यू-१९ क्रिकेटमा स्पिनर दिपेशको जादु
२९ असोज, काठमाडौं । नेपालको राष्ट्रिय यू–१९ टिमले मलेसियामा एसीसी प्रिमियर कप क्रिकेट खेलिरहेको छ ।
इरान र बहराइनलाई हराएको नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल बिहीबार साउदी अरेबियासँग खेल्ने छ ।
पहिलो खेलमा इरानमाथि २७४ रनको र दोस्र खेलमा बराइनमाथि ७ विकेटको फराकिलो जित दिलाउन नेपालका लागि दिपेश कँडेलले सानदार प्रदर्शन गरे । उनले इरानविरुद्ध ३ र बहराइनविरुद्ध ६ गरी ८ विकेट लिइसकेका छन् ।
बायाँ हाते स्पिनर दिपेशले बहराइनविरुद्धको खेलमा ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा ४ रन खर्चेर ६ विकेट लिए । ५९ बलमा ४८ बल डट फाले ।
पहिलो खेलमा इरानसँग ७ ओभरमा ३ मेडनसहित जम्मा ४ रन खर्चेर ३ विकेट लिए । इकोनोमी हेर्ने हो भने ०.४१ को इकोनोमीमा उनले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरे ।
त्यसो त दिपेशले आफ्नो बलिङको जादु गत फेब्रुअरीमा भएको यू–१९ विश्वकप छनोटमा नै देखाइसकेका थिए । विश्वकप छनोटको अन्तिम खेलमा यूएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएका दिपेशको प्रदर्शन यसपालि झनै निखारिएको छ ।
विश्वकप छनोटमा ४८ औं ओभरमा उनले ह्याट्रिक लिएका थिए । उनका लागि त्यो ह्याट्रिक जति खास थियो, त्यस्तै एक खास भयो बहराइनविरुद्धको ६ विकेट पनि । ‘यो मोमेन्ट पनि मेरो जिन्दगीमा निकै यादगार रहनेछ,’ उनले भने । ‘टिममा सबैको साथ र समर्थनले गर्दा मेरो प्रदर्शनले टिमलाई केही गरेर दिँदा र टिमलाई जिताउँदा मलाई खुसी लागिरहेको छ ।’
विश्वकप छनोट र प्रिमियर कपमा गरेको प्रदर्शनबाट सिनियर टिमको ढोका ढक्ढक्याएका दिपेश टिममा राम्रो माहोल रहेकाले आफूमा आतमविश्वास बलियो भएको र त्यही अनुसार विकेट आएको बताउँछन् ।
‘टिममा एउटा बलरको भूमिका जे हुन्छ, त्यो भूमिका राम्रोसँग पूरा गर्न पाउँदा खुसी लाग्छ,’ मलेसियाबाट उनले अनलाइनखबरसँग भने, ‘आफ्नो लागि र टिमका लागि निकै राम्रो अनुभव भइरहेको छ । टिमको लागि विकेट लिँदा र जिताउन पाउँदा निकै खुसी छु ।’
विकेटको वर्षा
आइतबारको बहराइनसँगको जुन खेलमा उनले ६ विकेट लिए, त्यो खेलमा मैदान चिसो भएका कारण खेलाडीको जुत्तामा माटो टासिएको थियो । अघिल्लो दिनको वर्षाले भिजेको मैदानमा माटो टासिँदा खेलाडीले पटक पटक छेस्काले जुत्ताको माटो कोट्याउनु परेको थियो । त्यै ओसिलो मैदानमा स्पीनको जादु उनले देखाएर ६ विकेट लिए ।
उनलाई बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले राम्रो साथ दिए । अर्को छेउबाट बलिङ गरेका दुर्गेशले ८ ओभरमा १ मेडन सहित २२ रन खर्चिएर ४ विकेट लिए ।
३७.५ ओभरसम्म क्रिजमा टिकेको बहराइनलाई दिपेश र दुर्गेशले नै अल आउट गरे । लगातार विकेट झरेपछि डिफेन्सिभ देखिएको बहराइनले ७७ रन मात्र बनाउन सक्यो । ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा भेट्टायो ।
साउदीविरुद्धको खेल जित्दै समूह विजेता बन्ने लक्ष्य
१६ टिम सहभागी यो प्रतियोगितामा ४ समूह छन् । र समूह विजेता टिमले सेमिफाइनल खेल्ने छ । समूह एमा रहेको नेपाले अब साउदी अरबसँग खेल्न बाँकी छ । साउदीले पनि इरान र बहराइनलाई हराएर नेपालकै समान ४ अंक जोडेको छ । तर रनरेटका आधारमा नेपाल अघि छ ।
समूह विजेता हुँदै सेमिफाइनमा पुग्न नेपालले आउँदो बिहीबार हुने खेलमा साउदी अरबसँगको खेल जित्नै पर्छ । त्यसका लागि आफूहरु तयार रहेको दिपेश बताउँछन् ।
नेपालको लक्ष्य सेमिफाइनल मात्र नभएर उपाधि जित्नु नै छ । यो प्रतियोगिताका शीर्ष ३ टिमले यू-१९ एसिया कप पनि खेल्न पाउँछन् ।
एसिया कप खेल्न पाएमा त्यो नेपालका लागि सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपको तयारी हुने छ ।
७ वर्षपछि नेपाललाई यू-१९ विश्वकप पुर्याएका दिपेश प्रिमियर कप र एसिया कपबाट अनुभव बटुल्दै विश्वकपमा राम्रो गर्ने बताउँदै आएका छन् ।
उनी भन्छन्, ‘यी प्रतियोगिताहरुबाट हामी अनुभव र आत्मविश्वास लिएर विश्वकपमा राम्रो गर्न चाहन्छौं ।’
प्रतिक्रिया 4