
काठमाडौं । अपेन किड्स गट ट्यालेन्ट सिजन-३ मा साना बालबालिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । आइतबार दशैंको घटस्थापनाको अवसर पारेर एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)ले ललितपुर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका गरी ३७ प्रि-स्कुलका विद्यार्थीहरुले भाग लिएको कार्यक्रममा उनीहरुले नृत्य, गायनलगायत कला प्रस्तुत गरे । बालबालिकाहरुले राष्ट्रिय गीत, शास्त्रीय गीतदेखि हालका लोकप्रिय गीतहरुमा नृत्य प्रस्तुत गरे । उनीहरुको प्रस्तुतिमा पूर्वको हाक्पारेदेखि पश्चिमको रोदी, तराई-मधेशको थारु र मैथिली संस्कृतिदेखि हिमाल-पहाडको शेर्पा, गुरुङ, किरात र मगर संस्कृतिका झलक समावेश थिए । कतिपय बालबालिकाले गायन प्रस्तुतिसमेत दिए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा प्रष्फुटन गर्दै आत्मविश्वास बढाउने बताइन् । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बालबालिकालाई बेलैदेखि प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्नुका साथै उनीहरुको तार्किक क्षमता बढाउने सिकाइ पनि आवश्यक रहेको बताए । ‘हाम्रा धर्म र संस्कृतिबारे उनीहरुलाई प्रकृतिसँग नजिक गराउँदै विज्ञानसम्मत ढंगले बुझाउनुपर्छ । यसो गर्दा उनीहरु अनावश्यक भ्रममा अल्झिनुपर्दैन,’ उनले भने ।
बालबालिकामा रहेका प्रतिभा उजागार गर्दै आत्मविश्वास र सामाजिक क्षमता अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षाले कार्यक्रम आयोजना गरिएको अपेनले जनाएको छ । अपेनले यसअघि किड्स गट ट्यालेन्टका दुई संस्करण गरिसकेको छ ।
प्रतिक्रिया 4