसका लागि म आफ्नो उत्कृष्ट दिनेछु ।’

फिफा वरीयतामा नेपालभन्दा पछि रहे पनि लाओसको टिममा अहिले परिवर्तन छ । प्रधानमन्त्री कप थ्री नेशन्स कपमा समूह चरणमा नेपालसित २–० र फाइनलमा २–१ ले पराजित भएको भए पनि उसलाई नेपालले कमजोर आँकेको छैन ।

लाओस त्यतिबेलका केही र नयाँ केही खेलाडीलाई लिएर नेपाल आइपुगेको छ । त्यसैले यसपालिको खेल फरक हुने लाओसका प्रशिक्षक कालाया सिसोम्बाङ्ग बताउँछन् । ‘त्यो बेलाको टिम र अहिलेको टिममा फरक छ । अहिले टिममा केही परिवर्तन भएको छ । त्यो खेल मैत्रीपूर्ण खेल जस्तो थियो । यो खेल निकै निकै महत्वपूर्ण छ’, उनले भने ।

उनका अनुसार ३ हप्ताको तयारी गरेर लाओस नेपाल आएको हो । नयाँ र पुराना खेलाडीको समिश्रण रहेकाले आफ्नो टिम बलियो रहेको दाबी कालाया गर्छन् । उनी भन्छन्, ‘यो टिम लाओसको सबैभन्दा उत्कृष्ट टिम हो । हाम्रो खेलाडी जितका लागि लड्न तयार छन् ।’

टिम बलियो रहेको दाबी गरे पनि खेलअघिको पत्रकार सम्मेलनमा उनले पहिलो लेगमा आफ्ना खेलाडीको परीक्षण गर्ने र अनुभव बटुल्ने भन्न छुटाएनन् । नेपाल र लाओसको प्रारम्भिक चरणको दोस्रो खेल असोज ३० गते लाओसमा हुनेछ । नेपालमा बटुलेको अनुभव लाओसमा उपयोग गर्ने उनको योजना छ ।

लाओसका कप्तान फुत्दावी होम्मासान टिमले आफूहरुले एक जुट भएर खेल्ने र नतिजा निकाल्ने बताए ।

नेपाल र लाओसबीचको होम एण्ड अवे खेलमा विजेता हुने टोली समूह चरणमा पुग्ने छ । यो खेलको विजतालाई समूह एचमा यूएई र बहराइनले कुरिरहेका छन् । जहाँ यमन र श्रीलंकाबीचको विजेता टिम पनि आउने छ ।

घरेलु समर्थक नेपाली टिमका लागि उर्जा

भारत र माल्दिभ्सका क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका कप्तान किरण आफूलाई दशरथ रंगशालाको जीतो खेलको मज्जा अन्त कतै नआउने बताउँछन् ।

दशरथ रंगशालामा समर्थकले नेपाल, नेपाल भनेको गुञ्जनले आफूलाई उर्जा मिल्ने उनी बताउँछन् । भन्छन्, ‘मैले अन्तर्राष्ट्रिय क्लबका खेल खेल्न बाहिर गए पनि दशरथ रंगशालमा खेल्न पाउँदा छुट्टै उर्जा आउँछ ।’

विगतमा जस्तै यसपालि नेपाली समर्थकबाट व्यावसायिक समर्थनको आशा राखेको उनी बताउँछन् । ‘नेपालको जर्सीमा सजिएका हाम्रा समर्थकले भोलि राष्ट्रिय गान र ९० मिनेटसम्म नै रातो र चन्द्र सुर्य गाउँदै हामीलाई समर्थन गर्नुहुन्छ भन्ने आश राखेका छौं ।’

स्टेडियममा उपस्थित समर्थकको आडमा विपक्षी टिमलाई प्रेसर दिनसहज हुने र त्यसका साथै खेलाडीलाई खेल्न उर्जा आउने किरणले बताए । नेपालले सन् २०१५ यता पहिलो पल्ट दशरथ रंगशालामा विश्वकप छनोट खेल्न लागेको हो ।

हेड टु हेडमा नेपाल र लाओस

नेपालले सन् २०१६ को मे १६ मा पहिलो पटक लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल र लाओस १–१ गोलको बराबरीमा रोकिए ।

नेपालले दोस्रो पटक २०१६ कै नोभेम्बर १२ मा लाओसविरुद्ध खेलेको थियो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा निर्धारित समयको खेल २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो ।

नेपालले तेस्रो खेल भने गत वर्ष चैत्र ८ गते प्रधानमन्त्री थ्री नेशन्स कपमा भएको थियो जसको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । त्यस्तै फाइनल खेलमा चैत्र १७ गते नेपालले लाओसलाई २–१ ले पराजित गरेको थियो ।

अल्बर्टो एनेस किरणकुमार लिम्बु दशरथ रंगशाला नेपाल भर्सेस लाओस नेपाली फुटबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय